• ५ माघ २०८१, शनिबार

ठक्करबाट साइकल यात्री घाइते भएपछि बसमा आगजनी

blog

दुर्घटनापछि स्थानीयले बसमा गरेको आगजनी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, फागुन २८ गते । सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा सोमबार बिहान बसको ठक्करबाट एक जना साइकल यात्री घाइते भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् । 

नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सलेमपुर चोकमा बयलवासबाट मलङ्गवाका लागि छुटेको ग २ ख १४४० नम्बरको बसले सोमबार बिहान १० बजेतिर ठक्कर दिँदा साइकल यात्री सोही ठाउँका ५५ वर्षीय युगलकिशोर महतो घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

गम्भीर घाइते महतोलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात् थप उपचारका लागि बीएण्डबी अस्पताल काठमाडौँ रेफर गरिएको छ । दुर्घटना लगत्तै आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । बसमा लगाइएको आगो नेपाल प्रहरी र सशस्त्र प्रहरी भएर निभाएका छन् । 

आगजनीबाट बसको सिटसहित माथिल्लो भागमा मात्रै क्षति पुगेको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।