• १५ वैशाख २०८१, शनिबार

पदस्थापना भएका नयाँ शिक्षक तीन वर्षसम्म एकै विद्यालयमा बस्ने नियम

blog

सिमकोट गाउँपालिकाको कार्यालय ।

राजन रावत

हुम्ला फागुन २१ गते । शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण भई पदस्थापना भएर आउने नयाँ शिक्षकहरूले कम्तीमा पनि तीन वर्ष पदस्थापना भएको विद्यालयमा बस्न पर्ने नियम लागु गरिएको छ । नयाँ पदस्थापना भएर आउने शिक्षक परीक्षण कालको समय नकाटेरै बिचैमा सरुवाका लागि गाउँपालिकामा सहमति पत्र माग्ने क्रम बढेपछि गाउँपालिका शिक्षा समिति यस्तो निर्णय गरेको हो ।

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले अब गाउँपालिका भित्रका विद्यालयहरूमा नयाँ पदस्थापना भएर आउने शिक्षकहरूले कम्तीमा पनि पदस्थापना भएको विद्यालयमा तीन वर्ष बस्नै पर्ने निर्णय गाउँपालिका शिक्षा समितिले गरेको बताउनुभयो । हुम्लाको नाममा शिक्षक जागिर खाने तर विद्यालयमा पदस्थापना भएको छोटो अवधिमै सरुवा भएर जानका लागि गाउँपालिका शिक्षा शाखाको सहमति खोज्ने प्रवृति बढेपछि शिक्षा समिति यस्तो निर्णय गर्न पुगेको उहाँले बताउनुभयो । 

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायव सुब्बा कृष्ण प्रसाद आचार्यले शिक्षा सेवा आयोगको परीक्षामा सफल भएर जिल्लामा नयाँ पदस्थापना भएर आउने शिक्षक थोरै समय बसेर जिल्ला बाहिर सरुवाका लागि सहमति पत्र लिन ठुलै सोर्सफोर्स लगाउने कार्यले विद्यालयमा पठनपाठन प्रभावित हुन थालेपछि त्यसलाई रोक्न पदस्थापना भएको मितिले कम्तीमा तीन वर्ष विद्यालयमा बस्नै पर्ने बाध्यात्मक व्यवस्था गरिएको बताउनुभयो । उहाँले जागिर खानका लागि पिछडिएको क्षेत्रबाट नाम निकाल्ने तर नाम निक्ली सकेपछि आफूलाई पायक पर्ने वा आफ्नै जिल्लामा जाने प्रवृति रोक्नका लागि पनि यो निर्णय अति आवश्यक रहेको बताउनुभयो । 

अघिल्लो वर्ष आयोगको परीक्षा उत्तीर्ण गरेर आएका चार जना मध्य तीन जना हाल आफ्नो जिल्लामा फिर्ता भई सक्नुभएको छ । जसको कारण विद्यालय रिक्त दरबन्दीमा चल्दै आएका छन् । यसवर्ष पनि आयोगको परीक्षा उत्तीर्ण गरेर प्रावि तहमा दश जना र निमावि तहमा चार जना शिक्षक पदस्थापना भएर आउँदै छन् । उहाँले नयाँ पदस्थापना भएर आउने शिक्षकहरूका लागि यो नियम लागु हुने बताउँदै यसमा शिक्षा क्षेत्रमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । 

पिछडिएको क्षेत्र जागिर खाने खुड्किलो भएको तर जागिर भइसकेपछि विद्यालय छा्ट्ने कार्यले विद्यालयहरू जहिल्यै पनि रिक्त दरबन्दीमा परिणत हुने भएको कारण पनि केही कडै नियम लागु गरिएको बताउनुभयो । नयाँ पदस्थापना भएर आउने शिक्षकहरू परीक्षण काल पुरा नगरी दुई देखि आठ महिनामात्र विद्यालयमा बस्ने गरेको विगतमा देखिन्छ ।