• २७ वैशाख २०८२, शनिबार

गठबन्धन तोड्दा मतदातालाई धोका भयो : उपसभापति खड्का

blog

आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का।

सुर्खेत, फागुन २७ गते। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र) ले मतदातालाई राजनीतिक रूपमा धोका दिएको बताउनुभएको छ।

“यसपटक नेपाली कांग्रेसलाई मात्र होइन, निर्वाचनका बेला मतदातालाई दिएको वचनबाट माओवादी केन्द्रबाट राजनीतिक रूपमा ठुलो धोका भएको छ”, आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले भन्नुभयो, “यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ।”

उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका वाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो।  उहाँले निर्वाचनका बेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानुन निर्माण गरेर सङ्घीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा आम मतदातालाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने बाचा गरेर जनतासँग मत मागिएको स्मरण गर्नुभयो।

उपसभापति खड्काले असंवैधानिक तरिकाले पटक–पटक संसद् विघटन गर्ने, सङ्घीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थालिएपछि संविधानको रक्षा, सङ्घीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि विचार मिल्ने राजनीतिक शक्ति प्रतिगमनविरुद्ध मिलेर तीनै तहको निर्वाचनमा जनतासँग मत मागिएको उल्लेख गर्नुभयो। 

निर्वतमान उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहनुभएका खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीले जनताको शिर नझुक्ने गरेर काम गरेको बताउनुभयो।

उपसभापति खड्काले पार्टीको नीति अधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भएको बताउनुभयो।