शेरबहादुर राई
ओखलढुङ्गा, फागुन १६ गते । ओखलढुङ्गाकी १९ वर्षीय सम्झना राईको काठमाडौँमा भएको सडक दुर्घटनामा ज्यान गएको छ । मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्साकी १९ वर्षीय राईको काठमाडौँ महानगरपालिका–६ बौद्ध प्रहरी वृत्त अगाडि भएको सडक दुर्घटनामा ज्यान गएको हो ।
सडक पार गर्ने क्रममा चुच्चेपाटी बाट बौद्धतर्फ आउँदैगरेको बागमती प्रदेश ०२–०३३ प ८६४८ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आएको ना ८ ख १११९ नम्बरको तेल बोक्ने ट्याङ्करले ठक्कर दिँदा राईको घटनास्थलमै ज्यान गएको थियो ।
मोटरसाइकल चालक काठमाडौँ गोकर्णेश्वर बस्ने वर्ष २७ का विवेक श्रेष्ठ र ट्याङ्कर चालक चितवन खैरेनी –१० का डम्बर खड्कालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । बौद्ध तिनचुली बस्दै आउनुभएकी राई पिज्जा हटमा काम गर्दै आउनुभएको थियो ।
बिहीबार साँझ साढे ७ बजे काम सकेर कोठामा फर्किदा सडक पार गर्नेक्रममा दुर्घटनामा पर्नुभएको हो । राईकी ४८ वर्षीया आमा विष्णुमाया राई मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा एक्लै बस्दै आउनुभएको छ । स्नातक तहमा अध्ययनरत सम्झना काठमाडौँमा काम गर्दै आफ्नो अध्ययन र घरमा आमालाई खर्च धान्दै आउनुभएको थियो ।
करिब १६ वर्ष अघि सम्झनाका बुबाको पनि निधन भइसकेको छिमेकी काका राजन राईले बताउनुभयो । “सम्झना घरकी एक्लो सन्तान हुन्” काका राजनले बताउनुभयो ।