• ११ मंसिर २०८१, मङ्गलबार

दैनिक जीवनमा नैतिकता

blog

उच्च स्तरको नैतिकता भएको व्यक्तिले कठिन परिस्थितिमा पनि नैतिक सिद्धान्तमा अडिग रही काम गर्ने सम्भावना हुन्छ भने नैतिकताको तल्लो तहमा रहेको व्यक्तिले अनैतिक काम गर्ने सम्भावना हुन सक्छ । विभिन्न संस्कृति र समाजमा नैतिकता सापेक्षिक हुन सक्छ । परिणामवाद जस्ता केही नैतिक सिद्धान्तले निश्चित कार्य, सन्दर्भ वा संस्कृतिका कारण नैतिक रूपमा सही वा गलत हुन्छन् भन्ने दाबी गर्छ । त्यसैले, नैतिकता सापेक्षिक शब्द हो कि होइन भन्ने पनि बहसको विषय बनेको छ ।

सामान्यतया, नैतिकताको तहले व्यक्ति वा संस्थाको प्रतिष्ठा, सम्बन्ध र सफलतामा महत्वपूर्ण प्रभाव पार्न सक्छ । यो व्यक्तिगत र व्यावसायिक जीवनमा विचार गर्नुपर्ने महत्वपूर्ण विषय हो । सामाजिक रूपमा निर्धारित सही वा गलतभन्दा पनि अनैतिक मार्ग अनन्त सुखको यात्रा हुनै सक्दैन ।

मानिस सधैँ नैतिक हुन सक्दैन । कहीँ न कहीँ त ऊ चुकेकै हुन्छ तर कम्तीमा हामी यसलाई स्वीकार गरेर अगाडि बढ्न सक्छौँ । सधैँ आफूलाई चोखो छु भनेर साबित गर्नुपर्ने जरुरत नै किन प¥यो ? आफ्नो ख्याति, पद, शक्ति र पैसाको प्रयोग गरेर अनैतिक कार्यबाट बच्न खोज्नेहरू पनि नदेखिएका होइनन् । 

हामीकहाँ दैनिक जीवनयापनका गतिविधि जस्तै उपयोगिताको बिल तिर्नु, सडकमा सवारी चलाउनु, अस्पताल जानु जस्ता सरल कुरा पनि उच्च नैतिकताका आधारमा गर्दा चुनौतीपूर्ण हुन सक्छन् । अर्थात् विदेशको जस्तै गर्न खोज्दा झमेलाहरू बेहोर्नु पर्ने हुन सक्छ । यसको कारक अव्यवस्थित प्रणाली नै हो । सांस्कृतिक, सामाजिक र वातावरणीय सन्दर्भमा ध्यान दिएर सचेत र जिम्मेवारीपूर्वक काम गर्न र जिउन यहाँ कठिन हुने गरेको हो । यस्ता अभ्यासहरूका बारेमा कुरा गरौँ, जसले आमजनतालाई असर गरेको छ । 

नेपालमा यति धेरै राजनीतिक चेतना देखिन्छ कि घरघरमा विश्वकै राजनीति थाहा भए जसरी कुरा हुन्छ । लगभग सबैले सजिलैसँग आफूले भोट दिएर जिताएका नेतालाई गाली गर्छन् । ती राजनीतिज्ञहरू वास्तवमा आफ्नै प्रतिविम्ब हुन् भन्ने कुराको हेक्का भने छैन । कुरा गर्दै जाँदा केही न केही दोष गाली गर्नेको पनि देखिन्छ । कसैले प्राध्यापक भएर आफ्नो छोराछोरीका लागि भारतबाट प्रमाणपत्र ल्याएका छन्, अनि फेरि अनुत्तीर्ण भएको आफन्तका छोराछोरीलाई पास गराउन अङ्क थप्ने काम गरेका छन् । कसैले पैसा ख्वाएर हुन्छ कि भनसुन गरेर आफ्नो काम गराएका छन् । ‘जस्तो देश त्यस्तै भेष त गर्नै प¥यो नि’ भनेर फेरि आफैँ ठुलो स्वर गरेको पनि सुनिन्छ । 

बागमती, विष्णुमती र अन्य धेरै नदीको प्रदूषणले पानीको गुणस्तर र यस क्षेत्रमा बसोबास गर्ने मानिसको स्वास्थ्यका साथै जलीय जीवन र नदीको सांस्कृतिक र धार्मिक महत्वमा महत्वपूर्ण नकारात्मक प्रभाव पारेको छ । ती नदीहरूले वर्षौंदेखि तिनीहरूको वरपरका क्षेत्रलाई स्वच्छ पानीको स्रोत उपलब्ध गराउँदै आएका थिए । यद्यपि, प्रभावित मानिस पानी प्रदूषित गर्ने क्रसर/ढलको अव्यवस्थित प्रयोगबारे आवाज उठाउन असमर्थ छन् । नेपालको बागमती नदी सफा अभियानमा थुप्रै धनराशि खर्च हुँदा पनि खासै कुनै महत्वपूर्ण काम भएको देखिँदैन । 

राजनीतिक रूपमा समर्थित अनैतिक काम गर्नेहरू नेपालमा एउटा ठुलो चिन्ताको विषय हो । यी यस्ता व्यक्ति वा समूहहरू हुन्, जसले राजनीतिज्ञहरू र राजनीतिक दलहरूसँग सम्पर्क राख्छन् र यो सम्बन्धलाई जवाफदेहिताबिना आफ्नो स्वार्थका लागि प्रयोग गर्छन् । यस्ता कामले विधिको शासन र लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयतालाई कमजोर पारेर समाजमा महत्वपूर्ण नकारात्मक प्रभाव पार्न सक्छन् । तिनीहरूले स्वतन्त्र अभिव्यक्ति र राजनीतिक सहभागिता साथै आर्थिक विकासमा पनि प्रभाव पार्न सक्छन् ।

कतिपय सरकारी कार्यालयमा सजिलै काम गर्न र गराउन कठिन छ । जब कार्यालय परिसरमा प्रवेश गरिन्छ, भर पर्नका लागि कुनै सोधपुछ गर्ने ठाउँ हुँदैन । फेरि विभिन्न तहका कर्मचारीबाट हस्ताक्षर गराउनका लागि आफ्ना कागजातहरू बोकेर ढोकाढोका वा झ्यालझ्यालमा घुम्नुपर्ने स्थिति छ । त्यो कार्यका लागि एक जना कर्मचारीको नियुक्त गर्न सके प्रभावकारी रूपमा काम हुने देखिन्छ ।

सरकारी कार्यका लागि निवेदन लेख्न सर्वसाधारणलाई पनि लगभग असम्भव छ । उच्च शिक्षित/साक्षरहरूका लागि पनि कठिन पर्छ । त्यसैले, कार्यालय क्लर्क (लेखनदास) ती कामहरूका लागि धेरै महत्वपूर्ण हुन सक्छ । यद्यपि, दर्ता भएका लेखनदासको पहिचान गर्न गाह्रो छ र त्यसमाथि पनि तिनीहरूको पारिश्रमिकको कुनै आधिकारिक दरहरू छैनन् ।

अन्य ठाउँ जस्तै अस्पतालमा पङ्क्ति मिच्नु नेपालमा धेरै सामान्य छ । यदि तपाईं यसलाई नैतिकतापूर्वक त्यहाँको प्रणाली अनुरूप विशेष गरी वृद्ध बिरामीहरू र गम्भीर अवस्था भएकाहरूलाई प्राथमिकता दिएर गर्न चाहनुहुन्छ भने सामान्य जाँचका लागि पनि पूरा दिन लाग्न सक्छ । फेरि आफ्नो पालो कुरी पङ्क्तिमा बस्दा विदेशी हुन खोजेको भनी टिप्पणी सुन्ने मात्रै होइन हास्यास्पद पात्र होइन्छ । आमजनताको आपत्कालीन अवस्था छ भने कष्ट भोग्नुबाहेक कुनै विकल्प हुँदैन । आपत्कालीन ओछ्यान प्रबन्ध गर्नका लागि पनि भनसुन चाहिन्छ ।

सडकमा हिँड्दा पैदलयात्रीले जेब्रा क्रसिङ प्रयोग गरेर राम्ररी बाटो काट्दा पनि कुर्न नसकिने अवस्था छ । व्यस्त क्रसिङहरूमा पैदलयात्रीको पङ्क्ति लगभग कहिल्यै समाप्त हुँदैन । यदि नैतिकताको पालना गर्दै पर्खिरहने हो भने दैनिक गतिविधिहरू सम्पन्न हुन लगभग असम्भव छ । ट्राफिक लाइटहरूले यो समस्या समाधान गर्न मद्दत गर्न सक्छ तर भएका ट्राफिक लाइट प्रायः मर्मतको कमीको कारणले काम गर्दैनन् । मर्मतको कमी देशका सबैजसो क्षेत्रको व्यापक समस्या हो । चीनको सहयोगमा स्थापित ट्रली बस जस्तो सेवा डुब्नु यसको ज्वलन्त उदाहरण हो ।

नेपाल सरकारको अनिवार्य सेवा कार्यक्रम अन्तर्गत दुई वर्षका लागि नयाँ चिकित्सा स्नातकलाई दुर्गम क्षेत्रमा पठाउने नीति छ । ग्रामीण र सहरी क्षेत्रबिच स्वास्थ्यकर्मीको वितरणमा क्षेत्रीय भिन्नतालाई सम्बोधन गर्ने यसको उद्देश्य छ तर यसको कार्यान्वयन पनि प्रभावकारी हुन सकेको छैन । यस्तै नियामक निकायको मिलेमतोमा मापदण्ड पूरा नगरी अस्पताल, क्लिनिक, चिकित्सा प्रयोगशाला र औषधी पसल खोल्ने गरिएका घटना पनि सार्वजनिक भएको पाइन्छ । यीबाहेक भारतबाट नक्कली शैक्षिक/व्यावसायिक प्रमाणपत्र ल्याउने, उत्तीर्ण हुन परीक्षकलाई प्रभाव पार्ने, कर छली गर्नेलगायतका अनैतिक अभ्यासहरू पनि भइरहेका सुन्नमा पाइन्छ ।

यी मुद्दाहरूलाई सम्बोधन गर्न सरकार, नागरिक समाज, निजी क्षेत्र र व्यक्तिहरू समावेश भएको व्यापक र बहुपक्षीय दृष्टिकोण आवश्यक छ । यसमा प्रभावकारी नीति र कानुनी ढाँचा, भ्रष्टाचारविरुद्ध लड्ने संस्था र संयन्त्र तथा शिक्षा र चेतना अभिवृद्धि कार्यक्रम समावेश हुनु पर्छ । यसले बलियो लोकतान्त्रिक संस्था र कानुनको शासनको निर्माणमा मद्दत गर्छ ।