• १४ मंसिर २०८१, शुक्रबार

तयार हुँदै रामनदी नमुना पुल

blog

देशकै पहिलो कालिगण्डकी नदी रामनदी (राम्दी) को नमुना पुल निर्माण हुँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, फागुन २८ गते । देशकै पहिलो कालिगण्डकी नदी रामनदी (राम्दी) को नमुना पुल निर्माणको कामले तीव्रता पाएको छ । गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने नमुना पुल थाइलैण्डका डिजाइनरले डिजाइन गरेको सीएफएसटी स्टिल ट्युबआर्क ब्रिज हो ।

आर्च थ्रुरू, स्टिल आर्च ओपन फाउन्डेसनको पुल निर्माण गर्ने तयारी भए पनि अन्तिममा सीएफएसटी स्टिल ट्युब आर्च ब्रिज बनाउन लागेको छ ।  पुल सेक्टर पोखराका इन्जिनियर विनोद पौडेलले भुटानमा एक र चाइना तथा दुबईमा प्रशस्त रहेका यो पुल नेपालमा पहिलो भएको बताउनुभयो । एक स्पान मात्र रहेको रामनदी (राम्दी) मोटरेबल पुल १२० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ । 

यहाँ बन्दै गरेको नयाँ पुल २०२८ सालमा बनेको अहिलेको ट्रस ब्रिजभन्दा २७ मिटर बढी लम्बाइ रहेको छ । अहिले रहेको पुलसँगै जोडेर पूर्व पट्टी नयाँ पुल निर्माण गरिएको छ । 

२०७९ असार ३० गते तीन वर्षमा सक्नेगरी हिम सगरमाथा प्रालि चितवनले ठेक्का सम्झौता गरेको भए पनि डिजाइन समयमै नबन्दा निर्माणमा ढिलाइ भएको बताइएको छ ।  

पुल २७ करोड ७१ लाख नौ हजार छ सय रुपियाँमा निर्माण व्यवसायीले सम्झौता पाएको थियो । सम्झौता गरेको एक वर्ष पश्चात् निर्माण कम्पनीले काम थालेको र थालेको चार महिनामा २० प्रतिशत काम सकिएको र निर्धारित समयमा पुल निर्माण हुने पौडेलले बताउनुभयो । 

निर्माण तीव्र गतिमा अगाडि बढाइएको पुल ४० मेट्रिक टन भार क्षमताको हो भने यसभन्दा अगाडिको ११ मेट्रिक टन भार क्षमताको रहेको थियो । अहिलेको जीर्ण हुँदा सवारी साधनहरू ओहोरदोहोरमा समस्या बनेपछि नयाँ पुल बनेसँगै सहज हुनेछ । 

अहिले रहेको पुल २०२२ मा निर्माण थालनी भई २०२८ सालमा सम्पन्न भएको थियो । पुलको तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले उद्घाटन गर्नु भएको थियो ।