बागलुङ समाचारदाता
बागलुङ, जेठ ४ गते । स्थानीय तहका मातृ तथा नवजात स्वास्थ्य हेर्ने स्रोतव्यक्तिलाई रक्तस्राव रोक्ने र महिलाको ज्यान बचाउनेसम्बन्धी तालिम प्रदान गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय र धवलागिरि प्रादेशिक अस्पतालको आयोजना तथा फेयरमेड र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा सञ्चालित स्वास्थ्यकर्मीलाई सुत्केरीको ज्यान बचाउने ‘कन्डम टेम्पोनेड’ विधि सिकाइएको छ । धवलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारी, स्त्रीरोग विशेषज्ञ डा. विजय ओझा, नर्सिङ अधिकृत देवी भट्टराई, मिलन बरुवाल र अजिता सिलवालले तालिममा सहजीकरण गर्नुभएको थियो । तालिममा सुत्केरीलाई कसरी बचाउन सकिन्छ भन्ने ‘कन्डम टेम्पोनेड’ विधिबारे घटना अभ्याससमेत गरिएको थियो ।
बागलुङका १० पालिकाका स्वास्थ्य शाखा प्रमुख, मातृ तथा नवजात स्वास्थ्य हेर्ने स्रोतव्यक्ति र बर्थिङ सेन्टरका अनमीसमेतको तालिममा सहभागिता रहेको थियो । तालिमको पहिलो चरणमा १५ जनाले ‘कन्डम टेम्पोनेड’ विधिबारे जानकारी प्राप्त गरेको अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत देवी भट्टराईले जानकारी दिनुभयो । तालिममा सुत्केरी अवस्थामा रगत बगेमा ‘कन्डम टेम्पोनेड’ विधिबाट रक्तस्राव रोक्न सकिने र त्यसपछि सुविधासम्पन्न अस्पताल पठाएर उपचार गरी निको बनाउन सकिने प्रोटोकलबारे स्वास्थ्यकर्मीलाई जानकारी दिइएको डा. किरण तिवारीले बताउनुभयो ।
यो विधि प्रयोग गरेर ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा कार्यरत नर्स पार्वती अर्यालले यसअघि नै ४२ महिलाको ज्यान बचाइसक्नुभएको छ । ‘कन्डम टेम्पोनेड’ विधि स्वास्थ्यकर्मीमाझ लैजाने, सबै गर्भवती र प्रसूति भएका महिलाले पनि उपयोग गर्न सक्ने गरी प्रचारप्रसार गर्न घटना अभ्यास गराइएको डा. विजय ओझाले बताउनुभयो । सुत्केरी महिलाको रक्तस्राव भएमा कन्डममा पानी भरेर पाठेघरमा राख्दा रक्तस्राव रोकिन्छ ।
यो विधिबारे सबैलाई थाहा नभएको, भएकाले पनि उपयोग नगरेकाले तालिममार्फत जानकारी पुगेको विश्वास गरिएको छ । डा. ओझाले भन्नुभयो, “यो विधिमार्फत गरिने उपचारले सुत्केरीको सहजै ज्यान बचाउन सकिन्छ ।” प्रसूतिको समयमा रगत बगेको रोक्न नसके सुत्केरीको छोटो समयमै निधन हुने खतराबाट बचाउन यो विधि प्रयोगमा ल्याउने गरिएको छ । यस विधिका कारण अत्यधिक रक्तस्राव भएका महिलालाई २४ घण्टासम्म रोक्न सकिने सो समयमा बिरामीलाई सुविधासम्पन्न अस्पतालमा लगेर बचाउन सकिने डा. ओझा बताउनुहुन्छ ।