• १ वैशाख २०८१, शनिबार

जलेको अनुहार [कथा]

blog

“ऊ आइ डढुवा”–पसलतिर आइरहेकी आशातर्फ इङ्गीत गर्‍यो पसलेले । उसले टाढैबाट सुनिहाली । एकाएक छाँगाबाट खसे झैँ भई । उसको मन चुक घोप्टिए झैँ अमिलिएर आयो । मैले कसको के बिगार गरेको छु र ? बिनाकारण नै अपहेलनाको सिकार भइरहेछु । उपहासको पात्र भइरहेछु । पलपल मुटु छेड्ने व्यङ्ग्य खप्न बाध्य भइरहेछु ? ऊभित्र भीषण कोलाहल मच्चिन थाल्यो, “हे ईश्वर ! यो सहरले मलाई किन यति बिध्न बैरी सोचिरहेछ ? यो सहरलाई किन मेरो सास पनि गन्हाइरहेछ ? मेरो अनुहार जल्यो त यसमा मेरो के दोष ?”

जुन दिनदेखि उसको अनुहार जल्यो । उसका सारा खुसीहरू जले । रहरहरू जले । इच्छा, आकाङ्क्षाहरू जले । हराभरा संसार जलेर खरानी भयो । यही अनुहारको कारण उसले धेरै सास्ती खेपेकी छे । हन्डरहरू खाएकी छे । घृणाका वर्षाहरू सहेकी छे । उसलाई आफ्ना आँखाबाट तेजाबहरू बर्सिएको भान हुन्छ । आफ्नै शरीरबाट लास झैँ दुर्गन्ध निस्किएको आभास हुन्छ । मानौँ  कि ओछ्यानमा पल्टिँदा उसले ओढ्ने होइन, कात्रो ओढेकी छे । ऊ बाँचेर पनि मरेतुल्य छे । अनुहार जलेदेखि ऊ राम्ररी निदाउन सकेकी छैन । ऊ हरेक रात मिठो निद्राका लागि तड्पिन्छे तर निदाउन सक्दिन । हे ईश्वर, एक झप्को निद्रा देऊ, आरामले सुत्न पाउँ । सुन्दर सपना देख्न पाउँ !–ऊ बर्बराउँछे । कहिलेकाहीँ निदाउँछे तर उसका सपनामा साथीसँगीका झैँ फूलका बगान, झरनाहरू आउँदैनन् । वायुपङ्खी घोडामा सवार भएर कुनै राजकुमार आउँदैनन् । उसका सपनामा मात्र उराठ लाग्दा बगरहरू आउँछन् । डरलाग्दा गुफाहरू आउँछन् । जहाँ हुँडारहरू हुँकार्छन् । क्रुद्ध सर्पहरू फुकार्छन् ।

उसले मध्यम स्तरको शिक्षा हासिल गरेकी थिई तर यही जलेको अनुहारको कारण कसैले पनि आफ्ना कार्यालयमा रोजगारी दिएन । बालुवा चाल्छु, रोडा बोक्छुभन्दा पनि ठेकेदारले उसलाई काम दिएन ।

एक पटक ऊ गाडी चढेर कतै जान खोज्दै थिई । उसले गाडीलाई हात दिई । ड्राइभरले रोक्दै नरोकी किचौँला झैँ गरी गाडी हुइँक्यायो । तिर्खाले आँत खङ्गरङ्ग भएर एउटा होटेलमा पानी मागेकी थिई । “पानी माग्न पनि कस्ता कस्ता मान्छे आउँछन्, छैन पानी,” होटेलवाला जङ्गियो ।

मागेर खान उसको आत्माले मानेको त थिएन । तर सारा प्रयास विफल भएपछि पापी पेटको सामु कायल भएर ऊ मन्दिरको पेटीमा बसेर माग्न बाध्य भई । “हजुर दुई चार पैसा दिनुस् न !” उसले हात पसारी ।

“छि छि, कस्ती कुलङ्गानी, अलच्छिनीलाई देख्नु पर्‍यो,” मन्दिर जाँदै गरेकी एउटी सभ्रान्त महिलाले जिब्रो टोकी । सरासर मन्दिरको खुड्किला चढ्न थाली । “हजुर दया गर्नुस्” उसले पुनः अर्काे भद्र भलादमीसँग हात पसारी । उसलाई आशा थियो–कसैले त केही दिन्छ । “चुप लाग चुडेल्नी, कस्ताको अनुहार देख्नुप¥यो, दिनभरि लोदर लाग्ने भयो,” भद्र भलादमी रिसले आगो भयो । ऊ ईश्वरलाई प्राप्त गर्न मन्दिरतिर गइरहेका आफूलाई तिखा वचनले घोच्ने भद्र भलादमीहरूको अनुहार हेर्छे जो निकै शिक्षित झैँ देखिन्छन् । ऊ महाकविको कविताको हरफ सम्झिन्छे, ‘फर्क फर्क हे जाउ समाउ, मानिसहरूको पाउ, मानिस भई ईश्वरको त्यो दिव्री मुहार हँसाउ ।’

