• १५ वैशाख २०८१, शनिबार

बिटिआइको शैक्षिक विकास र स्तरोन्नति गर्न केयूसँग उपमहानगरपालिको पहल

blog

बिटिआइ र काठमाडौं विश्वविद्यालयका उपकुलपतिसहितको टिम छलफलपछि सामूहिक तस्बिरमा । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन २१ गते । बुटवलको शैक्षिक विकास, विस्तार र स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिकाले थप पहल थालेको छ । 

उपमहानगरपालिकाले काठमाडौं विश्वविद्यालयसँग सहकार्यको तयारी गरेको हो । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रो.डा भोला थापासहितको एक टोलीलाई उपमहानगरपालिकामा स्वागत समेत गरेको छ । स्वागतपछि आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल शिक्षामा अब्बल बन्दै गइरहेको र विद्यार्थीको सङ्ख्या बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआइ ) र काठमाडौं विश्वविद्यालयका बिचमा सहकार्य र समन्वय गरेर नयाँ विषय पठनपाठन गर्न सकिने बताउनुभयो । 

बिटिआइमा स्नातक तहमा टनेल इन्जिनियरिङ, रिभर इन्जिनियरिङ, आईटी, मेटल, ढलोट, अटो, विषयहरुमा सहकार्य र समन्वय गर्न सकिने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा व्यावहारिक युनिभर्सिटी बनाउन आवश्यक छ । टिकाउ, व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

"विद्यार्थीका लागि आवश्यक विषय समयले स्थापित गर्छ । निम्न आय भएकालाई हामीले बढी प्राथमिकतामा राख्न चाहन्छौैँ," पाण्डेयले भन्नुभयो । सो अवसरमा बोल्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रो.डा. भोला थापाले शिक्षामा काठमाडौं विश्वविद्यालय र बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

बिटिआइको थप सम्भावना, सञ्चालन मोडलको विषयका बारेमा आफूहरुको चासो रहेको भन्दै सबैको सहकार्यमा काम गर्न सकिने बताउनुभयो । थापाले भन्नुभयो, "बुटवलसँग पुरानो सम्बन्ध छ, बिटिआइमा विद्यार्थी बढाउन जरुरी छ, नेपालमा बस्न भन्दा विदेश जान थाले देशैभर विद्यार्थी कम छन् । नयाँ कार्यक्रम ल्याउनुपर्छ, सहकार्य गर्नुपर्ने, अहिले लुम्बिनी बौद्ध विश्वविद्यालय, मधेश विश्वविद्यालय, गण्डकी विश्वविद्यालयसँग पनि सहकार्य गरेका छौँ ।"

उपप्रमुख सावित्रा अर्यालले बुटवल शिक्षाको हव बनेको र  टेकिनकल शिक्षमा नया योजनामा सहकार्य गर्नुपर्ने बताउनुभयो । बुटवल उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष उज्जवल कसजुले शिक्षामा लगानी बढाउनुपर्ने बताउनुभयो । बुटवलमा इन्जिनियरिङको विकासमा यसको योगदान रहेको उल्लेख गर्नुभयो । 

बिटीआइका कार्यालय प्रमुख अमिमन्यू पन्थीले बिटिआइलाई बलियो साथ र अपग्रेडिङ गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्मका सबै तालिम सफल भएको र कोही बेरोजगार नरहेको उल्लेख गर्नुभयो । उहाँले ६३ उद्योगसँग सहकार्य भएको छ र एक सय प्रतिशत रोजगार भएको दाबी गर्नुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार तिलक आचार्यले बिटीआइको लोगो काफी रहेको भन्दै नेपालमा भन्दा बिदेशमा यस्को महत्व बढी रहेको आफूले पाएको बताउनुभयो । उहाँले नगरपालिकाले एक चरण लगानी गरेर अब नयाँ ढङ्गले सञ्चालनका लागि जस्लाई दिए पनि हुने उहाँको धारणा छ ।

सामुदायिक प्राविधिक शैक्षिक संस्था बिटिआइ सन् १९६३ मा युनाइटेड मिसन टु नेपाल (युएमएन) को नर्वेका इन्जिनियर ओड होफ्टनको नेतृत्वमा स्थापना गरिएको हो । प्राविधिक प्रशिक्षणको लागि बिटिआईको स्थापना भएको र अहिले उत्पादन–आधारित चारवर्षे प्रशिक्षण कोर्षमा अध्ययन भैरहेको छ । यहाँ पुरानो संस्था बिटिआइले मेकानिकल, इलेक्ट्रिकल, सिकर्मी र वेल्डिङ तथा महिला कौशल विकास कार्यक्रम जस्ता विशेष समुदाय–आधारित पाठ्यक्रमहरू पनि प्रदान गरिरहेको संस्थाले जनाएको छ ।