• ११ पुस २०८१, बिहिबार

भान्सामा विषादी जोखिम

blog

काठमाडौँको कालीमाटीस्थित तरकारी बजार देशकै ठुलो बजार मानिन्छ । देशका विभिन्न भागमा उत्पादित र भारतीय बजारबाट समेत तरकारी तथा फलफूल ठुलो परिमाणमा कालीमाटी भित्रिन्छ । जहाँबाट खुद्रा बिक्रेता हुँदै उपभोक्ताको भान्सामा भित्रिने तरकारीमा विषादीको मात्रा ज्यादा रहेको समाचार बेलाबखत सार्वजनिक हुँदै आएको छ । भारतीय बजारबाट नेपाल भित्रिने र नेपालमै उत्पादित बेमौसमी तरकारीमा विषादीको बढ्दो प्रयोग र यसले उपभोक्ताको स्वास्थ्यमा पार्ने असरबारे नागरिकस्तरमै आवाज उठेपछि सरकारले विषादी जाँचको व्यवस्थासमेत गरिआएको छ । २०७१ सालको असारमा कालीमाटी तरकारी बजारमा द्रुत विषादी परीक्षण प्रयोगशाला स्थापना गरिएपछि विषादीको मात्रा जाँच गरिँदै आएको छ ।

सरकारले बिर्तामोड, लालबन्दी, कालीमाटी, पोखरा, बुटवल, नेपालगन्ज र अत्तरियाका ठुला तरकारी बजारमा तरकारीका नमुना सङ्कलन गरी विषादीको अवस्था जाँच गर्दै आएको छ । त्यसो त देशका विभिन्न सीमा नाकाका १२ ठाउँमा समेत विषादी परीक्षण हुँदैआएको छ । त्यति हुँदाहुँदै पनि विषादीयुक्त तरकारी बजारमा बेचिन छाडिएको छैन । कुन तरकारी विषादीयुक्त छ, कुन तरकारी विषादीमुक्त छ भन्ने अनुमान उपभोक्ताले लगाउन सक्ने विषय होइन । नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर तरकारीमा विषादी परीक्षण गरिआए पनि त्यसले विषादीयुक्त तरकारी बिक्री वितरणमा कुनै प्रभाव पार्न सकेको देखिँदैन । तरकारी बजारमा मध्यरातमै तरकारी सङ्कलन भई खुद्रा बिक्रेता हुँदै बिहानसम्ममा उपभोक्ताको भान्सामा पाकिसकेको हुन्छ । त्यसपछि प्राप्त हुने विषादी प्रयोगको प्रतिवेदनले उपभोक्ताको स्वास्थ्यमा पार्ने प्रभाव न्यूनीकरण कसरी गर्ला ? प्रयोगशालाका कर्मचारी बिहान ६/७ बजे पुगेर बजारबाट नमुना सङ्कलन गरी विषादीको रोकावट दर परीक्षणले भान्साको विषादी समस्या समाधान गर्न सक्दैन । त्यसका लागि मध्यरातमै बजारमा प्रयोगशालाका कर्मचारी पुग्ने र तत्कालै परीक्षण गरी विषादीयुक्त तरकारी बजार पुग्न रोक्नुपर्ने हुन्छ ।

धादिङ जिल्लाबाट फागुन १८ गते काठमाडौँ कालीमाटीस्थित तरकारी बजारमा भित्रिएको ब्रोकाउलीको नमुना परीक्षणमा खान नमिल्ने विषादीको मात्रा भेटिएको विषयले उपभोक्तालाई अझ गम्भीर बनाएको छ । प्राविधिक हिसाबले विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ । तथापि, फागुन १८ को परीक्षणले अर्गानोफन्टफेट नामक विषादीको अवशेष ७० प्रतिशत भेटिएको थियो । काठमाडौँ उपत्यका भित्रिने तरकारीमध्ये ब्रोकाउली, गोलभेँडा, काउली, पाटेसिमी र रायो सागमा खान नहुने विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाको अध्ययनमा देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारको प्रयोगशालामा आर्थिक वर्ष २०८०/८१ को फागुन २२ गतेसम्म गरिएका ७१९ वटा नमुना परीक्षणमा १२ वटामा नष्ट गर्नुपर्ने र चार वटामा केही दिन राखी पुनःपरीक्षण गर्नुपर्ने विषादीको अवशेष भेटिएको थियो । यस्तो डरलाग्दो तथ्याङ्कले सहजै प्रश्न उठ्छ, के हाम्रा भान्सा सुरक्षित छन् ? विभिन्न भागबाट कालीमाटी, पोखरा, बुटवल, सर्लाही जस्ता तरकारी बजारमा तरकारी सङ्कलन हुँदैगर्दाकै अवस्थामा नमुना सङ्कलन र विषादी विश्लेषणको व्यवस्था गर्न सके मात्र विषादीयुक्त तरकारी तत्काल नष्ट गर्न सकिने छ । अन्यथा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला केवल जागिरे अड्डाका रूपमा मात्र सीमित रहने अवस्था हुन्छ । 

नेपालमा स्वास्थ्य उपचार महँगो छ । त्यसमाथि जटिल खालको रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ । यस्तो स्थितिमा विषादीले निम्त्याउने स्वास्थ्य जोखिमबाट नागरिकलाई बचाउनु राज्यको प्रमुख कर्तव्यसमेत हो । नेपालमा हाल १६५ प्रकारका विषादी दर्ता भएर प्रयोगमा छन् । तरकारी, फलफूल तथा अन्नबालीमा विषादी प्रयोग गर्नै नहुने भन्ने पनि होइन । तथापि, रोग तथा किरा नियन्त्रणका लागि विकल्प नभएका पनि होइनन् । एकीकृत शत्रुजीव व्यवस्थापन, पर्माकल्चर, प्राङ्गारिक विषादीको प्रयोग जस्ता विकल्प पनि खेतीमा नभएका होइनन् । तथापि, रासायनिक विषादी प्रयोग गर्नु परेको अवस्थामा समेत यसको सुरक्षित प्रयोग अति संवेदनशील विषय हो । प्रयोगकर्ता किसान, वरपरका बासिन्दा र उपभोक्ता विषादीको बढी जोखिममा रहन्छन् ।

 विषादी प्रयोगको व्यवस्थापनमा कमजोरी भएमा सबैभन्दा पहिलो प्रयोगकर्ता प्रभावित हुन्छन् । विषादीको प्रभाव छाला, श्वासप्रश्वास र आँखाबाट छिटो फैलन्छ । त्यसैले विषादीको प्रयोगलाई गम्भीर छलफल र सचेतनाको विषय बनाइनु पर्छ । त्यसका लागि जिल्ला र स्थानीय तहमा रहेका कृषि कार्यालय, प्राविधिकमार्फत किसानसम्म विषादी व्यवस्थापन विषयमा जानकारी दिनु आवश्यक छ । यस कार्यमा कृषि ज्ञान केन्द्रका दक्ष प्राविधिकलाई कृषि क्षेत्रमा पु¥याइनु पर्छ । विषादीको प्रयोगकर्तालाई नै विषादीका विषयमा बढी सचेत र जिम्मेवार बनाउन आवश्यक छ ।