• १६ भदौ २०८१, आइतबार

सौन्दर्यकरण गरिँदै चक्रघट्टी बसपार्क

blog

चक्रघट्टी बसपार्क क्षेत्रमा सौन्दर्यकरणका लागी काम गरिदै । तस्विरः बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, फागुन २० गते । वराहक्षेत्र नगरपालिकाले पुरानो बजार चक्रघट्टीलाई सौन्दर्यकरण गर्न सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ६ मा रहेको चक्रघट्टी बजारको बसपार्क क्षेत्रमा सौन्दर्यकरणको काम सुरु गरेको हो । सुनसरी जिल्लाको उत्तरी क्षेत्रमा साबिकका वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाविस मिलेर बनेको वराहक्षेत्र नगरपालिकाकै पुरानो बजार हो चक्रघट्टी ।

 वराहक्षेत्र नगरकै पुरानो चक्रघट्टी बसपार्कको सौन्दर्यकरण सुरु भएपछि पुरानो चक्रघट्टी बजारको मुहार फेरिने भएको छ । 

चक्रघट्टीको मुनाल चौकदेखि महेन्द्र गेटसम्म नाला, सडकसहितका सौन्दर्यकरणको लागि सङ्घीय सरकारको क्रमागत बजेटको एक करोडबाट काम सुरु गरिएको छ । 

नगरको प्रशासनिक केन्द्र चक्रघट्टीमै रहेकाले बजार क्षेत्रमा हुने चहलपहल र सौन्दर्यकरणले बजार क्षेत्र राम्रो देखिने भएको वराहक्षेत्र उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष तुलसी श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार पालिकाले आर्थिक वर्ष ०८०÷८१ भित्रै काम सक्नेगरी बसपार्क क्षेत्रमा इन्टर्लक लगाउने काम सुरु गरेको छ । नगरपालिकाबाट विनियोजित २० लाख रकम र स्थानीय उपभोक्ताबाट तीन लाख ३७ हजार बेहोर्ने गरी निर्माण समिति बनेर काम सुरु गरेको वडाध्यक्ष उद्धव पोखरेलले बताउनुभयो । 

बसपार्क क्षेत्रमा पाँच हजार पाँच सय ५० स्क्वायर फिट क्षेत्रमा एम ४० क्वालिटीका ब्लक र ८७ दशमलब ८७ कर्ब स्टोनको प्रयोग गरेर उपभोक्ता समितिले काम गर्ने सम्झौता भएको छ ।

 सम्झौता अनुसारै समितिले काम सुरु गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । 

बसपार्क क्षेत्रमै रहेको पुरानो काठको चौतारो (फलैँचा) क्षेत्रलाई मिनिपार्क बनाउन उपभोक्ता समिति लागे पनि बजेट अभावका कारण हाललाई काम अगाडि बढाउन नसकिएकोे निर्माण उपभोक्ता समितिका सचिव गोपाल घिमिरेले बताउनुभयो ।

 उहाँका अनुसार मिनिपार्कमा पस्ने गेटसहित स्टील रेलिङ् लगाउने गरी काम सुरु गरिए पनि बजेट अभावले गर्दा गे सहित स्टील रेलिङकाे काम सम्पन्न गर्न सकिएन । 

गेटसहित स्टील रेलिङका लागि दाताहरुको खोजी गरिरहेको समितिका अध्यक्ष वीरबहादुर राईले जानकारी दिनुभयो ।

 मिनिपार्क योजनाभन्दा बाहिर भए पनि बसपार्कको बिचमा रहेको चौतारो क्षेत्रलाई सौन्दर्यकरण गर्न लागिपरेको सचिव घिमिरेले बताउनुभयो । बसपार्क क्षेत्रमा रहेका वर र पीपलका रुखलाई रङ्गीन ब्लक हालेर आकर्षक रुपमा घेरिने भएको छ । 

चक्रघट्टी बसपार्कबाट दैनिक दुई दुई घण्टाका फरकमा धरान, झुम्का, चतरा, प्रकाशपुर जाने यात्रु बसहरु चल्दै आएका छन् । चक्रघट्टी बाट २०४२ सालदेखि नै यात्रुबस चल्दै आएका छन् । 

हालको चक्रघट्टी बसपार्कमा २०५३ सालदेखि बस चल्दै आएको निर्माण उपभोक्ता समितिका सचिव गोपाल घिमिरेले बताउनुभयो । 

बसपार्क क्षेत्रमा हेलोङ्गि लाइट र सिसि क्यामेरा जडानका लागि नगपालिकासँग माग गरेको निर्माण समितिले जनाएको छ ।