हेटौँडा, वैशाख २५ गते। बागमती प्रदेश युवा परिषद्ले वैशाख २८, २९ र ३० गते बागमती प्रदेशमा दोस्रो युवा सम्मेलनको आयोजना गर्ने भएको छ।
प्रदेशका युवा पुस्ताको पुस्तालाई ज्ञान, सीप र दक्षतायुक्त बनाई प्रदेशको विकासमा युवाको योगदानलाई बढोत्तरी गर्दै लैजाने उद्देश्यले आयोजना गरिएको सम्मेलनको तयारी पुरा भएको परिषद्ले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।
प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले दोस्रो चरणको युवा सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो।
गत वर्ष सम्पन्न प्रथम सम्मेलनको सफलताकै जगमा दोस्रो संस्करणको प्रदेश युवा सम्मेलनको तयारी गरिएको युवा परिषद्ले जानकारी दिएको छ।
सम्मेलनमा सहभागीताका लागि परिषद्ले अनलाइनमार्फत आवेदन माग गरेको थियो। जसमा ५३७ जनाले अनलाइनमार्फत आवेदन दिएका मध्ये २०० जनालाई पूर्ण समावेशी अवधारणामा छनोट गरिएको समेत विज्ञप्तिमा उल्लेख छ। सम्मेलनमा सहभागी हुने २०० जना बागमती प्रदेशको ११९ पालिकामध्ये ८९ पालिकाका युवा छानिएका छन्।
तीन दिनसम्म चल्ने सम्मेलनमा शिक्षातर्फ विशेष गरी विश्वविद्यालय तहको शिक्षामा विद्यार्थीको आकर्षण नहुनु, शिक्षाकै लागि विदेशिने प्रवृत्तिका विषयमा बहस हुने बताइएको छ। नीतितर्फ मूल नीति राजनीति र त्यसले समृद्धिको सन्दर्भमा निर्वाह गर्नुपर्ने सकारात्मक भूमिकाको विषयमा पनि बहस हुनेछ भने नवप्रवर्तन र उद्यमशीलता, विदेशमा आर्जित ज्ञान, सीप र पुँजी देशमा लगानीको अवस्था र सम्भावनाका विषयमा बहस हुनेछ।
सम्मेलनमा डिजिटल साक्षरताको विषयसँगै मुख्यमन्त्रीसँग युवाको अन्तरक्रिया आयोजना गरिनेछ। त्यस्तै सम्मेलनमा सहभागी युवालाई हेटौँडा बजार आसपासका धार्मिक पर्यटकीय स्थलको पदयात्रा समेत गराइने आयोजकले जानकारी दिएको छ।