• ११ मंसिर २०८१, मङ्गलबार

सर्वप्रिय भगवान् शिव

blog

भगवान् शिवबारे हरेक पुराण बोल्छन् । अझ शैवपुराणले त पूर्ण रूपमा शिवको महिमा प्रस्तुत गर्छ । हुन त शिवलाई हेर्ने दृष्टि पनि अनेक छन् । उहाँलाई सृष्टिकर्ता ईश्वर मान्नेहरू पनि छन् । संहारक देवता मान्नेहरूको पनि कमी छैन । केही आफ्नो जीवनकालका शक्तिशाली योद्धा भएकाले उहाँले आफ्ना राज्यका नागरिकलाई अभय प्रदान गर्ने गरेको ठान्छन् । जसले जहाँ, जसरी वर्णन र व्याख्या गरे पनि उहाँ चराचर जगत्का सर्जक, पालक र संहारकका रूपमा चिनिनु हुन्छ । साँच्चै भन्नुपर्दा उहाँ प्रकृतिका उन्नायक एवं सारा प्राणीका परिपोषक शक्ति हुनुहुन्छ र उहाँको सायुज्यधाम भनेकै कैलाश पर्वत हो ।

हिउँ नै हिउँले ढाकेको कैलाश पर्वत, जुन मुकुटयुक्त देखिन्छ, जहाँ बस्न उहाँ सधैँ खुसी र सहज ठान्नुहुन्छ । उहाँसँग बस्न वासुकी नाग र नन्दी साँढे आदि खुसी हुन्छन् । वृक्ष, वनस्पति, लता आदि खुसीले गद्गद् हुन्छन् । चन्द्रमा शिरमा रहन्छन् । गङ्गा; जसलाई उहाँ जीवनको पर्याय सम्झनुहुन्छ र सदैव शिरमा स्थान दिएर राख्नुहुन्छ । सदैव आफ्नो पूजा आराधनामा पनि जलाभिषेक मन पराउनुहुन्छ । यसैले हरेक रुद्राभिषेकमा मानिसले पनि जलधारा अर्पित गर्छन् । 

शिवकी अर्धाङ्गिनी पार्वती हुनुहुन्छ । पार्वतीका पिता चाहिँ पर्वत हुनुहुन्छ । उहाँको वासस्थान र रजगजको क्षेत्र यिनै पर्वतहरू हुन् । यस अर्थमा पर्वतको राजधानी र राज्य पनि यिनै पर्वतमाला हुन् । पार्वतीको माइती घर र शिवको ससुराली पनि यही नेपाल नै हो । यस मानेमा शिव र पार्वती दुवै नेपाली माटालाई सजाउने आराध्य हुनुहुन्छ र मुख्य पालनकर्ता हुनुहुन्छ । नेपालका गौरव र सान हुनुहुन्छ । हाम्रा पूर्वज र पुर्खा हुनुहुन्छ । शिवलाई हेर्ने दृष्टि एउटा श्रुतिस्मृति र पौराणिक कथन अनुरूपको छ भने अर्को समाजसापेक्ष आधुनिक छ । श्रुति र स्मृतिका दृष्टिमा उहाँ अनादि, अनन्त र परमशक्ति हुनुहुन्छ । पुराणमा वर्णन गरिए अनुसार उहाँ सत्य, सुन्दर र विराट् हुनुहुन्छ । उहाँलाई नेति नेति भन्दै अधिक वर्णन गर्न नसक्ने पनि ठानिन्छ ।

शिवको सम्पूर्ण वनस्पतिप्रति अगाध आस्था त छँदै थियो । सम्पूर्ण जलचर, नभचर तथा स्थलचर प्राणीप्रति पनि उत्तिकै प्रेम र श्रद्धाको भावना रहेको थियो भन्ने विभिन्न पुराण र उपनिषद्हरू पढ्दा बुझिन्छ । साँच्चै भन्नुपर्दा उहाँले प्रकृतिलाई नै आफ्नो घर ठान्नुभयो । पारिस्थितिक प्रणालीलाई जोगाइराख्नमा उहाँले निर्वाह गरेको भूमिका अकल्पनीय छ । यसर्थ उहाँ प्रकृतिका परिपोषक भएको तथ्य स्पष्ट हुन्छ । उहाँले सुर–असुर र देवतामा कहिल्यै भेदभाव राख्नुभएन । नारी–पुरुषका बिचमा सधैँ सहअस्तित्वको मान्यता स्थापित गर्न उहाँले आपूmलाई अर्धनारीश्वरका रूपमा प्रस्तुत गर्नुभयो । 

