सिराज खान
नेपालगन्ज, फागुन २९ गते । केही समययता आएर नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा भारतले अवरोध गर्दा रोकिएको छ ।
यहाँस्थित नेपाल–भारत नाकापारि रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगन्जबाट प्लाइउडको निकासी रोकिएको हो ।
बाँकेका प्लाइउड उद्योगी एवं प्लाइउड उत्पादक सङ्घ नेपालका सदस्य पशुपति दयाल मिश्रले भारतले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि गत एक मार्चदेखि नेपालगन्ज नाकाबाट प्लाइउड निर्यात बन्द भएको बताउनुभयो ।
उद्योगी मिश्रले भारतीय कस्टमको यो अवरोध कायमै रहने हो भने नेपालका ६० प्रतिशतभन्दा बढी प्लाइउड उद्योग तत्कालै खर्च धान्न नसकेर बन्द हुने बताउनुभयो ।
पछिल्लो समय भारतमा अत्यधिक मात्रामा नेपाली प्लाइउड निर्यात भएसँगै उद्योगीमा उत्साह जगाएको थियो । यसरी धमाधम निर्यात भइरहेको नेपाली प्लाइउडमा बाधा उत्पन्न हुने गरी भारतले गुणस्तर प्रमाण चिह्नको झमेला झिकेर निर्यात रोकेपछि तनाव सिर्जना भएको उद्योगीको भनाइ छ ।
ओम प्लाई एन्ड फर्निचर प्रालिका सञ्चालकसमेत रहनुभएका उद्योगी मिश्रले केही दिनपहिले सो समस्या लिएर नेपाली उद्योगीहरूको एक टोलीले भारतीय कस्टम कमिस्नरलाई भेटेर समस्या अवगत गराए पनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।
सोही प्रकारले बाँकेका अर्का उद्योगी तथा शिखर प्लाई उद्योगका सञ्चालक चम्पालाल बोथराले गुणस्तर प्रमाण चिह्नका नाममा निर्यात रोकिने अवस्था कायमै रहने हो भने केही दिनमै अधिकांंश उद्योग बन्द हुने बताउनुभयो ।
उहाँले यसका लागि नेपाल सरकारले भारतीय सरकारसँग समन्वय गरेर यो समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभयो । नेपालको पूर्वी नाका पानीट्याङ्कीबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिमको नेपालगन्ज नाकाबाट भने रोकिएको उद्योगी व्यवसायीको भनाइ छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार, पछिल्लो सात महिनामा मात्रै करिब १७ करोड रुपियाँ मूल्य बराबरको प्लाई यो नाकाबाट भारत निकासी भएको थियो ।
नेपालमा उत्पादित उत्तिसका बिरुवाबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उद्योगी व्यवसायीहरू बताउँछन् । जसका कारण पूर्वी र पश्चिमी दुवैतर्फका नाकाबाट भारततर्फ गत आवमा मात्रै ६० लाख क्युबिक मिटर बढी प्लाइउड निर्यात भएको थियो । धेरै निर्यात हुने ३० वस्तुभित्रको सूचीमा परेको प्लाइउड पछिल्लो पाँच महिनामा मात्रै २७ लाख क्युबिक मिटर निर्यात भएकोे छ ।
भारत सरकारले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेबु्रअरी २८ पछि प्लाइउडमा आइएसआई प्रमाण अनिवार्य गरिएको जनाएको थियो ।