• १२ साउन २०८१, शनिबार

पार्टी सङ्गठन चुस्त बनाउनेगरी काम गर्न अध्यक्ष ओलीको सुझाव

blog

एमाले अध्यक्ष केपी शर्मा ओली नवनिर्वाचित कैलाली अध्यक्ष यज्ञराज ढुंगानालाई मिठाई खुवाउनुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जिल्लामा पार्टी सङ्गठन चुस्त बनाउनेगरी काम गर्न आग्रह गर्नुभएको छ । एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानासहित पदाधिकारी तथा नेताहरूसँग आफ्नै निवास बालकोटमा कुरा गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । 

कैलालीमा पार्टी सङ्गठन बनाउने जिम्मेवारी नवनिर्वाचित पदाधिकारी र सदस्यको जिम्मेवारी भएको सुझाव दिनुहुँदै उहाँले पार्टी सङ्गठनलाई एकताबद्ध र सुदृढ बनाई अघि बढ्न सुझाव दिनुभएको नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो । कैलाली जिल्ला थारु बहुल जिल्ला भएकाले थारु, त्यहाँका दलित तथा पछाडि परेका वर्ग समुदायको हितलाई ध्यान दिएर काम गर्न अध्यक्ष ओलीले निर्देशन दिनुभएको उहाँले जानकारी गराउनुभयो । 

“अहिले कैलालीमा साङ्गठनिक अवस्था चुस्त नरहेकाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यले त्यसमा बहुतै ध्यान दिएर अघि बढ्नु होला । आगामी निर्वाचन मिसन ८४ सफल पार्नेगरी गतिविधि र योजना बनाउनु होला” अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई भन्नुभयो । 

सो अवसरमा नवनिर्वाचित कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानाले पार्टी सङ्गठनलाई चुस्त बनाउने आफ्नो पहिलो प्राथमिकता भएको विश्वास दिलाउनुभयो । भाषणभन्दा आफू काममा केन्द्रित हुने विश्वास अध्यक्ष ओलीलाई दिलाएको उहाँले जानकारी दिनुभयो । 


सोहीअनुसार अध्यक्ष ढुङ्गानाले आजै महासचिव शङ्कर पोखरेलसँग पनि परामर्श गर्नुभएको छ । महासचिव पोखरेलले पनि पार्टी सङ्गठनको कामलाई प्राथमिकता दिएर काम गर्न सुझाव दिनुभएको छ । चुनावमा जाँदा हारजित हुने र तिक्ततासमेत हुने भए पनि सबैलाई मिलाएर सन्तुलित तवरबाट पार्टीको गतिविधि सञ्चालन गर्न सुझाव दिनुभएको अध्यक्ष ढुङ्गानाले बताउनुभयो । 

सो क्रममा आफूले नेताहरूसँग परामर्श गरी सल्लाह र सुझावअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएको र कैलाली सङ्गठनलाई चुस्त बनाउने विश्वास दिलाएको बताउनुभयो । आफ्नो प्रमुख लक्ष्य पार्टी बनाउने भएकाले काम गरेर देखाउने प्रतिबद्धता जनाएको ढुङ्गानाले बताउनुभयो । अध्यक्ष ढुङ्गानाले प्रतिस्पर्धी डेजी पाण्डेय र दुर्गाप्रसाद जोशीलाई नवौँ अधिवेशनमा पराजित गर्दै कैलाली अध्यक्षमा निर्वाचित हुनुभएको हो । 


अध्यक्ष ओलीले नवनिर्वाचित अध्यक्ष ढुङ्गानालाई निर्वाचित भएको खुसीमा मिठाई खुवाउनुभएको थियो । भेटमा पार्टी पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश ठगुन्ना, प्रदेश कमिटी सदस्य तीर्थ भट्टराईको पनि सहभागी हुनुहुन्थ्यो ।