• १३ साउन २०८१, आइतबार

बाँकेमा एक लाखभन्दा बढी बालबालिकाले लगाए दादुरा-रुबेलाविरुद्धको खोप

blog

नेपालगन्जमा दादुरा रुबेलाविरुद्धको खोप लगाएकी एक बालिका । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २९ गते । बाँके जिल्लामा एक लाख ८८ हजार बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । जिल्लाका एक लाख ६५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियान अन्तर्गत एक लाख ८८ हजार ७०५ बालबालिकालाई खोप लगाईएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो । ती मध्ये एक लाख ७३४ बालक र ८७ हजार ९७१ बालिका छन् । 

उहाँले जिल्लामा निर्धारित गरिएको लक्ष्य भन्दा करिब २३ हजार बढी बालबालिकलाई खोप लगाइएको बताउनुभयो । समग्र जिल्लामा लक्ष्यभन्दा १४ प्रतिशत बढी बालबालिकालाई खोप लगाइए पनि अझै सदरमुकाम नेपालगन्ज र सोसँग गाँसिएको डुडुवा गाउँपालिकामा लक्ष्य पूरा हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार डुडुवा गाउँपालिकामा लक्ष्यको ९६ प्रतिशत र नेपालगन्ज उपमहानगरमा लक्ष्यको ९७ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । 

सबैभन्दा दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा लक्ष्यभन्दा २७ प्रतिशत बढीले खोप लगाउँदा नेपालगन्ज र डुडुवामा अझै पनि लक्ष्य पूरा नहुनु चिन्ताको विषय भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार हालसम्म कोहलपुर नगरपालिकामा सबैभन्दा बढी लक्ष्यको १३५ प्रतिशत, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा १२७ प्रतिशत, खजुरा गाउँपालिकामा ११५ प्रतिशत, बैजनाथमा ११२ प्रतिशत र जानकी गाउँपालिकामा ११० प्रतिशत बालबालिकाले खोप लगाएका छन् । 

नेपालगन्ज उपमहानगर र डुडुवा गाउँपालिकामा खोप अभियानको लक्ष्य पुरा गर्न निकै ठुलो परिश्रम गर्नुपरेको अभियानमा खटिएका स्वास्थ्यकर्मीहरुले जनाएका छन् । नेपालगन्ज र डुडुवामा पनि ढिलै भएपनि खोपको लक्ष्य पूरा हुने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

फागुन १३ गतेबाट बाँकेका नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ खोप अभियान सुरु गरिएको थियो ।