• ११ मंसिर २०८१, मङ्गलबार

किशोरीले बजाए दमाहा

blog

नारी दिवसका अवसरमा किशोरी दमाहा बजाउँदै । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, फागुन २५ गते । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कालीकोटमा किशोरीले दमाहा बजाएका छन् । महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी भन्ने नारासाथ आज मनाइएको ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा कालीकोटमा किशोरीले दमाहा बजाएका हुन् ।

श्रमिकको परिचय दिन र जस्तोसुकै काम गर्न पनि नारी सक्षम छन् भनेर व्यवहारिक रूपमा प्रमाणित गर्न दमाहा बजाएको किशोरीहरूले बताउनुभएको छ । किशोरीले कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रचलित स्थानीय पञ्चेवाजा दमाहा बजाएर रमाएका छन् । 

कर्णालीमा लामो समय काम गर्दैआएको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) कालीकोटको संयोजक तुलाराम पाण्डेले पछिल्लो समय किशोरी सशक्तीकरण हुन थालेको बताउनुभयो । 

किशोरीसँगै बाजा बजाइरहनु भएका पञ्चेबाजाकर्मी अमर नेपालीले सानैदेखि बजाउँदै आएकालाई समेत जटिल लाग्ने दमाहा किशोरीले बिनालटपट बजाएको देख्दा खुसी लागेको बताउनुभयो ।  

एकापट्टी कर्णालीमा पञ्चेबाजाकर्मी अर्थात् हुड्केउली पोसाकमा पुरुष थिए भने अर्कोतर्फ गुनियौँ चोलामा सजिएका किशोरीले बाजा बजाएका थिए । पहिलो पटक किशोरीले यहाँ दमाहा बजाएपछि हेर्ने स्थानीयको भीड थियो ।