• ४ जेठ २०८३, सोमबार

कांग्रेसले प्राथमिक निर्वाचनमार्फत उम्मेदवार तय गर्ने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ ४ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्राथमिक निर्वाचन गरेर स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार तय गर्ने घोषणा गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजले ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ शीर्षकमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उम्मेदवार चयनको विधि र मापदण्ड तय गरिने बताउनुभएको हो । 

उहाँले सम्बन्धित कार्यसमितिले उम्मेदवार तय गर्ने अधिकार सुनिश्चित गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “उपसभापति पुष्पा भुसाल नेतृत्वको इलेक्सन ब्युरोमार्फत हामी पहिलो पटक प्राइमरी निर्वाचन गरेर पारदर्शी ढङ्गले उम्मेदवार छान्दै छौँ । अब काठमाडौँ महानगर प्रमुख को हुने भन्ने कुरा पार्टी सभापतिले खल्तीबाट झिकेर तोक्न नपाउने व्यवस्था गरिने छ । यसको एउटा प्रक्रिया हुन्छ ।”

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको नीति तथा अनुसन्धान प्रतिष्ठानले ऊर्जा, शिक्षा, स्वास्थ्य, कानुन, व्यापारसहितका विषयमा संवाद अघि बढाएर विस्तृत अवधारणा बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँले स्थानीय सरकार प्रमुखलाई बोलाएर पार्टीको विचार, स्रोत र विज्ञसँग छलफल गर्ने जानकारी दिँदै प्रदेशको बजेट बनाउने र अनुशासन कायम गर्नेबारे प्रशिक्षित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै व्यक्तिगत स्वार्थ राखेर आएको होइन । मेरा अग्रजले जसरी २० औँ वर्ष जेल र निर्वासन भोगेर पार्टी र प्रजातन्त्रका लागि त्याग गर्नुभयो, म त्यही पदचाप पछ्याउन चाहन्छु । मलाई तपाईंहरूको मार्गदर्शन र विश्वास चाहिएको छ । नैतिक पुनर्जागरण सबैभन्दा महत्वपूर्ण कुरा हो । यदि यो काम गर्न सकियो भने अरू बाँकी कुराहरू आफैँ सम्बोधन हुँदै जाने छन् ।”

महामन्त्री प्रदीप पौडेलले लोकतान्त्रिक विधिका पक्षमा कांग्रेसले सरकारलाई खबरदारी गरिरहने बताउनुभयो । साथै उहाँले पार्टीभित्र नेता कार्यकर्ता व्यवस्थापनको विधिभित्र रहेर गरिने प्रस्ट पार्नुभयो । 

संविधानविद् डा. विपीन अधिकारीले कांग्रेसलाई सैद्धान्तिक जग बलियो बनाउन सुझाव दिनुभयो । उहाँले दलभित्र लोकतन्त्र चाहिने र दलभित्रको लोकतन्त्र धेरै पहिले अवरुद्ध भएको टिप्पणी गर्दै बल्ल यस विषयमा बहस सुरु भएको बताउनुभयो । 

कूटनीतिज्ञ शम्भुराम सिम्खडाले भूराजनीतिक परिवेश दृष्टिगत गरेर परराष्ट्र नीति सञ्चालनलाई सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो । उहाँले परराष्ट्र नीतिमा असन्तुलन भए नेपालको आन्तरिक राजनीति र आन्तरिक स्वार्थलाई प्रभावित गर्ने बताउनुभयो । कार्यक्रममा समाजका अध्यक्ष कुलचन्द्र वाग्लेलले कांग्रेसलाई सैद्धान्तिक र वैचारिक रूपमा सशक्त बनाउनका लागि संस्थाले नीतिगत बहस गरिरहेको र सोही अनुसार पार्टीलाई सुझाव दिइने बताउनुभयो । कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसी, प्राडा हरिदर्शन श्रेष्ठ, डा. सावित्री थापा गुरुङ, नगरपालिका सङ्घ अध्यक्ष भीमप्रसाद ढुङ्गाना, समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, समाजका पूर्वअध्यक्ष हरिहर दाहालसहित प्रबुद्ध वर्गका अगुवाले कांग्रेसको वैचारिक सङ्कट समाधान गर्न प्रजातान्त्रिक विचार समाजले विमर्श अघि बढाउनुपर्ने बताउनुभयो । 

सहमतिमा संविधान संशोधन

यसैबिच  सभापति थापाले संविधानको आधारभूत संरचनामा असर नपर्ने गरी संशोधन प्रक्रिया अघि बढाउन प्रस्ताव गर्नुभएको छ । 

कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिले आइतबार सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसद्मा रहेका दल सम्मिलित सर्वदलीय समिति बनाएर सहमति जुटाउनुपर्ने बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले कांग्रेस संसदीय व्यवस्था र सङ्घीयताप्रति पूर्ण प्रतिबद्ध रहेको र यसभित्र सन्तुलन मिलाएर अघि बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ र प्राध्यापक कृष्ण खनालले संविधान संशोधनका सन्दर्भमा अझै बृहत् विमर्श आवश्यक रहेको बताउनुभयो । उहाँहरूले निर्वाचन 

प्रणालीमा सुधार, प्रदेश संरचनाको खर्च कम गर्ने, अधिकार सम्पन्न र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँहरूले दलित र उत्पीडितका हक, न्यायपालिकामा सुधारसहितका विषयमा छलफल गरेर सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।