• ११ मंसिर २०८१, मङ्गलबार

युएई र मङ्गोलियालाई लगानी बढाउन आग्रह

blog

काठमाडौँ, चैत १ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मङ्गोलियाका राजदूतलाई नेपालमा आफ्ना मुलुकका लगानीकर्तालाई ल्याउन आग्रह गर्नुभएको छ । ढकालले बुधबार युएईका राजदूत अब्दुल्ला अल सम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँग भेटवार्तामा यस्तो आग्रह गर्नुभएको हो ।

भेटका क्रममा नेपाल र यी दुई राष्ट्रबिचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको महासङ्घ सचिवालयले जनाएको छ । यही वैशाख २८ र २९ गते काठमाडौँमा हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन पनि सम्बन्धित देशलाई अध्यक्ष ढकालले अनुरोध गर्नुभयो । 

युएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई बिजनेस समिटको सफलताका लागि धन्यवाद दिनुभयो । उहाँले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको पनि राजदूतलाई जानकारी गराउनुभयो । भेटमा अब्दुल्ला अल सम्सीले नेपाल र युएईबिच द्विपक्षीय लगानी सम्झौताको सम्भावनाका बारेमा पनि कुरा राख्नुभएको थियो ।

त्यसै गरी मङ्गोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले आपसी व्यापार र लगानी अवसरका विषयमा छलफल गर्नुभएको थियो । अध्यक्ष ढकालले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नेपालको बाह्य क्षेत्रको स्थिरताबारे पनि राजदूतलाई अवगत गराउनुभयो ।