• १३ मंसिर २०८१, बिहिबार

अख्तियारमा २४ हजार उजुरी, १६२ मुद्दा दायर

blog

स्थानीय निकायमा सुशासन प्रवर्द्धन कार्यक्रमका सहभागिहरू । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन १६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले बुधबार मोरङको कानेपोखरीमा स्थानीय तहको सुशासन प्रवर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । 

स्थानीय जनएकता बचत तथा ऋण सहकारी संस्था लि.को सभाहलमा भएको कार्यक्रममा बोल्दै आयोगका इटहरी कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर धीर फडेराले गत वर्ष इटहरी कार्यालयमा परेका उजुरीमध्ये ७० प्रतिशत उजुरीको फर्स्यौट भएको जनाउनु भयो । आगामी वर्ष ८० प्रतिशत फर्स्यौटको लक्ष्य रहेको बताउँदै उहाँले २० हजार उजुरीमा अनुसन्धान पछि १६२ वटा उजुरी विरुद्ध मात्र मुद्दा दर्ता भएको बताउनुभयो । 

यस्तै, चालु आवको फागुन १५ सम्ममा १६ हजार भन्दा बढी उजुरी दर्ता भइसकेकोमा एक सय दुई वटा मात्र मुद्दा दर्ता भएको छ । सरकारको उजुरी लिने कार्यालय भएकोले उजुरी लिन्न भन्न मिल्दैन । तर कतिपय उजुरी दुख दिने नियतले गरिएका हुन्छन् । उहाँले दुख दिने नियतले उजुरी दिएको प्रमाणित भए त्यसले क्षतिपूर्ति पाउने समेत व्यवस्था भएकोले अख्तियारमा उजुरी पर्दैमा डराउनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, प्रमाण सहित उजुरी दिए अनुसन्धान प्रक्रिया पनि छिटो अघि बढ्छ । स्ट्रिङ अपरेसनका लागि आयोग जतिबेलै तयार रहेको बताउँदै उहाँले जहाँ भ्रष्टाचार त्यहाँ खबर गर्न आग्रह गर्नुभयो । 

अनुसन्धानको प्रक्रिया लामो र झन्झटिलो भएपनि अख्तियारले दोषी देखिएका कसैलाई पनि नछोड्ने उहाँको भनाइ छ । गत वर्ष इटहरी कार्यालयको कार्यक्षेत्र भित्रका १४ जिल्ला (मधेस प्रदेशका सप्तरी र सिराहा सहित) २ हजार ४०८ दर्ता भएका थिए । जसमध्ये आव २०७९-०८० का १ हजार ४३४ वटा र अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ९७४ वटा उजुरी थिए । तीमध्ये १ हजार ६६४ वटा मुद्दा फर्स्यौट भइसकेका छन् भने ७४४ वटा मुद्दा फर्स्यौट हुन बाँकी छन् । इटहरी कार्यालय अन्तर्गत सबैभन्दा बढी उजुरी सप्तरीबाट ६ सय वटा र सुनसरीबाट पाँच सय २ वटा छन् । 

यस्तै, सबैभन्दा कम उजुरी सिराहाबाट ३ वटा मात्र छन् भने खोटाङबाट १२ वटा छन् । हाल इटहरी कार्यक्षेत्र भित्र कोशी प्रदेशका सोलु, ओखलढुङ्गा र खोटाङ पर्दैनन् भने मधेसको सप्तरीलाई इटहरी कार्यालयले नै हेर्छ । 

कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले कानुनी वा आर्थिक अख्तियार दुरुपयोग गर्नेलाई आस्था र बिचार मिलेकै भरमा उन्मुक्ति दिनु नहुने बताउनुभयो । भ्रष्टाचार मुक्त समाजबाट मात्र असल संस्कृतिको विकास हुने बताउँदै उहाँले स्थानीय स्तरमा भ्रष्टाचार र सुशासनका विषयमा सचेतना फैलाउन सहयोग गर्ने अख्तियार टिम प्रति आभार प्रकट गर्नुभयो । धरै जसो मानिसले कानुन नबुझेर गल्ती गरिरहेको उहाँको भनाइ छ । 

कार्यक्रममा इटहरी कार्यालयका शाखा अधिकृत रमेश सिङ्दनले पछिल्लो २ वर्षको उजुरी र फर्स्यौट भएका उजुरी र कानुनी विषयमा जानकारी गराउनु भएको हो ।