• ५ वैशाख २०८१, बुधबार

अमर प्रेमका त्रिमूर्ति

blog

प्रेमको सबैभन्दा बढी व्याख्या कविहरूले गरे । उनीहरूले प्रेमको अनुभूतिलाई शब्दमा उतारे । त्यसै अनुभूतिलाई चित्रकारहरूले रङ्गका माध्यम क्यानभासमा उतारे । मूर्तिकारहरूले यसै अनुभूतिलाई छिना र घनको सहायताले आकार दिए । कवि–लेखकका प्रेमबारेका विम्ब र वर्णनबाट हामी अभिभूत हुन्छौँ । चित्रकार–मूर्तिकारका प्रेमानुभूति चित्र र मूर्तिमा देख्दा अह्लादित हुन्छौँ । जब चित्रकार–मूर्तिकार नै प्रेममा विलिन हुन्छन्, सायद सिर्जनाम नयाँ रङको आविष्कार हुन्छ । निराकार प्रेमले सायद आकार ग्रहण गर्दछ ।

संयोग तीन शिल्पीहरूको हो, जसको सिर्जना त के सानो हस्ताक्षरको मूल्य मात्र पनि करोडौँको हुन्छ । अनि सौभाग्य चाहिँ यो पङ्क्ति लेखकको हो, जसले ती अमर शिल्पीहरूका कृति मन र आँखाले अघाउँजी हेर्ने अवसर पायो । उनीहरूका सिर्जनाबाट आह्लादित ऊ उनीहरूका प्रेमका कथा पढ्दा–सुन्दा विभोर भयो । शिल्पीहरूप्रति नतमस्तक बन्यो । 

यस आलेखमा ती शिल्पीहरूको चर्चा गर्दै छु, जसका पेन्टिङ र मूर्तिलाई उनीहरूका प्रेमिकाहरूले अलौकिक प्रेमका स्पर्शद्वारा जीवन्त बनाइदिए । प्रेमीले बनाएका सुन्दर क्यान्भास र मूर्तिको प्रेमोत्सर्गद्वारा प्राण प्रतिष्ठा गरिदिए । आफ्ना प्रेमीलाई सिर्जना निम्ति ऊर्जावान् बनाए ।

पेरिसका दुई म्युजियममा मैले यस्तै खयालहरूमा घण्टौँ बिताएको छु । चित्र र मूर्तिहरूका सयौँ तस्बिर खिचेको छु । उनीहरूका सिर्जनामा प्रेमको स्पन्दन अनुभूत गर्ने कोसिस गरेको छु । 

सन् २००० को वसन्तयामतिर पेरिसको रु द भारेनस्थित दरबार झैँ लाग्ने मुजेँ रोदाँ प्रवेश गर्दा मलाई कुनै स्मृतिदंश झैँ एक दशकअघि फ्रान्सेली भाषा पढ्दाताका हेरेको सिनेमा ‘कामिल क्लोदेल’ (सन् १९८८) ले निमोठिरहेको थियो । फ्रान्सका विख्यात अभिनेता जेराँ देपाख्दुको इप्रेसनिस्ट (प्रभाववादी) मूर्तिकार अगस्ट रोदाँ (सन् १८४०–१९१७) र अभिनेत्री इजावेल आद्जानीले कामिल क्लोदेल (सन् १८६४–१९४३) को भूमिकाको यो चलचित्र रोदाँ र कामिलबिचको प्रेमकहानी हो । कामिलको जीवन्त भूमिका निर्वाह गरेको कारण आद्जानी त्यस वर्षको एकेडेमी अर्वाडको सर्वश्रेष्ठ अभिनेत्रीको मनोनयनमा समेत परेकी थिइन् ।

‘कामिल क्लोदेल’ एक धुरन्धर कलाशिल्पी गुरु र उसकी अप्रतिम सुन्दरी अनि क्षमतावान् चेली बिचको प्रेमकथा हो, जसको सुरुवात आनन्दायी तर अन्त्य अत्यन्तै पीडादायी छ । एउटी कला प्रशिक्षार्थीको रूपमा रोदाँसँग भेट हुँदा कामिल मात्र १९ वर्षकी थिइन् । उता ४२ वर्ष कटेका रोदाँ विवाहित थिए । रोदाँसँग मूर्तिकला सिक्दै अनि आफूलाई एउटा अब्बल मूर्तिकारमा ढाल्दै कामिलको १५ वर्ष पनि बित्दछ । यसबिच उनीहरू बिच प्रेम पल्लवित हुन्छ । तर कुनै वियोगान्त नाटककी नायिक झैँ कामिल आँधीहुरीमा परेको डुङ्गा झैँ दिशाविहीन हुन पुग्छिन् । विवाहित रोदाँ आँधीमा डगमगाएकी कामिललाई अगाल्न सक्दैनन् । उता प्यारानोइयाले दिनप्रतिदिन भासिँदै गरेकी कामिल मूर्ति बनाउन चाहँदिनन् । उनलाई लाग्छ, त्यसो गर्दा रोदाँले उनका सिर्जनाको नक्कल गर्नेछन् । अन्ततः कामिललाई मानसिक सुधारगृह पठाइन्छ, जहाँ उनले जीवनका शेष ३० वर्ष विताउँछिन् ।

