अमृतप्रसाद पौडेल
म्याग्दी, फागुन २७ गते । कहीँकतैबाट पानीको स्रोत देखिँदन तर बाह्रै महिना पानी रहेको हुन्छ गलेश्वरस्थित वराह जलकुण्डमा । हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिर परिसरमा रहेको वराह जलकुण्डमा कहिल्यै पानी सुक्दैन ।
नौ रोपनी क्षेत्रफल रहेको एउटै ठुलो चट्टानमाथि रहेको कुण्डमा सधैँ पानी रहने र कहिल्यै नसुकेर सबैलाई चकित पार्ने गरेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष वमबहादुर पुन गलेश्वर मन्दिरमा पूजा अर्चना कहिले सुरु गरियो भन्ने तथ्य र मन्दिर छेउमा रहेको जलकुण्डमा पानीको स्रोत कतादेखि र कहिलेदेखि भन्ने पनि कसैलाई यकिन नभएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो ४० वर्षको अवधिमा मलाई याद भएसम्म यहाँको जल सुकेको भन्ने थाहा छैन ।”
बेनी नगरपालिका–९, जम्रेनीका पण्डित टीकानन्द सुवेदीले भन्नुभयो, “२०२८ सालमा मैले पढ्ने बेलामा पातपतिङ्गर कुण्डमा परेर सडेर दुर्गन्ध भएको भनेर गुरु नीलकण्ठ आचार्यको आग्रह अनुसार कुण्डको सबै पानी निकालेर फालेका थियौँ ।”
त्यसपछि पूरा खाली गर्न हुँदैन भनेर कालीगण्डकी नदीबाट चार गाग्री पानी ल्याएर हालियो त्यही रात भीषण वर्षा भएर पानीको सतह साबिकको जस्तै भयो । खडेरी परेर सबैतिर पानीको हाहाकार भएको समयमा हामीले कुण्ड सफा गरेर पानी सबै फालेका थियौँ तर त्यही रातको वर्षाले पानीको सतह साबिकको जस्तै बनायो । अहिले म ७२ वर्षको भएँ पछिल्लो ३० वर्षदेखि मन्दिर व्यवस्थापनमा छु । मैले पढ्ने समयमा गुरुको आग्रह अनुसार पानी फालेका थियौँ तर पनि त्यहाँ पानीको सतह सधैँ एकैनासको हुन्छ । जस्तोसुकै खडेरीमा पनि कुण्डमा पानी सुक्दैन, वर्षामा भरिएर बाहिर पनि जाँदैन, निश्चित सतह कायम रहिरहन्छ ।
प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले नौ रोपनीको एउटै शिलामाथि मन्दिर र जलकुण्ड रहस्यमय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुण्डमा कहिल्यै पानी सुकेको मलाई याद छैन, धार्मिक महìवको स्थल भएका कारण पनि यहाँ केही धार्मिक शक्तिकै कारणले गर्दा पनि पानी नसुकेको हुन सक्छ ।
यतिका अग्लो चट्टानमा पानी ल्याउने वा कतैबाट ल्याएर हालिएको जस्तो पनि देखिँदैन भने कसरी पानी नसुकेर रहन सक्छ भन्ने प्रश्न उठ्ला तर कुण्डसम्म आउने पानीको स्रोत पनि नदेखिने उहाँको भनाइ छ । अन्नपूर्ण गाउँपालिका–६ घार घर भई गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा तीन दशकदेखि बस्दै आउनुभएका एकानन्द खड्का (गिरी) ले देवशक्तिकै कारण पानीको स्रोत कहिल्यै ननासिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुण्डको छेउमा रहेको काठे पिपल पनि उत्रै छन् अनि पानीको सतह पनि मैले जान्ने भएदेखि यहाँ उस्तै देखेको छु ।”
गलेश्वर मन्दिरमा दैनिक पूजा अर्चना हुनुका साथै साउनका सोमबार एवं महाशिवरात्रि तथा बालाचतुर्दशीमा ठुलो मेला लाग्ने गर्दछ । महाशिवरात्रिको दिन यस वर्ष गलेश्वर मन्दिरमा झन्डै पाँच सय जना भक्तालुले शिवधुनी लगाउँदै जाग्राम बसेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालयसचिव रामबहादुर बानियाँले बताउनुभयो ।