• ५ जेठ २०८३, मङ्गलबार

डुडियाघाटमा मोटरेबल पुल निर्माण सम्पन्न

blog

काठेखोलाको डुडियाघाटमा बनेको मोटरेबल पुल । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, जेठ ५ गते ।
जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरा र वडा नं. ४ तङ्ग्राम गाउँ जोड्ने डुडियाघाटमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकार को तीन करोड ६२ लाख २२ हजार रुपियाँ लागतमा पुल निर्माण गरिएको हो । २०८२ वैशाखमा सम्पन्न गर्ने लक्ष्यसहित बीएमए निर्माण सेवाले २०८० कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । समयमै भुक्तानी नहुँदा निर्माण कार्य लक्ष्यभन्दा करिब एक वर्ष ढिलो गरी सम्पन्न भएको हो ।

पूर्वाधार विकास कार्यालय बागलुङ का सूचना अधिकारी इन्जिनियर अनिल बर्देवाका अनुसार पुलको लम्बाइ २० मिटर र चौडाइ ८।४० मिटर रहेको छ । पुल सञ्चालनमा आएसँगै काठेखोलाको तङ्ग्राम, धम्जा गाउँ तथा ताराखोला गाउँपालिका जोड्ने छोटो दूरीको सडकमा वर्षायाममा पनि यातायात निर्वाध रूपमा सञ्चालन हुने भएको छ ।

तङ्ग्रामका वडा अध्यक्ष लक्ष्मण पुनले डुडियाघाटमा पुल नहुँदा वर्षायाममा खाद्यान्न र निर्माण सामग्री ढुवानी, बिरामीलाई अस्पताल लैजान तथा कृषि उत्पादन बजारसम्म पुर्‍याउन समस्या हुने गरेको बताउनुभयो । पुल निर्माणपछि यात्रा सहज हुने उहाँको भनाइ छ ।

यसअघि काठेखोला गाउँपालिकाको रेशस्थित एक्लेखेत र तङ्ग्रामको लामाबगरमा पनि पक्की पुल निर्माण भइसकेका छन् । ती दुवै पुल गण्डकी प्रदेश सरकारकै बजेटमा निर्माण भएका हुन् । लामाबगरमा ३ करोड ३१ लाख रुपियाँ लागतमा ३० मिटर लामो र एक्लेखेतमा पाँच करोड रुपियाँ लागतमा २५ मिटर लामो पुल निर्माण गरिएको इन्जिनियर बर्देवाले जानकारी दिनुभयो ।

हाल काठेखोला–२ अक्षते बजारदेखि तङ्ग्राम जोड्ने सडक कालोपत्र गर्ने काम पनि भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको दुई करोड ८९ लाख रुपियाँ बजेटमा अक्षते–तङ्ग्राम जोड्ने ६ किलोमिटर सडकको १ किलोमिटर ७ सय मिटर खण्ड कालोपत्र हुने क्रममा छ ।

इन्जिनियर बर्देवाका अनुसार सो खण्डमध्ये ८ सय मिटरमा प्रि–मिक्स प्रविधिको कालोपत्र र ९ सय मिटरमा ढलान गर्ने योजना छ । सडकको भौतिक प्रगति ६० प्रतिशत र आर्थिक प्रगति ५८ प्रतिशत रहेको छ ।

वि।सं। २०५५ सालमा ट्याक खुलेको उक्त ग्रामीण सडक जीर्ण हुँदा यातायात र ढुवानीमा समस्या थियो । सडक पूर्वाधार विस्तार भएपछि बागलुङ बजारदेखि तङ्ग्रामसम्मको दूरी छोटिने, वर्षभर सडक सञ्जाल जोडिने तथा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने वडा अध्यक्ष पुनले बताउनुभयो । पुलको मङ्गलबार जित शेरचनले उद्घाटन गर्नुहुने तयारी रहेको जनाइएको छ ।