कविराज घिमिरे
हिले, चैत १ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–६, लेगुवास्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर ओझेलमा परेको छ । पूर्वका चतरा, पिण्डेश्वर, वराहक्षेत्रलगायतका समकालीन मन्दिर चर्चामा रहिरहँदा यो मन्दिर भने गुमनामझै छ ।
विसं २०५० यता यो मन्दिर ओझेलमा पर्न थालेको नागेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरी बताउनुहुन्छ । २०४५ सालसम्म साधुसन्तसमेत रहेर नियमित पूजाआजा हुने गरेको थियो । शिवरात्रि, बालाचतुर्दशी, तिज, वैशाख र मङ्सिर पूर्णिमामा यहाँ भव्य पूजाआजा हुने र हजारौँ भक्तजनको घुइँचो लाग्ने गरेको गिरी बताउनुहुन्छ । त्यसयता भने गाउँबाट बसाइँसराइ हुने क्रम बढेसँगै मन्दिरमा हुने चहलपहल पछि घट्यो ।
अध्यक्ष गिरी भन्नुहुन्छ, “२०५०/५१ सालसम्म समेत यहाँ धेरै राम्रो गाउँबस्ती भएकाले धेरै भक्तजनको जमघट हुन्थ्यो तर अहिले बसाइँसराइले गाउँ त रित्तियो नै मन्दिरसमेत सुनसान भयो ।” गाउँ वरपरका अलि अलि भक्तजन भेला भएर पूजाआजा गरे पनि टाढाबाट भक्तजन खासै आउँदैनन् । केही वर्ष नियमित पूजाआजासमेत हुन छाड्यो । अहिले भने नियमित पूजाको व्यवस्था गरिएको छ । भक्तजन कमी भएर भेटी पनि कम सङ्कलन हुन थालेपछि २०५० सालयता मन्दिरको तिरोसमेत उठ्न छाडेको छ ।
यो मन्दिर अरुण पूर्व एकीकरणको व्रmममा स्थापना गरिएको थियो । पूर्वी एकीकरणको जिम्मा पाएका जङ्गबहादुर राणाका जिजुबाजे काजी रामकृष्ण कँुवर र धनसिंह खड्काले तत्कालीन श्री ५ को आदेशमा नेपाल उपत्यका र विजयपुर क्षेत्रबाट सिपालु कालिगड झिकाइ विसं १८३१ देखि १८४१ को बिचमा यो मन्दिर निर्माण गरिएको अनुमान गरिएको छ । कलात्मक प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिरमा सोही समयका गुणस्तरयुक्त इँटा र विभिन्न प्रकारका कला प्रयोग भएका छन् । मन्दिर निर्माणताका दुई मिटर अग्लो सुनको गजुर मन्दिरमा लगाइएको थियो । त्यस्तै पछि गीर्वाणयुद्धविव्रmम शाहले मन्दिरलाई ११ धार्नीको घन्ट चढाएका इतिहासविद् गोपाल भण्डारी बताउनुहुन्छ तर सुरक्षा अभावका कारण पञ्चायतकालमा सुनको गजुर र घन्टसहित बहुमूल्य वस्तु हराइसकेका छन् ।
विजयपुरबाट आएका सन्त मेहर गिरीले सपनामा सो स्थानमा शिवजी प्रकट भएको देखेपछि उठेर नबोली देखेको सिस्नो घारीमा लैनो गाई छोडिदिएर पछि लागेर हेर्दा गाईले शिवजी प्रकट भएको स्थानको एक पत्थरमा चारै थुनबाट दुध चढाएकाले तत्काल खबर गर्दा सो पत्थर उखेलेर काठमाडाँै झिकाउने आदेश आयो तर पत्थर केही गरे पनि निकाल्न नसकेपछि सोही स्थानमा पूजाआजा गर्न थालेको हो । तत्कालीन सरकारले गिरीलाई नै प्रथम महन्त नियुक्ति गरेको भण्डारी बताउनुहुन्छ ।
विसं १८९४ मा रणजङ्ग पाण्डेको उदय भएपछि थापा खलकसहित जङ्गबहादुर राणाका पिता बालनरसिंह कुँवरको सर्वस्व हरण गरिएपछि २० वर्षको उमेर हँुदा जङ्गबहादुरले भूमिगत जीवन अन्तर्गतको केही समय यहाँ बिताएका थिए । पछि जङ्गबहादुर प्रधानमन्त्री भएपछि लेगुवा आई थप पूर्वाधार निर्माण गरेका थिए । सो क्रममा १०८ खुड्किला भएको सिँढी, साधुसन्तका लागि पाटीपौवा, इनार, पोखरी, पोखरीको उत्तरतर्फ भीमसेन मन्दिर, पश्चिममा सरस्वती मन्दिर, दक्षिणमा नागमन्दिर स्थापना गरेका थिए । योबाहेक बाजागाजा राख्ने घर, १०८ साधुको लागि पाकघर र वार्षिक एक हजार एक सय मुरी अन्न उठाउने व्यवस्था मिलाइदिएको इतिहासविद् गोपाल भण्डारीले सङ्कलन गरेको दस्ताबेजमा उल्लेख छ ।
जीर्ण अवस्थामा रहेको मन्दिर केही वर्षअघि पुरातìव विभाग र महालक्ष्मी नगरपालिकाले मर्मत गरेका थिए । अहिले पनि मन्दिरको थप संरचना र संरक्षणमा पालिका लागिरहेको महालक्ष्मी नगरपालिका–६ का वडाध्यक्ष शिवराज विश्वकर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो हाम्रो मुख्य सम्पदा हो । आस्थाको धरोहर हो, धार्मिक मात्र नभई ऐतिहासिक महìवको यो मन्दिर संरक्षणसँगै प्रचारप्रसार गर्न हामी लागिपरेका छौँ ।”
नागेश्वर महादेव मन्दिरलगायतका सम्पदाको जीर्णोद्धार, विकास र प्रचारप्रसार गरी पर्यटक भिœयाउन सके लेगुवाको मुहार फेरिने महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राय बताउनुहुन्छ । प्रमुख राय भन्नुहुन्छ, “आस्था, पहिचान र इतिहास बोकेको यस मन्दिरको जीर्णोद्धार व्यवस्थापनमा लागेका छौँ, पहिलेको जस्तै गरी संरचना निर्माण उत्खनन त ग-यौँ तर मन्दिरमा पहिलेको जस्तो रौनक फर्काउन सकेका छैनौँ ।”