• १४ वैशाख २०८१, शुक्रबार

पोखरामा नवौँ राष्ट्रिय खेलकुद

blog

प्रजित शाक्य

काठमाडौँ, असोज २८ गते । नवौँ राष्ट्रिय खेलकुद शुक्रबार पोखरामा सुरु हुँदैछ । प्रत्येक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौँ संस्करणको मिति पटक–पटक सरेपछि अन्ततः हुन लागेको हो । २०७७ सालमा हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद कोरोना र अन्य विविध कारणले ढिला भएको हो ।

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय खेलकुदको उद्घाटन हुने भनिएको थियो तर राष्ट्रपति भण्डारी अस्वस्थ हुनुभएपछि राष्ट्रिय खेलकुद परिषद्ले उद्घाटनका लागि उपराष्ट्रपति पुनलाई निमन्त्रणा दिएको हो । सात दिनपछि हुने राष्ट्रिय खेलकुदको समापन प्रधानमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक शेरबहादुर देउवाले गर्नुहुनेछ । नवौँ राष्ट्रिय खेलकुद कात्तिक ३ गते सकिनेछ ।

सबै घरेलु खेलकर्मीलाई एकै ठाउँ, एउटै लक्ष्यसहित खेल भावनामा बाँध्ने उद्देश्यले हुन लागेको राष्ट्रिय खेलकुदको आयोजना गण्डकी प्रदेशले गर्दैछ । यसअघि २०४० सालमा पोखरामा राष्ट्रिय खेलकुदको आयोजना भएको थियो । नवौँ राष्ट्रिय खेलकुदमा मस्कटका रूपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ । यसैगरी लोगोमा माछापुच्छ«े हिमाललाई रेखाकृतिमा राखिएको छ ।

यस पटक छ हजार १५७ खेलाडी आ–आफ्नो प्रदेश, विभाग र टिमलाई पदक दिलाउन पोखरामा भेला भएका छन् । खेलाडी, प्रशिक्षक, आयोजक समिति, निर्णायकसहित गरेर करिब १० हजार  प्रत्यक्ष सहभागी हुने अनुमान गरिएको छ । यसपालि राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपियाँ बजेट छुट्याइएको छ । अझ प्रदेशहरूको बजेट पनि थप्दा कुल लागत अझ बढी हुन आउँछ । नवौँ राष्ट्रिय खेलकुदमा सात प्रदेशलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र  गैरआवासीय नेपाली सङ्घ (एनआरएन) टिमको पनि सहभागिता रहनेछ । एनआरएनको टिम पछिल्लो संस्करणदेखि राष्ट्रिय खेलकुदमा सहभागी भएको हो । आयोजक गण्डकी प्रदेश, बागमती प्रदेश, नेपाली सेना र सशस्त्र प्रहरी बल एपीएफले सबै खेलमा भाग लिनेछन् । कर्णाली प्रदेश सबभन्दा कम खेलमा सहभागिता जनाउने टिम रहेको छ ।

राष्ट्रिय खेलकुदमा कुल ३६ खेलमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक क्यानोइङ र छेलो प्रदर्शनी खेलका रूपमा रहेको छ । राष्ट्रिय खेलकुदको इतिहासमा यो अहिलेसम्मको सबभन्दा धेरै खेल सङ्ख्या हो । प्रतियोगितामा कुल ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटनअघि नै केही खेल सुरु भइसकेका छन् । यसमध्ये पुरुष क्रिकेट खेल काठमाडौँमा एक महिनाअघि नै सम्पन्न गरियो । नेपाल टी–२० क्रिकेट लिगको समय जुधेको भन्दै काठमाडौँमा पहिले नै पुरुष क्रिकेटको आयोजना भएको हो । जसमा उपाधि जितेर नेपाल प्रहरी नवौँ राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने टिम बनिसकेको छ । फेन्सिङको पनि केही स्वर्ण पदकको छिनोफानो भइसकेको छ । फुटबल र भलिबल बिहीबारदेखि नै सुरु भएका छन् ।

यसैगरी यस संस्करणको नौलो पक्ष भनेको सुनचाँदी जडित दस लाख रुपियाँमा तयार पारिएका रनिङ ट्रफी हो, जुन पदक तालिकामा सबभन्दा अगाडि रहने टिमलाई दिइनेछ । लगातार तीन पटक जित्ने टिमले रनिङ ट्रफी फिर्ता दिनुपर्ने छैन । यसैगरी यसपालि व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिक खेलमा स्वर्ण पदक विजेतालाई १५ हजार दिइने व्यवस्था गरिएको छ ।

राष्ट्रिय खेलकुद दशैँ, तिहारजस्तो चाडपर्वको समय र चुनावी माहोलबीच हुँदैछ । यसले राष्ट्रिय खेलकुद ओझेलमा परेको छ । यसैगरी डेङ्गुको प्रकोप बढ्दो छ भने कोरोनाको सङ्क्रमण पनि निर्मूल भएको छैन । देशकै दुई ठूला चाडपर्वको बीचमा हुन लागेकाले खेलाडीहरूको फिटनेस यस प्रतियोतिगामा एउटा ठूलो प्रश्नचिह्न बन्नेछ ।