• १४ वैशाख २०८१, शुक्रबार

कालीकोटमा प्रहरीसहित २२ जना बेपत्ता

blog

प्रहरी जवान बेपत्ता भएको टाकुल्ला खोलामा अझै बाढी रोकिएको छैन । तस्विर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, असोज २४ गते । कालीकोटमा पहिरोमा परेर एक जना प्रहरी जवानसहित २२ जना बेपत्ता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका १३ जना मलामी घर फर्किँदै गर्दा पहिरोमा पुरिएका बेपत्ता भएका हुन् भने एक जना प्रहरी जवान खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् । 

नगरपालिकाका एक कर्मचारी हेमराज शाहीको निधनपछि तिला नदीमा अन्तिम दाहसंस्कारका लागि गएका एकै गाउँका १३ जनालाई पहिरोले छोपेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालका अनुसार प्रहरी घटनास्थलमा पुग्न नसकेकाले यकिन भन्न नसकिएको तर स्थानीयले १३ जना घर नफर्केकाले सबै बेपत्ता भएका छन् ।


यस्तै, आइतबार बिहान १० बजे तिलागुफा नगरपालिका वडा नं ७ का धुर्वराज बिष्टको घर पहिरोले पुरिँदा उहाँसहित श्रीमती, छोरा बुहारी र छोरी गरी पाँच जना बेपता भएका छन् ।

बेपत्ता हुनेहरुमा धुर्वराज बिष्ट, उहाँकी श्रीमती वर्ष ३५ की ममता बिष्ट, १५ वर्षका छोरा भरत बिष्ट, १३ वर्षीय छोरा कृपेश बिष्ट र ११ वर्षीया छोरी ज्यानी बिष्ट बेपता भएका छन् । 

यस्तै, वडा नं ६ को भैँसीगौडामा जोरा सिंह शाहीको घर पहिरोले पुरिँदा उहाँकी ८० वर्षीया आमा लालकला शाही बेपत्ता हुनुभएको छ । सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ मा वर्ष १४ का केवल केसी र पचालझरना वडा नं ७ का वर्ष ४७ पुरीलाल बोहोरा पनि बेपत्ता भएका छन् ।

पानी नरोकिएका कारणले प्रहरी घटनास्थलमा जान नसकेको र आज हल्का पानी रोकिएकाले दुवै तर्फबाट प्रहरी परिचालन गरिएको भए पनि घटनास्थल पुग्न अझै नसकेको बताउनुभयो । 


यस्तै, जुम्ला घर बिदावाट फर्किँदै गरेका प्रहरी जवान पदम रावत टाकुल्ला खोलामा बगेर बेपत्ता हुनुभएको छ । दशैँ मनाउन घर बिदा जानुभएका रावतसहित तीन जना प्रहरी पैदल जुम्लाबाट सुर्खेततर्फ फर्किँदै गरेका र खाँडाचक्र नगरपालिका वडा नं ८ को एक खोला तर्ने क्रममा बेपत्ता हुनुभएको हो । 

यस्तै जिल्ला सदरमुकाम मान्म बजारका २५ घर पहिरोको जोखिममा छन् भने रास्कोट नगरपालिका वडा नं ३ को साँगाटिया गाउँका १५ घर परिवार विस्थापित भएका छन् ।