राधा लुइटेल
फिदिम, जेठ ३ गते । अङ्क र अक्षर लेख्न नसकेको भन्दै पाँच वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिका सुमित्रा सेन्दाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फिदिम नगरपालिका–१४ मा सञ्चालित लुङरुपा बोर्डिङ एकेडेमीकी शिक्षिका सेन्दाङले गत बुधबार एलकेजीमा अध्ययनरत साढे चार वर्षीय छात्र सेसेफुङ नेम्वाङलाई ढाडमा १८ भाटा हानेको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो।
कुटपिटका कारण घाइते बालकको ढाडभरि निलडाम देखिएको तस्बिर र समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई शनिबार नियन्त्रणमा लिएको हो।
पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले नियन्त्रणमा लिइएकी शिक्षिकाउपर बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको बताउनुभयो। पक्राउ परेकी शिक्षिकालाई आइतबार पाँचथर जिल्ला अदालतमा हाजिर गराएर अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
बालक कुटपिटको घटना सार्वजनिक भएपछि शिक्षिकालाई पक्राउ गर्न दबाब बढेको थियो। विद्यालय प्रशासनले घटनापश्चात् शिक्षिकालाई निलम्बन गर्नुका साथै बालकको उपचार खर्च बेहोर्ने जनाएको छ।