• १४ वैशाख २०८१, शुक्रबार

असारे विकास अन्त्य गर्न सुझाव

blog

काठमाडौँ, भदौ ६ गते । स्थानीय शासन विज्ञहरूले असारे विकासको अन्त्य गर्न स्थानीय तहमा कार्यतालिकाअनुसार अब धमाधम काम थाल्न सुझाव दिनुभएको छ। आगामी २०८० सालको जेठसम्म कार्यतालिका बनाएर काम गर्दा स्थानीय तहमा असारे विकास रोक्न सकिने सुझाव उहाँहरूको छ।

स्थानीय तहमा कार्यतालिकाअनुसार काम नहुँदा अन्तिम चौमासिक चैतदेखि असारसम्म करिब ८० प्रतिशत विकास निर्माणका काम हुँदै आएका छन्। आर्थिक वर्षका प्रारम्भ र मध्यतिर विकास निर्माणको काम सुस्त गतिमा मात्र हुने र आर्थिक वर्षको अन्तिम असारमा जसरी पनि बजेट सक्ने गरी हतारमा काम गर्ने प्रवृत्तिलाई असारे विकास भन्ने गरिएको छ। 

स्थानीय शासनविज्ञ एवं तत्कालीन जिल्ला विकास समिति महासङ्घ नेपालका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले असारे विकास रोक्नका लागि सम्बन्धित पालिकाले साउनदेखि नै वार्षिक रूपमा कार्यतालिका बनाएर काम गर्नुपर्ने बताउनुभयो। 


उहाँका अनुसार अन्तिम चौमासिकमा स्थानीय तहमा सबैभन्दा बढी विकास निर्माणका काम हुँदै आएका छन्। अन्तिम चरणमा विकास निर्माणका काम गर्दा कतिपय योजना अलपत्र पर्ने र कतिपय विकास निर्माणका काम गुणस्तरहीन हुने गरेकाले कार्यतालिकाअनुसार काम गर्नुपर्छ। 

स्थानीय सरकार सञ्चालन ऐन, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग ऐनले स्थानीय तहमा कार्यतालिकाअनुसार काम गर्नका लागि मार्गदर्शन प्रदान गरेका छन्। 

आर्थिक वर्षको सुरुमा नै चालू आर्थिक वर्षको आफ्नो क्षेत्रको सामान खरिदको न्यूनतम दररेट तोक्ने काम स्थानीय तहले गर्नुपर्छ। 

अर्का स्थानीय शासन विज्ञ डा. श्यामकृष्ण भुर्तेलले स्थानीय तहमा कार्यतालिकाअनुसार काम गर्दा अधिकांश विकास निर्माणका काम मङ्सिरदेखि वैशाखभित्र नै गर्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “सङ्घीय र प्रदेश सरकारको बजेट कार्यान्वयन गर्ने भूगोलसमेत स्थानीय तह नै भएकाले स्थानीय तहमा कार्यतालिकाअनुसार काम हुँदा सङ्घ र प्रदेश सरकारलाई समेत निर्धारित समयमै काम गर्ने दबाब हुनेछ।” सङ्घीय सरकारले पनि स्थानीय तहलाई कार्यतालिकाअनुसार काम गर्नका लागि यस अगाडि नै आग्रह गर्दै आएको छ।