• १३ साउन २०८१, आइतबार

वार्षिक १३ करोडभन्दा बढीको सुन्तला बिक्री

blog

फाइल तस्बिर ।

गुणबहादुर रोका 

सुलीकोट, फागुन २९ गते । गोरखा जिल्लामा यस वर्ष १३ करोड ५० लाख रुपियाँको सुन्तला कारोबार भएको छ । गत वर्षको तुलनामा यस वर्ष करिब चार करोडकाे सुन्तलाकाे कारोबार भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना एकाइ गोरखाका कृषि अधिकृत रवीन्द्र पौडेलले जानकारी दिनुभयो । 

गोरखामा सुन्तला आठ सय १५ हेक्टर क्षेत्रफल जमिनमा लगाउने गरिएको छ । जसमा गत वर्ष ९६५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष बढेर २२५० मेट्रिक टन सुन्तला उत्पादन भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना एकाइ कार्यालय गोरखाले जनाएको छ । 

किसानले यसपाली सुन्तला उत्पादनसँगै बजार भाउ पनि राम्रो पाएका छन् । यस वर्ष किसानले ठेकदारलाई नदिई आफैं गोरखा, पोखरा, चितवन र काठमाडौंमा लगेर बिक्री गरेकाले पनि किसानले ९० देखि १२० रुपियाँसम्म बिक्री गर्दा राम्रो मूल्य पाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालयका कृषि अधिकृत पौडेलको भनाइ छ । 

कार्यालयले सुन्तला उत्पादन बढाउनका लागि पुरानो बगैँचा व्यवस्थापन कार्यक्रम लागु गर्दै आएको छ । जस अन्तर्गत सक्ष्म तत्व, रोगनाशक विषादी, प्राङ्गारिक मल लगायतमा ५० प्रतिशतम अनुदान उपलब्ध गराउँदै आएको कृषि अधिकृत रवीन्द्र पौडेलले बताउनुभयो । 

जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने शहिद लखन गाउँपालिका-२,४,५ र ६ नम्बर वडामा झण्डै एक हजार हेक्टर जमिनमा सुन्तला खेती हुन्छ । त्यसबाहेक गोरखा नगरपालिकाको १,३,४ र ५ वडा, गण्डकी गाउँपालिकाको २,४ र ६ नम्बर वडा, भीमसेन थापा गाउँपालिकाको ६ र ३ नम्बर वडा, र पालुङटार नगरपालिकाको ९ र १० नम्बर वडा सबै गरी १२ सय हेक्टर जमिनमा सुन्तला खेती उत्पादन गरिन्छ । 

चक्लाबन्दी कार्यक्रमलाई पनि कार्यालयले निरन्तरता दिएको छ । चक्लाबन्दी गरेर खेती बिरबा सार्ने, खाल्डोमा मलहाली क्षेत्र विस्तार गर्नै किसानलाई कार्यालयले ८५ प्रतिशत अनुदानमा सुन्तला लगाएको ठाउँमा जोत्न वा खेती गर्न हाते ट्याक्टर, हाँगा काट्ने आरी,फल टिप्ने भ–याङ र ढुवानीको लागि जम्मा पर्नै क्रेट ८५ प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको कृषि अधिकृत पौडेलले बताउनुभयो । 

शहिद लखन गाउँपालिका – ४ सुन्तला खेती गर्दै आउनुभएका किसान ध्रुव खनानले भन्नुभयो, “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखाले समयमै आवश्यक दक्ष प्राविधिक उपलब्ध गराई मल र सिँचाइ गर्ने वातावरण उपलब्ध गराउने हो भने पनि सुन्तला उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ ।”

त्यस्तै, सुन्तला किसान शहिद लखन गाउँपालिका-५ नुना थापाले पुराना बोटलाई विस्थापित गरेर नयाँ बिरुवा लगाउने हो भने पनि सुन्तला उत्पादनमा निकै वृद्धि हुने उहाँको विश्वास छ ।