• १४ वैशाख २०८१, शुक्रबार

भृकुटीमण्डपमा आगलागीको कारण खुलेन

blog

राधा चालिसे

काठमाडौँ, साउन १८ गते । काठमाडौँको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदामघरको स्टल नम्बर ५९ मा गत असार २९ गते भएको आगलागीको स्पष्ट कारण छानबिन समितिले पत्ता लगाउन सकेन । तर सीसीटीभी फुटेजका आधारमा एक व्यक्तिमाथि शङ्का गर्दै प्रहरीलाई हुलिया दिएको छ ।

आगलागीको छानबिन गर्न गठित तीन सदस्यीय समितिले बुझाएको प्रतिवेदनमा के कारणले आगलागी भयो भनेर यकिन गर्न नसकेको समितिका पदाधिकारीहरूले बताएका छन् । समितिका पदाधिकारीहरूले मङ्गलबार गोरखापत्रसँग कुरा गर्दै आगलागीको ठोस कारण पत्ता लगाउन नसकेको स्वीकार गरेका छन् । 

गोदामघरनजिकै रहेको सार्वजनिक पुस्तकालयमा राखिएको सीसीटीभी फुटेजका आधारमा दिउँसो २ : ०८ मा गोदामघरबाट ठूलो धुवाँको मुस्लो देखिएको छ । त्यसअघि एक युवक साबेल बोकेर त्यसतर्फ गएको र केहीबेरमा त्यहाँबाट बोरामा केही सामग्री बोकेर फर्केको फुटेजमा देखिन्छ । 

तर उक्त व्यक्तिको थप गतिविधि हेर्न भने त्यहाँको रुखले छेकिएको छ । समितिको प्रतिवेदनको शङ्का सोही युवकतर्फ तेर्सिएको छ । समितिले प्रहरीलाई पनि सोही व्यक्तिको हुलिया दिएर खोजी गर्न आग्रह गरेको संयोजक राणाले बताउनुभयो । आगलागीका कारण पहिलो पटक धुवाँको ठूलो मुस्लो देखिएको झन्डै डेढ घण्टापछि मात्र दमकल पुगेका कारण पनि बढी क्षति भएको समितिको ठहर छ । 

समितिका संयोजक शम्भुजङ्ग राणाका अनुसार आगलागीबाट पुराना दस्तावेज, पुराना कम्प्युटर, डेस्कटप, ग्यास सिलिन्डर, पुराना ब्याट्री, पुराना फर्निचर, धुल्याउनका लागि राखिएका सामग्री क्षति भएका छन् । केही पुस्तक जलेका छन्, त्यसको कुनै वित्तीय मूल्याङ्कन हुन सक्दैन ।

त्यसबाहेक अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहयोग सामग्री र समाज कल्याण कोषका केही जिन्सी र भवनमा भएको क्षतिसमेतलाई हेर्दा करिब आठ करोड १३ लाख ३१ हजार रुपियाँभन्दा बढीको क्षतिको अनुमान गरिएको समितिका अर्का सदस्य सञ्जय मल्लिक बताउनुहुन्छ । समितिका अर्का सदस्य राजेन्द्र पाण्डे त्यहाँ रहेका दस्तावेजलाई नष्ट गरेर कोही कसैले फाइदा लिने नियत राखेको हो कि भनेर अध्ययन गर्दा त्यस्तो अवस्था पनि नदेखिएको जिकिर गर्नुहुन्छ । 

समितिले निकै अस्तव्यस्त रहेको त्यस क्षेत्रको फोहोर हटाउनुपर्ने, सीसीक्यामराको व्यवस्था गर्नुपर्ने, सुरक्षागार्डलाई थप प्रभावकारी बनाउनुपर्ने, त्यहाँ रहेको तीन फेजको विद्युतीय लाइन उचित व्यवस्थापन गर्नुपर्नेलगायतको सुझाव दिएको छ ।