• १६ भदौ २०८१, आइतबार

शीतभण्डार र जुस उद्योग प्रयोगविहीन

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, फागुन २० गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४, दोभानटारमा एक दशकअघि निर्माण गरिएको जुनार शीतभण्डार र जुस उद्योग प्रयोगविहीन अवस्थामा रहेका छन् । 

सम्बन्धित निकायको बेवास्ताका कारण जापानी दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शीतभण्डार र नेपाल सरकारको सार्वजनिक निजी साझेदारीको मोडेलमा जुस उद्योग वर्षौंदेखि निर्माणाधीन छ । 

शीतभण्डार सञ्चालक समितिका अध्यक्ष दीपक कोइरालाका अनुसार जुनार र भुइँकटहरलाई लक्षित गरी निर्माण गरिएको उक्त शीतभण्डार कच्चा पदार्थको अभावमा प्रयोगविहीन अवस्थामा रहेको हो । उहाँले भन्नुभयो, “जुनार उत्पादन कम हुनु र जुनारको मूल्य उच्च भएकाले पनि प्रयोगमा ल्याउन नसकिएको हो । अहिले उक्त शीतभण्डार एउटै कम्पाउन्डमा निर्माण गरिएको जुस उद्योगलाई ३० वर्षका लागि लिजमा दिएका छौँ ।” 

लिजमा दिएको पनि १० वर्ष बितिसकेको र अहिले जुस उद्योग सञ्चालक समितिले चाँडै चलाउने तयारी गरिरहेको उहाँले बताउनुभयो । “अहिले उनीहरूले अध्ययन गरिरहेका छन् । सम्भवतः अबको एक महिनामा निष्कर्षमा पुग्छन् होला,” उहाँले थप्नुभयो । उहाँका अनुसार जुनार भण्डारणलाई लक्षित गरी उक्त भवन एक करोड रुपियाँको लागतमा २०६६ सालमा बनेको हो । 

उक्त लागतमध्ये जापानी राजदूतावासको अनुदान ६० लाख रुपियाँ र बाँकी रकम तत्कालीन जिविस, गाविस र जुनार उत्पादक किसानबाट जुटाइएको हो । ३६० मेट्रिक टन क्षमताको उक्त शीतभण्डार सुरुका दुई वर्ष प्रयोगमा आए पनि त्यसपछि प्रयोगमा नआएको सञ्चालकको भनाइ छ । शीतभण्डार भवन जुस उद्योग कम्पनीले सञ्चालन गर्ने भनी सम्झौता भएको र उक्त उद्योग निर्माण पूरा नहुँदै आफँै अलपत्र परेकाले शीतभण्डार प्रयोगमा नआएको देखिएको स्थानीय बताउँछन् ।

उता सरकार, उद्योगी र किसानको समेत लगानी जुटाउने गरी कुल छ करोड रुपियाँको लागतमा सिन्धुलीगढी जुनार तथा फलफूल प्रशोधन कम्पनीले निर्माण सुरु गरेको जुस उद्योगको अवस्था पनि उस्तै छ । उद्योग वाणिज्य महासङ्घमार्फत आउने सरकारी अनुदान रोकिँदा उक्त उद्योग अधुरो रही अलपत्र अवस्थामा रहेको सञ्चालकको गुनासो छ ।

करोडौँको लगानीमा निर्माण भएका संरचना शीतभण्डार र जुस उद्योग आँखाअगाडि नै खेर गइरहेको गोलन्जोर गाउँपालिका–४ का जुनार किसान राजन ठकुरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सुरुमा ती दुवै संरचना निर्माण सुरु हुँदा आफ्नै गाउँठाउँमा उद्योग स्थापना भयो भनेर जुनार किसान खुसी र उत्साही थिए । अहिले प्रयोगविहीन बनेर अलपत्र छ । के भएको हो, बुझ्नै सकिएको छैन ।”

उद्योग वाणिज्य महासङ्घको ‘एक गाउँ, एक उत्पादन’ परियोजना अन्तर्गत पाँच कट्ठा जमिन क्षेत्रफलमा उक्त जुस उद्योग निर्माण सुरु गरिएको सञ्चालकले बताएका छन् । उनीहरूका अनुसार उद्योग वाणिज्य महासङ्घले हात झिकेपछि सरकारले दिने अरू करिब दुई करोड रुपियाँ रोकिँदा उक्त उद्योग निर्माण अलपत्र बन्न पुगेको हो । उद्योग वाणिज्य महासङ्घमा सुरज वैद्यको नेतृत्व हुँदा उक्त परियोजना आई निर्माण सुरु भएको थियो । “उक्त उद्योग निर्माणका क्रममा अहिलेसम्म सरकारको करिब दुई करोड रुपियाँ अनुदान र किसानको लगानीसमेत गरेर चार करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ,” जुस उद्योग सञ्चालक समितिका सदस्य पनि रहनुभएका दीपक कोइरालाले भन्नुभयो, “भौतिक संरचना निर्माण कार्य पूरा भइसकेको छ । अहिले भवन र ग्रेडिङ मेसिन मात्रै रहेको छ । जुस उत्पादन गर्ने मेसिनहरू पूरा भएका छैनन् ।”