चितवन, फागुन २२ गते । आदिवासी जनजातिको भाषा, संस्कृति प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिने भएको छ । आगामी चैत ९ गतेदेखि १८ गतेसम्म नारायणी नदी किनारामा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो ।
आदिवासी जनजाति महासङ्घको आयोजनामा हुन लागेको महोत्सवको तयारी भइरहेको आज यहाँ पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । महोत्सवमा तीन सय प्रदर्शनी कक्ष रहने छन् । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महासङ्घ चितवनका अध्यक्ष एवम् मेलाका संयोजक महेन्द्र दुराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हो । यसले भरतपुर भ्रमण वर्षको प्रवर्द्धनमासमेत टेवा पुर्याउने लक्ष्य लिएका छौँ ।” महोत्सव अवधिमा दैनिकजसो १७ वटा जातीय सांस्कृतिक प्रदर्शनी हुने छन् । चितवनमा हाल ४० आदिवासी जनजाति समुदायको बसोबास रहेको सो अवसरमा जानकारी दिइयो । तीन लाख ३२ हजार भन्दाबढी आदिवासीको बसोबास रहेको चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवले आदिवासी संस्कृतिको संरक्षणसँगै पहिचानमासमेत सहयोग पुग्ने उहाँको अपेक्षा छ ।
महोत्सव दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र एक करोडको कारोबार हुने लक्ष्य लिइएको छ । चितवनको कूल जनसङ्ख्याको ४६ प्रतिशत आदिवासी जनजातिको जनसङ्ख्या छ । चितवनमा थारु, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरुङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बराम लगायतका जनजाति छन् ।
चितवनमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायको जातिगत गतिविधिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नका लागि पनि महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । चितवन र आसपासका क्षेत्रभित्रका सांस्कृतिक विविधताको संरक्षण गरी समग्र जिल्लाकै आर्थिक, सामाजिक, पर्यटन, कृषि, घरेलु उद्योग, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्नको लागि पनि महोत्सवले मुख्य भूमिका खेल्ने विश्वास लिइएको छ ।
सांस्कृतिक जागरणसँगै विभिन्न जातजाति, वर्ग र समुदायबिच सद्भाव एवम् भ्रातृत्व अभिवृद्धिका लागि पनि ठुलो योगदान पुग्ने महासङ्घका सल्लाहकार पदम गुरुले बताउनुभयो । महोत्सव सम्पन्न गर्न करिब ८० लाख खर्च हुने अनुमान छ । रासस