वस्तुतः शिव समाजवादी दर्शनका प्रणेता हुनुहुन्छ । उहाँले देवता, मनुष्य र राक्षसहरूका बिच कहिल्यै भेद गर्नु भएन । सबैलाई उत्तिकै महत्व दिनुभयो । उपेक्षित र तिरस्कृत समुदायलाई आफ्नो गणमा उचित स्थान दिनुभयो । आफ्ना अनुयायी हुन् वा अरूका अनुयायी हुन्, सबै सबैसँग उहाँले समान व्यवहार गर्नुभयो । उहाँ वेदका स्रष्टा, व्याख्याता, नीति र मर्यादाका परिपालक पनि हुनुहुन्छ । उहाँ संसारका पहिलो शल्यचिकित्सक हुनुहुन्छ । उहाँले पहिले आफ्नो बाटो छेकिरहेका पुत्र गणेशको शिरच्छेदन गर्नुभयो । पछि पत्नी पार्वतीको अनुरोधमा कुशलतापूर्वक हात्तीको शिरस्थापन गरिदिनुभयो । दक्षप्रजापतिको काटिएको शिरका सट्टामा बोकाको टाउको जोडिदिनुभयो । 

उहाँ आशुतोष हुनुहुन्छ । उहाँ सदा सत्यवादी हुनुहुन्छ । उहाँ छलकपट गर्नुहुन्न र अन्यायको कडा विरोध गर्नुहुन्छ । समुद्र मन्थनका क्रममा निस्किएको हलाहल विषले सर्वत्र त्राहिमाम् त्राहिमाम्को स्थिति सिर्जना हुन्छ । यस्तो विषम परिस्थितिमा चराचर जगत्लाई हलाहल विषको प्रभावबाट संरक्षकत्व दिन उहाँले विष पान गर्नुभयो । उहाँले गाँजा, भाङ आदि नसालु वस्तु सेवन गरी यस्तो विष पचाउने शक्ति हासिल गर्नुभएको थियो । उहाँ सदैव न्यायको पक्षमा उभिरहनु भएकाले उहाँ देवादिदेव महादेव भनेर कहलिनुभएको छ । 

प्रकृति र पुरुषबिच हुने शाश्वत प्रेमका पनि उहाँ सच्चा पुजारी हुनुहुन्छ र आदर्श पनि हुनुहुन्छ । सतीको मृतदेह बोकेर त्रिभुवन चहार्नुभयो । सतीका गलित अङ्ग पतन भएको स्थललाई शक्तिपीठका रूपमा स्थापित गर्न भूमिका खेल्नुभयो । कामुक इन्द्रका पतीत व्यवहार र कुण्ठालाई सही मार्गमा ल्याउन उहाँले धेरै पटक प्रयत्न गर्नुभयो । आफ्ना पुत्र कार्तिकेयलाई भन्दा इन्द्रलाई नै अधिक महत्व दिनुभयो । कार्तिकेय नै स्वर्गका राजा बन्न पाउने अवसर हुँदाहुँदै उहाँले आफ्ना छोरालाई सम्झाउनुभयो, बुझाउनुभयो र मनाउनुभयो अनि स्वर्गको राजा इन्द्रलाई नै बन्ने वातावरण निर्माण गर्नुभयो । राजा बन्न सक्ने स्थिति हुँदाहुँदै पनि उहाँले पुत्रमोहमा परी स्वर्गको शासनाधिकार सुम्पनु भएन । आफ्नो निष्कलङ्क छवि कायम राख्न सफलता पाइरहनुभयो ।

