• १६ भदौ २०८१, आइतबार

शान्ति प्रक्रिया चाँडै टुङ्गोमा पुग्नेछ: मन्त्री शर्मा

blog

दाङ, फागुन २१ गते । सञ्चार तथा  सूचना प्रविधि मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले शान्ति प्रक्रिया चाँडै टुङ्गोमा  पुग्ने बताउनुभएको छ ।

माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयोजना गरेको कार्यक्रममा उहाँले शान्ति प्रक्रियालाई जसरी पनि टुङ्गोमा पुर्‍याउने बताउनुभएको  हो । अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने भएकाले प्रधानमन्त्री यसमै केन्द्रित भएर अघि बढेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

अर्को प्रसङ्गमा पार्टीले हालै गरेको विधान अधिवेशनबाट हरेक समिति निर्वाचित गर्ने निर्णय भएको जानकारी गराउँदै उहाँले पार्टी पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्थामा पुगेको स्पष्ट गर्नुभयो । पार्टी नेतातिर होइन, जनतातिर फर्कनुपर्ने उल्लेख गर्दै उहाँले पुराना नेता कार्यकर्ताको सम्मान र नयाँलाई प्रोत्साहन गरेर लैजानुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय समितिहरू नै पार्टीका आधार भएकाले स्थानीय पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताउनुभयो । वडा तहसम्म पार्टी कार्यालय स्थापना गरेर पार्टी व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज निर्मल आचार्यले स्थानीय स्तरका जनसरोकारका काम स्थानीय पार्टी कमिटीले गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि स्थानीय नेता कार्यकर्ताको क्षमता विकास गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीले चाल्ने कदमको दृढतापूर्वक कार्यान्वयन गर्न पनि सबै कार्यकर्तालाई निर्देशन दिनुभयो ।