अमरराज नहर्की
तनहुँ, फागुन २७ गते । तनहुँमा जेसीआई व्यास नगरमा आबद्ध युवाहरू लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना अभियानमा लागेका छन् । जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढेपछि त्यसको न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा जेसिजका युवाहरू लागेका हुन् ।
अभियानको क्रममा जेसिजले कक्षा ११, १२ र स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि दमौलीस्थित क्यिएफएक्स सिनेमा हलमा आइतबार लागुऔषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी लघुचलचित्र 'सङ्गत' को निःशुल्क प्रदर्शनी गरिएको छ । लागुऔषधले गर्दा घर, परिवार, समाजमामा मानसिक तनाव, कलह बढ्ने, आर्थिक नोक्सानी हुने मात्रै नभई मानिसको अकालमै मृत्यु हुने जस्ता समस्या बढेकाले सचेतना अभियान सुरु गरिएको जेसिआई व्यास नगरका अध्यक्ष नवीन पुरीले बताउनुभयो । पुरीका अनुसार अभियान स्वरूप लघुचलचित्र प्रदर्शनी गरिएको हो ।
लागुऔषध प्रयोगकर्ता अत्यधिक भएकाले ओसारपसार पनि त्यत्तिकै हुने गरेको र सबैभन्दा धेरै १५ देखि २० वर्षसम्मका युवा यस्तो लतमा फसेकाले विद्यार्थीलाई लक्षित गरी प्रदर्शन गरिएको जेसिआई व्यास नगरका महासचिव सनम अधिकारीले बताउनुभयो ।
चलचित्र प्रदर्शनीको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जिल्लामा दिन प्रतिदिन लागुऔषध प्रयोगकर्ता बढ्दै गएकोले ओसार प्रसारको ट्रान्जिटप्वाइन्ट बनेकोले यस्ता चलचित्रको निर्माण तथा प्रदर्शनीले न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो । चलचित्रले अत्यन्त प्रभावकारी ढङ्गबाट निर्माण गरिएको र यसलाई अन्य विद्यार्थीका साथसाथै अभिभावकलाई समेत चलचित्र देखाउनु पर्ने बताउनुभयो ।
न्यूनीकरणको लागि सबै सामाजिक सङ्घ संस्था, जनप्रतिनिधि, बुद्धिजीवीहरू हातेमालो गरेर सचेतना जगाउनु पर्ने र नगरपालिकाको तर्फबाट यस्ता कार्यलाई सहयोग गर्ने न्यौपानेले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समाजलाई सतमार्गमा लैजान प्रेरणादायी चलचित्र बनेको बताउनुभयो । सबैलाई देखाउन आ–आफ्नो ठाउँबाट मद्दत गर्नुपर्ने र विकृति न्यूनीकरणको लागि यस्ता कार्य प्रभावकारी हुने बताउनुभयो ।
दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बेलैमा ध्यान नदिँदा बालबालिका कुलतमा फस्ने र अपराधमा पनि संलग्न हुने गरेकाले यो चलचित्र विद्यार्थी, शिक्षकका साथसाथै सबै अभिभावकलाई देखाउनु पर्ने बताउनुभयो । सचेतना मूलक कार्यक्रमको कमी भएकाले समाजमा लागुपदार्थका दुर्व्यसनी बढिरहेकोले यो चलचित्रलाई देशैभरी प्रदर्शन गरिनु उपयुक्त हुने हड्खलेको भनाइ छ ।
दुर्व्यसनीको असरको पाठ सिक्न चलचित्रले मद्दत पुग्ने भएकोले प्रदर्शनीको लागि मद्दत गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख कपिलराज बोहोराले जानकारी दिनुभयो । चलचित्र हेरेपछि लागु पदार्थ सेवनले गर्दा परिवारमा परेको पिडा देखेर आँखामा आँसु आएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो ।
मिश्रले भन्नुभयो, "समाजमा यसको न्यूनीकरणको लागि यो चलचित्र निकै प्रभावकारीलाई सबै विद्यालय र टोलबस्तीमा यो प्रदर्शनी गरिनु उपयुक्त हुन्छ ।" लघुचलचित्र लेखन नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक अनुज विकले गर्नुभएको छ । चलचित्र निर्देशन तथा सम्पादन किशोर चौधरीले गर्नुभएको छ । चलचित्र चितवन स्थित खैरहनी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको हो । दमौलीमा कलाकारहरू सहितको उपस्थितिमा चलचित्र प्रदर्शनी गरिएको थियो ।