यिनीहरूले के पढेछन् त–ऊ गम्भीर सोचमा डुब्छे ।

यतिखेर जुन अनुहार जलेर हरर चलचित्रको नायिकाको झैँ छ, त्यो अनुहारभित्र कुनै एउटा रुपमतीको अनुहार थियो । न काली, न गोरी, साँवली वर्णकी सर्प गुँडुल्किए झैँ केश राशी, वनदेवीको हँसिया झैँ आँखीभौँ, सुडौल नाक, मृगका झैँ आँखा, ऊ कामदेवकी स्त्री रति झैँ देखिन्थी । बनाउनेले पनि फुर्सदमा बनाए झैँ । उसको स्वर पनि त्यति नै कर्णप्रिय र सुमधुर थिए । उसले टुक्का गाँसेर झ्याउरे, हाकपारे गाउन थालेपछि समय बितेको पत्तै पाइँदैन थियो । उसको गायनदेखि पूरै गाउँ मन्त्रमुग्ध थियो ।

ऊ अतीततर्फ फर्की :

माध्यमिक तह उत्तीर्ण गरेपछि पल्ला गाउँबाट उसलाई हेर्न आए । केटाको नाम थियो–सिद्धान्त । सिद्धान्त पहिलो हेराइमा नै उप्रति आकर्षित भयो । अग्लो, हाट्टकट्टा, अनुहारमा चम्किरहेको भव्य व्यक्तित्व सिद्धान्तलाई आशाले पनि मन पराइ । अन्ततः दुवै जना विवाह बन्धनमा बाँधिए ।

गाउँमा धेरै जनाले आशा र सिद्धान्तको जोडीलाई आरिस गर्थे । उनीहरूको जोडीको उदाहरण दिन्थे । भन्थे–उनीहरूको जोडी मधु मालतीको जस्तो । मुना मदनको जस्तो । लाल हिरा, तोता मैनाको जस्तो । राम सीता, राधा कृष्णको जस्तो । उनीहरू वन बुट्यान, मेलापात, पानी पँधेरो सँगैसँगै जान्थे । घामसँगै बेँसी र जुनसँगै रोधी एकैसाथ हुन्थे । सिद्धान्त खेत खन्थ्यो, आशा डल्ला फोर्थी । जिल्याउँथी । ऊ बाउसे गथ्र्यो, ऊ रोप्थी । आलीमा बसेर दोपहरको खाजा कोप्वाँरे खाँदै सिद्धान्त आशालाई हेर्दै गाउँथ्यो, “मेरो माया कतिमा कति, भरुँ भने तिम्रो माया नौमुरी तिल जति ।”

अतीतलाई सम्झिँदै जाँदा आशाका आँखाबाट सहस्र धारा आँसु चुहिन थाले । “नरोउ बहिनी, रोएर केही हुनेवाला छैन, बरु भन तिम्रो यो गति कसरी भयो,” पाटीमा उसँगै बसेर माग्दै आएकी धनमायाले सोधी ।

“भो दिदी म त्यो दिन सम्झिन चाहन्न, त्यो दिन सम्झिँदा पनि छाती छिया छिया भएर आउँछ” आशाका आँखाबाट बलिन्द्र धारा आँसु छुट्न थाले । “त्यसो नभन बहिनी, आफ्ना दुःख, पीडाहरू अरूलाई सुनायो भने बोझ हल्का हुन्छ” धनमायाले  सम्झाइ । “त्यो काहालीलाग्दो दिन सम्झिँदा पनि अत्याँस लागेर आउँछ । आङै जिरिङ्ग भएर आउँछ,” आशा अतीततिर फर्किइन । 

“दसैँ आउन लागेको थियो । म झिसमिसेमा अँगेनाको छेउमा बसेर चिउरा कुट्नलाई धान उमाल्दै थिएँ । एकाएक मलाई के ले छोप्यो के ले छोप्यो थाहै भएन । त्योभन्दा पहिला पनि मलाई त्यसरी नै छोप्थ्यो । त्यसपछि मेरो घाँटीदेखिको माथिल्लो भाग आगोको भुङ्ग्रोमा परेछ । भतभती मासु डढेको धुँवा आउन थालेपछि सासूले चाल पाइछन् । उनले अँगेनामा पानी हालेर मलाई निकालिछिन् । डोकोमा बोकेर राजधानीको अस्पताल पु¥याइएछ । केही दिनपछि होसमा आए । आफ्नो अनुहार गायब भएको पाउँदा मलाई त अजिङ्गरले निले झैँ भयो । मैले अनुहार छामे, मासु थिएन हड्डी मात्रै थियो, नाक नक्सा थिएन । त्यतिखेर मलाई पृथ्वी भरका सबै पहाड आएर किचे झैँ भयो । आकाश खसेर थिचे झैँ भयो । नदी बग्न छोडे झँै भयो । हावा बहन छोडे झँै भयो । आफ्नो जीवन डरलाग्दो अँध्यारो सुरुङतिर प्रवेश गरे झैँ लाग्यो,” आशा हिक्का छोडेर रुन थाली ।