उहाँ औधी सहिष्णु र अपार सहयोगी पनि हुनुहुन्छ । आफ्ना आश्रित सबै जनमा करुण दृष्टि राख्नुहुन्छ । उहाँ दिव्यता र सदा एकताका प्रतीक पनि हुनुहुन्छ । हरेक प्राणीलाई सदा स्वतन्त्रता र आपसी हार्दिकता बाँड्न उहाँ अपिल गर्नु हुन्छ । सारा चराचर जगत्का मानव, दानव र देवता गणलाई पनि उहाँ प्रेम र सहष्णिुता बाँड्न प्रेरित गर्नु हुन्छ । पाखण्डी र ढोँगी प्रवृत्तिलाई उहाँले कहिल्यै महत्व दिनुभएन । सदा असल बन्न र सत्कर्म गर्न प्रेरित गरिरहनुहुन्छ । दक्षप्रजापतिले खपिनसक्नु अपमान गर्दा पनि सहन सक्ने गुण र विशेषता उहाँमा छ । 

उहाँले अन्य देवदेवीहरूको अनावश्यक टीकाटिप्पणी गर्नुभएन । गल्ती गर्दा पनि मर्मान्तक शब्दवाण हान्नु भएन । नारित्व र सृष्टिमाथि नै धावा बोल्ने शक्तिलाई भने उहाँले कहिल्यै छाड्नु भएन, कठोर दण्ड दिनुभयो । जस्तै वियोग र कठिन परिस्थितिमा पनि धैर्यधारण गर्न सक्ने खुबी थियो उहाँमा । पार्वतीको अनुपस्थिति असह्य भए पनि उहाँले योग र ध्यानद्वारा त्यसलाई शमन गर्नुभयो । एक्लै कैयौँ वर्ष गुजार्नुभयो तर अन्य नारीप्रति कहिल्यै दृष्टिपात गर्नुभएन बरु उहाँले पार्वतीको प्रतीक्षा गरिरहनुभयो । रावणले आफ्नो अधीनमा पार्दा उहाँ त्यसलाई सहजै स्वीकार गरी उहाँ लङ्का जान तयार हुनुभयो । उहाँका नाम असङ्ख्य छन् र ती नाम सार्थक पनि छन् । अझ शम्भु, नीलकण्ठ, रुद्र, महादेव, चन्द्रशेखर, गङ्गाधर आदि उहाँका प्रिय नाउँहरू हुन् । 

शिवले अत्यन्त पवित्र भावनाले गर्नुभएका राम्रा कार्यलाई पनि अतिशयोक्तिपूर्ण दृष्टिले हेर्ने चलन हिजो पनि थियो र आज पनि छ । आफ्नो स्वार्थसिद्ध गर्न उहाँलाई भाङ, धतुरो खाने, खरानी घस्ने र अर्धनग्न भएर हिँड्ने आदि इत्यादि भन्ने गरिन्छ । अझ सतीका पिता दक्षप्रजापतिले उहाँलाई धरै पटक अपमानित गरे । दक्षले मसानवासी, गँजडी आदि उपमा दिए । यसलाई उहाँले विषलाई झैँ सहजै पचाउनुभयो । शिवले जगत्को कल्याणार्थ विषादि सेवन गर्नुपर्ने स्थितिलाई ध्यानमा राख्दै यसको प्रभाव कम गर्न सदा मन्द विष सेवन गरी शक्ति आर्जन गर्नुभएको थियो । यसैलाई गलत व्याख्या गरी शिवले त गाँजा, भाङ र धतुरो सेवन गर्नुभएको थियो भने मैले चाहिँ सेवन किन गर्नु हुँदैन भन्नेहरू पनि छन् । शिवरात्रिका दिन भाङ र धतुरो खाएर लठ्ठ पर्ने, बिरामी बन्ने, मानसिक विचलित बन्नेहरू पनि छन् । 

शिवले त जगत् कल्याणका लागि सेवन गर्नुभएको थियो तर वर्तमान मान्छेले कसको कल्याणका लागि सेवन गर्दै छन् भन्ने कुरा हरेकले बुझ्नु जरुरी छ । शिवरात्रिको पावन अवसरमा राम्रा र उपकारी काम गरे उहाँप्रति असल कृतज्ञता हुन सक्छ तर उहाँलाई देखाएर विषालु पदार्थ लिएर सेवन गर्नु चाहिँ किमार्थ उपयुक्त मान्न सकिन्न ।   

Author

डा. धनपति कोइराला