• १३ साउन २०८१, आइतबार

निःशुल्क आँखा शिविरमा २४६ जनाले लिए सेवा

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन २७ गते । गुल्मीको भाडगाउँमा गरिएको निःशुल्क आँखा शिविरमा दुई सय ४६ जनाले सेवा लिएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर-३ भाडगाउँको आयोजना एवम् नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घासको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा यहाँका नागरिकहरूले सेवा लिएका हुन् ।

यहाँस्थित भाडगाउँ माध्यमिक विद्यालयमा एक दिनमात्र सञ्चालन भएको शिविरमा एक सय ४५ जना महिला र एक सय १ जना पुरुषको आँखाको जाँच गरिएको वडा अध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो । जसमा २०६ जनालाई चस्मासँगै औषधी र बाँकीलाई औषधी मात्र वितरण गरिएको छ ।

चार जनाको तत्काल मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने देखिएको छ । मोतियाबिन्दुको अप्रेसन नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घासमा गरिने भएको छ । नागरिकसँगको भेटघाटमा स्वास्थ्य सम्बन्धी कुरा गर्दा धेरैजसो नागरिकले आँखाको समस्या भएको बताउनुभएको थियो । नागरिकको आँखाको समस्यालाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

निःशुल्क आँखा शिविरको शुभारम्भ रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले गर्नुभयो । त्यस अवसरमा उहाँले नगरपालिका नागरिकको स्वास्थ्यप्रति निकै गम्भीर रहेको बताउनुभयो । नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा निकै नै महत्त्वपूर्ण कार्य समेत गरेको बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि नागरिकको आँखाको मोतियाबिन्दुको निःशुल्क अप्रेसनका लागि नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्रसँग सम्झौता गरेको छ । यहाँबाट त्यस आर्थिक वर्षमा ९८ जना र चालू आर्थिक वर्षको हालसम्म ५८ जनाको मोतियाबिन्दुको अप्रेसन गरिएको छ ।