“समाल बहिनी आफूलाई,” धनमायाका आँखा पनि रसाउन थाल्यो, “त्यसपछि के भयो ?” “त्यसपछिका यात्राहरू कति कष्टकर थिए, बयान गरेर साध्य नै छैन । मेरो पाखुरा र तिघ्रामा अहिले पनि खत छन् । कहिले मेरो पाखुराको छाला र मासु, कहिले तिघ्राको छाला र मासु निकालेर डाक्टरले मेरो अनुहारमा मासु र छाला भर्ने काम गरे । डाक्टरहरूको वर्षौंको प्रयासपछि मेरो अनुहार यतिको भयो । अस्पतालबाट डिस्चार्ज भएर घर आएँ । गाउँघर पनि मेरा निम्ति सहज थिएन । गाउँमा एउटा विवाह घरमा रत्यौली घन्किरहेको थियो । मैले आफूलाई सम्हाल्न सकिन रत्यौली हेर्न गएँ । सबैको ध्यान मेरो अनुहारतिर मोडियो । रत्यौलीको माहोल स्तब्ध भयो । मेरो दाइले मलाई देखे ।

“भाग घर गइहाल” दाइले बैरीलाई झैँ मुटु छेड्ने गरी भने । म रुँदै फरक्क फर्किएँ । कोठामा बसेर गकल्छ्याएर रुन थाले, “हे मैले कसको के बिगार गरिदिएको थिएँ र यति कठोर सजाय दियौ ।”

यत्तिकैमा जब कोठाको ऐनामा आफ्नो बिरुपाक्ष रूप देखे । मेरो दिमाग खलबलियो । लोहोरोको झट्टी हानेर सिसा फुटाइदिए, ‘झर्याम्म’

सुरु सुरुमा त सासूससुराले सम्झाउँथे, “पिर नलेउ दुलही, हामी छौँ ।”

तर एकदिन सासूले ससुरासँग कुरा गरेको मेरो कानले सुनिहाल्यो, “यो मुकुण्डोलाई कसले लगेर दोबाटोमा मन्साइ देला ।”

श्रीमान्ले पनि सुरु सुरुमा त सान्त्वना नै दिन्थे, “आत्तिनु पर्दैन, म तिमीलाई धोका दिन्न ।”जब उनी घर आएको दिनबाट बहाना बनाएर छुट्टै खाटमा सुत्न थाले, “त्यही दिनदेखि उनी पर पर भएको शङ्का लागिसकेको थियो । नत्र ज्वरो आउँदा पनि किर्ना टाँसिएझैँ टाँसिने लोग्ने अर्कै खाटमा सुत्थे ? उनी पनि औसत पुरुष रहेछन् । उनले मलाई होइन, मेरो छालालाई मात्र प्रेम गरेका रहेछन् । वासनालाई मात्र प्रेम सोच्ने । वासनाका वेगहरू सम्हाली नसक्नु भएछ क्यारे, एकरात पाँच मिनेटको निम्ति मेरो ओछ्यानमा आएका थिए । शिथिल भएलगत्तै फेरि अर्कै खाटमा गएर सुते ।”

आशाका बुहार्तन, मुटु खाने व्यथाहरू सुनेपछि धनमाया हतप्रभ भई । लामो सुस्केरा हाली, “हो रहेछ बहिनी प्रायः पुरुषहरूका निम्ति महिला भनेका खाली सुन्दर देह मात्र रहेछ । यदि उसले साँचो माया गर्दो हो त अर्को विवाह नै गर्दैन थियो । भावीको लेखान्त कसैलाई थाहा हुँदैन । धनमाया क्रोधित मुद्रामा आई, “तिमीलाई उसले यस्तो दुई जिउको अवस्थामा छोड्यो । एकदिन उसलाई पश्चातापले भतभती पोल्ने छ ।”

“राम ! राम ! के उल्का अचम्म ! यस्तो मुकुण्डोलाई पनि कसले आमा बनाइदिएछ ।” मन्दिरको भर्‍याङ चढ्दै गरेको एक जना भद्र भलादमी हाँस्न थाल्यो । यतिखेर आशा आत्तिइन । मुटु दह्रो बनाई । नवजात शिशुलाई सुम्सुम्याउँदै, थपथपाउँदै स्तनपान गराउन थाली । फूल झैँ शिशु आशाको अनुहारमा हेरिरहेको थियो । उसलाई त्यो अनुहार अरूलाई झैँ कुरूप र घिनलाग्दो लागिरहेको थिएन । उसलाई त त्यो अनुहार संसारकै सबैभन्दा सुन्दर अनुहार लागिरहेको थियो । ऊ आशाको काखमा त्यसरी खेलिरहेको थियो । यशोदाको काखमा बालक कृष्ण झैँ । मायादेवीको काखमा बालक बुद्ध झैँ ।