• १४ मंसिर २०८१, शुक्रबार

दादुरा–रुबेलाविरुद्धको खोप दुई चरणमा

blog

तनहुँ समाचारदाता 

तनहुँ, चैत १ गते । तनहुँमा करिब १९ हजार बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले फागुन महिनामा यहाँ दुई चरणमा सञ्चालन गरिएको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा जिल्लाका १८ हजार ८७८ बालबालिकाले  खोप लगाएका जानकारी दिनुभयो । 

अधिकारीका अनुसार तनहुँमा १६ हजार २०५ जना लक्षित बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने अभियानसहित सुरु भएको खोप कार्यक्रममा लक्ष्यभन्दा बढी खोप लगाइएको छ । अभियानमा ११५ प्रतिशत सहभागी भएका छन् । फागुन १५ देखि २० सम्म पहिलो चरण र २२ गतेदेखि २७ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो । 

चार नगरपालिका र छ गाउँपालिका रहेको तनहुँमा २३८ वटा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरी सोही अनुसार अभियान सञ्चालन भएको थियो । खोप अभियानमा खोप लगाउने नौ महिनादेखि पाँच वर्ष उमेर समूहका सबै बालबालिकालाई नजिकको खोप केन्द्रमा पुगेर खोप लगाएर दादुरा रुबेलाबाट बच्न स्वास्थ्य कार्यालयले प्रचारप्रसारसहित अनुरोध गरेर खोप अभियान सफल बनाएको स्वास्थ्य प्रमुख अधिकारीले बताउनुभयो ।