• ६ जेठ २०८१, आइतबार

सत्तरी प्रतिशत मतपत्र छपाइ सकियो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ७ गते । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।

आइतबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ । जसमा प्रतिनिधि सभाका लागि ८७ लाख एक हजार र प्रदेश सभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चारवटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । यसअनुसार आगामी निर्वाचनका लागि करिब आठ करोड मतपत्र आवश्यक पर्छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौवटा जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएकामध्ये प्रदेश सभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेश सभाको पाँच लाख ६८ हजार तथा प्रतिनिधि सभाको पाँच लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ ।