काठमाडौँ, फागुन २१ गते । मानिस, पशुपन्छी र कृषि उत्पादनको अन्तर्राष्ट्रिय स्तरमा हुने आवातजावत र ओसारपसारले कृषि तथा पशुपालनको क्षेत्रमा ठुला र डरलाग्दा समस्या ल्याएको छ । खुला सीमा र कमजोर क्वारेन्टाइन (चेकजाँच) का कारण नेपालमा त्यस्ता सङ्क्रमणको जोखिम बर्सेनि बढिरहेको छ ।
यस्तो समस्या रैथाने जातमा नदेखिए पनि पछिल्लो समय वर्णशङ्कर (हाइब्रिड) जातको बाली, बोटबिरुवा र पशुमा देखिने गरेको छ । विदेशबाट भित्र्याइएका बाली तथा पशुपन्छी र माछामा रोग किराको सङ्क्रमण बढ्दो रूपमा देखा परिरहेको छ । पशु चिकित्सक मणिप्रसाद सापकोटाले समयमै सावधानी अपनाउन नसक्ने हो भने किसानले ठुलो क्षति बेहोर्नुपर्ने बताउनुभयो ।
कृषि र पशुमा यसअघि नदेखिएका रोग, किरा र सङ्क्रमणले किसान समस्यामा परेका छन् । आधुनिक खेती प्रणालीको विकाससँगै हाइब्रिड बिउको प्रयोग र पशुमा नयाँ जातको विकासका लागि आयात बढेसँगै विभिन्न मुलुकबाट छिरेका नयाँ सङ्क्रमण र रोगले किसानले ठुलो क्षति बेहोर्नु परेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत दीपकप्रसाद पौडेलले विश्वका विभिन्न मुलुकबाट पशु र खेती प्रणालीलाई ध्वस्त पार्ने खालका रोग भित्रिएको बताउनुभयो । उहाँले नेपालमा विभिन्न कालखण्डमा विश्वका विभिन्न स्थानबाट सङक्रमण फैलिएको जानकारी दिनुभयो ।
सङ्खेकिराको आतङ्क
पछिल्लो समय अफ्रिकी प्रजातिका ठुला सङ्खेकिराका कारण नेपाली किसानले क्षति बेहोरेका छन् । नेपालको धेरै जिल्लामा त्यस्ता सङ्खेकिराको प्रकोप छ । पहिले कहिल्यै नदेखिएका ठुला आकारका सङ्खेकिराले खेतीबाली सखाप पारेपछि सल्यानको शारदा नगरपालिका–६, बरलाका किसानले सङ्खेकिरा नियन्त्रणको माग राखेर नगरपालिकामा निवेदन दिनु परेको थियो । यस्ता ठुला आकारका सङ्खेकिरा नेपालका रैथाने होइनन् ।
सन् १९३० देखि १९४० को अवधिमा धेरै मुलुकबाट नेपालमा खानेपानीका लागि पाइप भित्र्याइएको थियो । खानेपानीक योजनाका लागि ठुला पाइप विदेशबाट भित्र्याउँदा पाइपभित्र पसेर त्यस्ता सङ्खेकिरा आएको हुन सक्ने अनुमान गरिएको छ । चिसो समयमा जमिनमुनि लुक्ने सङ्खेकिरा गर्मीयाममा बाहिर निस्कने गर्छ । यो किराले एक पटकमा एक हजार छ सय अण्डा पार्ने भएकाले छिटो फैलिने गर्छ । सङ्खेकिराले अन्नबाली उम्रिनेबित्तिकै नष्ट गर्छ ।
कत्लेकिराको प्रकोप
पहाड र तराईका जिल्लाका किसान सङ्खेकिराले आक्रान्त बन्दा उच्च पहाडी र हिमाली जिल्लाका किसानको बगानको स्याउमा कत्लेकिराको प्रकोप बढेको छ । सन् १९६२ यता कत्लेकिराको प्रकोपले किसानले हैरानी बेहोरिरहेका छन् । शीतोष्ण बागबानी विकास केन्द्र मार्फा, मुस्ताङका निमित्त प्रमुख पद्मनाथ आत्रेयले कत्लेकिरा स्याउको मुख्य हानिकारक किरामा पर्ने बताउनुभयो ।
विदेशबाट आएको कत्ले किराको रङ हल्का पहेँलो, सानो चेप्टो र गोलाकारको हुने गर्छ । यसले स्याउको हाँगाबिगा, फल र फूल दुवैमा आक्रमण गर्ने गर्छ । कत्लेकिराको सङ्क्रमण भएका बोटका हाँगामा खरानी दलेको जस्तो देखिने र कलिला हाँगा ओइलिँदै गएर अन्तिममा रुख नै मर्छ । स्याउ उत्पादन हुने क्षेत्रमा यस्ता विदेशी रोगले बर्सेनि रोग, किराको सङ्क्रमण देखिँदा क्रमशः उत्पादन घटिरहेको स्पष्ट पार्नुभयो । उहाँले जनावर र मानिसमा लिखा, जुम्रा परे जस्तै स्याउमा लाग्ने यो किरा सबैभन्दा ठुलो शत्रु रहेको जानकारी दिँदै यस्तो रोग लागेको स्याउको फल पनि राम्रो नहुने र बिक्री नै नहुने समस्या बढ्ने बताउनुभयो ।
आलुमा दादे सङ्क्रमण
माटोमा समेत आलु कुहिने दादे सङ्क्रमणले नेपाली किसानले हैरानी बेहोरिरहेका छन् । हिमाल, पहाड र तराई तीनै क्षेत्रमा उत्पादन हुने आलुमा यो समस्या देखा परेको छ । सङ्क्रमणले आलुको बजारीकरणमा समस्या र उत्पादनमा १० प्रतिशतसम्म गिरावट आउने गरेको छ । सुन्तला जात फलफूलमा औँसाको माध्यमबाट नोक्सान पुग्न थालेको ४० वर्ष भएको छ । २०४२ सालबाटै सुरु भएको यो सङ्क्रमण पछिल्लो १० वर्षमा झनै विकराल भएको छ । सुन्तला जात फलफूल खेती हुने नेपालको पहाडी जिल्ला सङ्खुवासभा, धनकुटा, रामेछाप, सिन्धुली, तेह्रथुम, काभ्रेपलाञ्चोक, गोरखा, पाँचथरमा ब्याक्ट्रोसेरा मिन्याक्स प्रजातिको झिँगाले समस्या पारिरहेको छ । यो सन् २०१४ मा नेपाल प्रवेश गरेसँगै नेपाली किसानले ठुलो क्षति बेहोरेका छन् । सुन्तला जात फलफूल खेती गर्ने किसानका लागि जटिल समस्याका रूपमा देखा परेको छ ।
बाली संरक्षण अधिकृत कृष्ण धितालले सुन्तला जातका फलमा औँसा पारी कुहिने जटिल समस्याका रूपमा देखा परेको बताउनुभयो । यसको फैलावट उच्च बिन्दुमा पुगेको उहाँले जानकारी दिनुभयो । यो नेपालको स्थानीय रोग होइन । सन् २०१६ बाट फैलिएको गोलभेँडाको पात खस्ने समस्या टुटा किराको कारणले भएको पुष्टि भएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार यो समस्याका कारण नेपाली किसानले ठुलो क्षति बेहोरेका छन् ।
नेपालमा पछिल्लो समय मकै र कोदोमा समेत अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । सन् २०१९ मा नै नेपाल भित्रिएको यसले सबैभन्दा धेरै क्षति मकैमा पारिसकेको छ ।
पशुपालनमा पनि समस्या
कृषि क्षेत्रमा मात्रै होइन । पशुपालन र कुखुरापालनमा पनि देशी रोगले समस्या पारिरहेको छ । पशुपालनको क्षेत्रमा सबैभन्दा धेरै क्षति पारेको ‘लम्पी स्किन’ रोगको सङ्क्रमण अफ्रिकामा मात्रै सीमित रहेकोमा सन् २०१२ पछि युरोप, एसिया, काजकिस्तान, भारत हुँदै नेपालमा २०७७ सालमा प्रवेश गरेको हो । २०७९ साल चैतदेखि हालसम्म नेपालका ७७ जिल्लामै पुग्यो । जसका कारणले अर्बौं रुपियाँको आर्थिक क्षति र हजारौँ पशु मरेका छन् । अझै पनि यो सङ्क्रमण शून्यमा झरेको छैन ।
नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोज शाहीले नेपालको पशुपालनको क्षेत्रमा ‘लम्पी स्किन’ को सङ्क्रमणले सबैभन्दा ठुलो क्षति पु¥याएको जानकारी दिनुभयो ।