• १२ साउन २०८१, शनिबार

पाललाई हेटौँडा रनको उपाधि

blog

पुरुष हेटौँडा रनका सहभागीहरु । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौँडा, फागुन १८ गते ।  हेटौँडामा आयोजित पहिलो खुला राष्ट्रिय पुरुष हेटौँडा रन प्रतियोगितामा काठमाडौँका मुकेश पाल प्रथम हुनुभएको छ । 

हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा हेटौँडा नगर खेलकुद विकास समितिको व्यवस्थापनमा शुक्रबार भएको खुला राष्ट्रिय पुरुष हेटौँडा रन प्रतियोगितामा पालले निर्धारित पाँच किलोमिटर दुरी १५ मिनेट २२ सेकेण्डमा तय गर्दै उपाधि जित्नुभएको हो ।

९२ जनाको सहभागिता रहेको सो प्रतियोगितामा निर्धारित दुरी १५ मिनेट २४ सेकेण्डमा पार गरी जुम्लाका दुर्गाबहादुर बुढा द्वितीय र १५ मिनेट ३० सेकेण्डमा निर्धारित दुती तय गर्दै काठमाडौँका सञ्जय श्रेष्ठ तृतीय हुनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ६०, ५०, ४० हजार रुपियाँ पुरस्कार पाउनुभएको छ । यस्तै प्रतियोगितामा काठमाडौँका टङ्क कार्की र दाङका नागेश्वर ऐरीले प्रोत्साहन स्वरुप दुई जनालाई जनही १०/१० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । 

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

हेटौँडाको बुद्धचौकबाट सुरु भएर हेटौँडा–५ स्थित पिप्ले पुगेर  पुनः बुद्धचौकमा आई दौड समापन गरिएको थियो । विगतका वर्षमा जिल्ला स्तरीय प्रतियोगितामा हुँदै आएको हेटौँडा रनलाई यो वर्षबाट राष्ट्रिय प्रतियोगिताको रुपमा आयोजना गरिएको हो ।