• २३ असार २०८२, सोमबार

सडक बन्द भएपछि नाकाबन्दीमा रेक्चागाउँ

blog

जीर्ण अवस्थामा रहेको रेक्चागाउँ जाने सडक । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, असार २३ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ को रेक्चागाउँ पुग्ने तीन वटा सडक बर्खायाममा बन्द हुँदा नाकाबन्दीकै अवस्था हुन थालेको छ । रेक्चागाउँ जाने तीन वटा सडक बर्खाको पानीले बन्द हुँदा असोजसम्म नाकाबन्दीको चपेटामा पर्ने जोखिम बढेको हो । 

रेक्चागाउँ पुग्नका लागि गुठु–रेक्चा सडक, धुर्खोला–मायाताल–रेक्चा सडक र साल्म–रेक्चा कृषि सडक अहिले विभिन्न कारणले बन्द अवस्थामा छन् । गुठु–रेक्चा सडक कर्णाली प्रदेश सरकारको एक करोड रुपियाँ लागतमा स्तरोन्नति हुँदै थियो । करिब नौ किलोमिटर सडक स्तरोन्नति हुँदै गर्दा असारको पहिलो सातातिर बजेट सकियो भन्दै निर्माण कार्य अलपत्र छाडिएको छ । जिरो प्वाइन्ट मानिएको धारापानीदेखि करिब पाँच किलोमिटर जति स्तरोन्नति गरिए पनि बाँकी काम गर्दागर्दै छोडिएको स्थानीय तपेन्द्र क्षेत्रीले बताउनुभयो । 

उक्त सडक रेक्चागाउँका लागि निकै महत्वपूर्ण छ । पानी नपरेका बेला यही सडकबाट साना जिप आउनेजाने र सामान बोक्ने गर्छन् । बर्खा लागेपछि अब सो सडकमा आउजाउ नै गर्न नसकिने अवस्था पुगेको छ । यस्तै सङ्घीय सरकार र स्थानीय सरकारको दुई करोड रुपियाँको संयुक्त लगानीमा निर्माणाधीन धुर्खोला–मायाताल–रेक्चा सडक पनि अलपत्र अवस्थामा छ । बर्खा लागेपछि उक्त सडकमा स्तरोन्नतिको काम हुँदाहुँदै बिचैमा रोकिएको छ । उक्त सडक पनि अलपत्र पर्दा रेक्चाका बासिन्दालाई पालिका केन्द्र तथा सदरमुकाम आउन सकस भएको वडा नं. ५ का वडा सदस्यसमेत रहेका क्षेत्रीले बताउनुभयो । यसै गरी साल्मदेखि रेक्चा कृषि सडकको अवस्था पनि उस्तै दयनीय छ । बर्खामा यी तीन वटै सडक सञ्चालन नहुँदा रेक्चा नाकाबन्दीकै अवस्थामा पुगेको छ ।