• १५ वैशाख २०८१, शनिबार

कलाकार सभ्यताका बाहक हुन् : राष्ट्रपति भण्डारी

blog

तस्बिर : शेखर चौलागाईं

काठमाडौं, वैशाख १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरु सभ्यताका वाहक हुन् भने उहाँहरुले गरेका सिर्जना राष्ट्रका अमूल्य निधि र सम्पदा रहेको बताउनुभएको छ । सोमबार नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहका अवसरमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले कुनै पनि समाजको सभ्यताको स्तरलाई कला, साहित्य र सङ्गीतले प्रतिविम्बत गरेको पनि बताउनुभएको छ । नेपाली सङ्गीत आकाशका उज्ज्वल नक्षत्रका रुपमा रहनुभएका स्वर्गीय नातिकाजी श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै उहाँले स्रष्टाहरुको अथक साधनाबाट सिर्जित मौलिक सिर्जनाले नै राष्ट्रको पहिचान स्थापित गर्ने बताउनुभयो ।


स्वर्गीय श्रेष्ठ नेपाली सङ्गीतको इतिहासमा स्वर्णिम युग स्थापना गर्ने अग्रणी सङ्गीतकार तथा गायक हुनुहुन्थ्यो । उहाँले सङ्गीतमा नेपाली भाव, रस र माधुर्यले भरिएका गीत–सङ्गीतको सिर्जना गरेर नेपाली सङ्गीतको मानक स्वरुप निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

त्यस्तै, राष्ट्रपति भण्डारीले नेपाली आधुनिक सुगम सङ्गीतको मौलिक पहिचान स्थापना गर्न जीवन अर्पण गर्नुहुने नातिकाजीका कालजयी साङ्गीतिक सिर्जनाहरु हाम्रो अमूल्य सम्पदाका रुपमा रहेको पनि बताउनुभयो ।


त्यस्तै, नातिकाजीसहितका अग्रज सङ्गीत स्रष्टाहरूले नेपाली सङ्गीतमा विकास गरेको मौलिकताको विस्तार, संरक्षण र सम्बर्धन गर्नु सबैको कर्तव्य रहेको उहाँको भनाइ छ । नेपाली गीत सङ्गीतको उन्नयनमा स्वर्गीय नातिकाजीले पुर्‍याउनुभएको योगदानलाई चीरस्थायी तुल्याउने उद्देश्यले स्थापित नातिकाजी स्मृति समाजले गीत सङ्गीतको क्षेत्रमा समर्पित स्रष्टाहरुलाई हरेक साल सम्मानित र पुरस्कृत गर्ने कार्य प्रशंसनीय रहेको उहाँ बताउनुहुन्छ ।


सामाजिक आर्थिक समृद्धिको यात्रामा अग्रसर बनेको वर्तमान परिस्थितिमा सर्जकहरुले समेत आफ्नो क्षेत्रबाट आमजनतालाई विकासको अभियानमा थप जागरुक र उत्साहित पार्न भूमिका निर्वाह  गर्नुपर्ने उहाँको भनाइ छ । साथै नातिकाजीले राष्ट्र, राष्ट्रियता र देशप्रेमको भावनाले ओतप्रोत गीत सङ्गीतको सिर्जना गरेर मुलुकको पहिचान र स्वाभिमान अभिवृद्धिका निम्ति पुर्‍याउनुभएको योगदानलाई भुल्न नहुने पनि उहाँले बताउनुभयो ।


त्यस्तै, उहाँले विशिष्ट स्रष्टा एवं साधकहरूलाई सम्मानित र पुरस्कृत गर्ने यस प्रकारको रचनात्मक कार्यका लागि नातिकाजी स्मृति समाजलाई धन्यवाद दिँदै सम्पूर्ण नेपाली सङ्गीत जगतको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, नातिकाजी स्मृति समाजका अध्यक्ष तथा पदाधिकारीको उपस्थिति थियो ।

विशिष्ट स्रष्टाहरु सम्मानित
यसैगरी, राष्ट्रपति भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७७ बाट  गायन विधामा नुपुर बनर्जी भट्टचार्यलाई सम्मानित गर्नुभएको छ । त्यस्तै, वाद्य बादनमा नारायणदास कार्की ढली, साउन्ड इन्जिनियरमा प्रदीप उपाध्यक्ष, गायनमा उमेश पाण्डे, कुन्ती मोक्तान र सीताराम पोखरेल, अर्केष्ट्रा–सङ्गीतमा राजकुमार श्रेष्ठ तथा शास्त्रीय सङ्गीतमा प्रभु ढकाल नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान २०७७ बाट सम्मानित हुनुभएको छ । साथै रचनामा एस.पी. कोइराला, बी.बी. थापा, सहदेव ढुङ्गाना, शिला पन्त, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शीतल कामम्बिनी सम्मानित हुनुभएको छ ।

त्यस्तै, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०७७ मार्फत गायन विधामा निशा देशार र शिव परियार सम्मानित हुनुभएको छ भने रचना विधामा अरुण तिवारी र सङ्गीत विधामा सन्तोष श्रेष्ठ सम्मानित हुनुभएको छ ।

यसैगरी, राष्ट्रपति भण्डारीबाट नातिकाजी राष्ट्रिय योगदान सम्मान तथा प्रशंसापत्र १४ जनाले प्राप्त गर्नुभएको छ । सङ्गीत संयोजकमा मनोहर सुनाम, गायनमा गुम्बु शेर्पा र जारा रित प्रसाईं सम्मानित हुनुभएको छ ।

समाजसेवातर्फ धुर्वकुमार श्रेष्ठ, सुनिल शर्मा, ठाकुरप्रसाद ढुङ्गाना, डा. कल्याणराज शर्मा, चिरन्जिवी थापा, डण्डपाणि कडेल (डि.पी), द्विराज शर्मा शिवाकोटी र नवराज केसी सम्मानित हुनुभएको छ ।

त्यस्तै, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ मार्फत् रचनामा डि.पि दाहाल, सङ्गीतमा अर्जुन पोख्रेल तथा गायनमा सिन्धु मल्ल र अजर जंगम सम्मानित हुनुभएको छ ।

नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार २०७७ मार्फत् सङ्गीत संयोजनमा एलिस कार्की ढली सम्मानित हुनुभएको छ ।

यसैगरी, नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०७७ मार्फत शास्त्रीय सङ्गीतमा अमृतहरि तुलाधर योगी र नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार २०७७ मार्फत लोकसङ्गीत विधामा कृष्ण कँडेल सम्मानित हुनुभएको छ ।