• १४ मंसिर २०८१, शुक्रबार

कालीगण्डकी स्नान गर्न जाने पैदलमार्ग निर्माण

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), चैत १ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयदेखि कालीगण्डकी स्नान गर्न जाने पैदलमार्ग निर्माण गरिएको छ । पैदलमार्ग निर्माण भएपछि गलेश्वर दर्शन गर्न आएका भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ ।  

भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत गलेश्वर मन्दिरको प्रवेशद्वारदेखि कालीगण्डकी नदी किनारमा पुग्ने पाँच मिटर चौडाइ भएको करिब १२५ मिटर दुरीको पैदलमार्ग निर्माण गरेको हो । साँघुरो र अप्ठ्यारो बाटोलाई कटिङ, ढलान,  ढुङ्गा छपाई, पर्खाल तथा रेलिङ निर्माण गरेर सहज पारिएको छ । ढलान गरिएको बाटोको दायाँतर्फ ढुङ्गा छापिएको छ भने सिँढी र रेलिङ बनाएर पदमार्ग निर्माण गरिएको छ । 

उपभोक्ताको जनश्रमदानसहित ४२ लाख ६७ हजार २३९ रुपियाँ लागतमा ढलानसहित पदमार्ग निर्माण गरिएको हो । उक्त योजना कार्यान्वयनका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको ३८ लाख ४० हजार र जनसहभागिताबाट चार लाख २७ हजार २३९ रुपियाँ खर्च भएको उपभोक्ता समितिका सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । उपभोक्ता समितिको सक्रियताका कारण लक्ष्यभन्दा तीन महिनाअगावै योजना सम्पन्न गरेको उहाँले बताउनुभयो । 

उपभोक्ता समितिका सचिव बानियाँले भन्नुभयो, “२०८१ साल जेठ २५ भित्र निर्माण सम्पन्न गर्न पुस २५ गते योजना सम्झौता भएको थियो । योजना सम्पन्न गर्नुपर्ने मितिभन्दा तीन महिनाअगावै योजना सम्पन्न गरेका छौँ ।” पैदल हिँडेर स्नान गर्न जाने भक्तजनलाई सहज होस् भनेर सिँढीसहितको पदमार्ग तयार पारिएको सचिव बानियाँले जानकारी दिनुभयो । पैदलमार्ग निर्माणपछि भक्तजनका साथै गलेश्वरका स्थानीय र घतानवासीलाई कालीगण्डकी घाटसम्म पुग्नसमेत सहज भएको छ ।