• १६ भदौ २०८१, आइतबार

सुर्खेतमा पहिलो महिला सम्मेलनको आयोजना

blog

कार्यक्रमबारे जानकारी दिनुहुँदै वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकाल । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, फागुन २० गते ।  वीरेन्द्रनगर सुर्खेतमा प्रदेशकै पहिलो महिला सम्मेलनको आयोजना गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले सोमवारबाट वीरेन्द्रनगरमा महिला सम्मेलनको आयोजना गर्न लागेको हो । आयोजक नगरपालिका वीरेन्द्रनगरले अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ । सम्मेलनको उद्घाटन नेपालका प्रथम पूर्व महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ ।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरू सहभागी हुनेछन् । १ सय १४ औं श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । 

प्रमुख ढकालका अनुसार कार्यक्रममा मुख्यगरी उपप्रमुख/उपाध्यक्षले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरूको अनुभव आदानप्रदान गरिनेछ । ‘कार्यक्रममा प्रदेश सरकार, प्रदेश सभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरूलाई पनि निमन्त्रणा गरिसकेका छौं,’ ढकालले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर भन्नुभयो, ‘अन्तर पार्टी महिला सञ्जाल सुर्खेत, शिक्षक महासङ्घ, नगर शिक्षक महासंघ विभिन्न सङ्घ संस्थाहरूसँग छलफल गरेर प्रतिनिधित्व पठाइदिन अनुरोध गरिसकेका छौं । कार्यक्रममा प्रदेशभरबाट करिब एक हजार जना सहभागी हुने नगरपालिकाले जनाएको छ ।