मुजे रोदाँमा सजाइएका मूर्तिहरूमा कामिललाई देख्न सकिन्छ । रोदाँले कामिलमाथि ‘सिरिज’ बनाएका छन् । रोदाँ कामिल पुनः समान्य जीवनमा फर्केको हेर्न चाहन्थे र त्यसनिम्ति आर्थिक सहयोग पनि गर्न चाहन्थे । तर कामिलको मानसिक स्थितिमा सुधार नआउनु र उनका परिवारले समेत उनको अभिभावकत्वको जिम्मेवारी वहन नगरिदिँदा कामिल सुधारगृहको पर्खालवाट कहिल्यै बाहिर निस्कन सकिनन् । उनीसँगै उनिभित्रको क्षमतावान् शिल्पी पनि शनैः शनैः मर्दै गयो ।

पारिवारिक परिबन्धका हुँदाहुँदै रोदाँले कामिललाई आजन्म प्रेम गरिरहे । आफ्नो प्रेमलाई वैधानिकता दिन नसके पनि उनले कामिललाई शिल्पमा ढालिरहे । रोदाँले मृत्युपश्चात आफ्नो नाममा बन्ने म्युजियममा कामिलका निम्ति एउटा छुट्टै कोठा छुट्याइदिन आग्रह पनि गरेका थिए । तर मुजे रोदाँमा कामिल सिर्जित कलाकृतिको छुट्टै कक्ष देख्न सकिँदैन । यद्यपि उनका प्रशंसकहरूले कामिलका नाममा बेग्लै म्युजियम खोलेर न्याय गरेका छन् ।

मैले पेरिसमा अत्यधिक समय व्यतित गरेको अर्काे ठाउँ हो, रू द थोरिग्नीस्थित मुजे नासियोनाल पिकासो, जहाँ पाब्लो पिकासो (सन् १८८१–१९७३) का सयौँ चित्राकृति (चित्रकला र प्रयोगात्मक मूर्ति) सजाइएका छन् । पिकासोको प्रेमकथा पनि रोदाँभन्दा खासै फरक छैन । कामिल जस्तै डोरा मार (सन् १९०७–१९९७) एक प्रेमिकाका रूपमा पिकासोको जीवनमा प्रवेश गरिन् । सन् १९३६ मा डोराले आफूभन्दा ३० वर्ष जेठो पिकासोलाई पहिलो पटक भेटेकी थिइन् । आफैँ पनि फोटोग्राफर र चित्रकार रहेकी डोरा एक प्रकारले पिकासोका लागि सिर्जनात्मक प्रेरणा थिइन् । एक दशक लामो उनीहरू बिचको प्रेम सम्बन्धका व्रmममा पिकासोले ६० भन्दा बढी पेन्टिङमा डोरालाई उतारे । पिकासोका पेन्टिङमा देखिने ‘रोइरहेकी महिला’ अरू कोही नभएर डोरा हुन् । चञ्चल र वुमानाइजरु पिकासोसँग उनको प्रेम स्वाभाविक रूपमा दीर्घजीवी हुन सकेन । तर डोराले पिकासोलाई आजन्म प्रेम गरिरहिन् । पिकासोबाट प्राप्त पेन्टिङदेखि तार, कपडा, बोतलका बिर्काेहरूमा पिकासोले छाडेका निशाना जनतसाथ आफैँसँग राखिन् । डोराले आफूलाई लो प्रोफाइलमा राखिन् र पिकासोका मूल्यवान् कृतिलाई कहिल्यै पैसासँग विनिमय गरिनन्, जसको मूल्य अर्बौं हुन सक्थ्यो । खासमा डोरा र पिकासोका प्रेमकहानी सन् १९९७ मा डोराको मृत्युपछि मात्रै छताछुल्ल भएको हो । पिकासो र डोराको प्रेमलाई लिएर धेरै पुस्तक लेखिएका छन्, जसमध्ये अमेरिकी लेखक जेम्स लर्डको ‘पिकासो एन्ड डोरा ः अ पर्सनल मेम्वा’ लाई आधिकारिक मानिन्छ । 

मैले चर्चा गर्न लागेको तेस्रो प्रेमी चाहिँ ‘भारतका पिकासो’ भनिने एमएफ हुसेन (सन् १९१५–२०११) हुन् । रोदाँ र पिकासो झैँ छुट्टै म्युजियमा स्थापना नभए पनि हुसेनका धेरै चित्रकला बम्बईस्थित होटल ताजमा हेर्ने मौका मलाई जुरेको थियो । सन् २०१० मा बम्बईको कला क्षेत्रमा स्थापित नेपाली मूलका कलाकारमाथिको वृत्तचित्र ‘रेन्वो ओभर मुम्बई’ को छायाङ्कनका लागि बम्बई निवासी नेपाली चित्रकार लक्ष्मण श्रेष्ठसँग म होटल ताज पुगेको थिएँ, जो स्वयंमा चित्रकलाहरूको एक सङ्ग्रहालय हो । ताजमा प्रवेश गर्नासाथ आगन्तुकको ध्यान सबैभन्दा पहिले हुसेनकै चित्रकलाले खिच्छ । भुइँतलाको रिसेप्सन पछाडि विलवोर्डकै आकारमा हुसेनको पेन्टिङ सजाइएको छ । त्यसबाहेक ताजका लबी, रेस्टुराँमा उनका चित्रकला देख्न सकिन्छ ।

मैले ताजमा हुसेनका पेन्टिङहरू हेर्दाको बखत उनी स्वयं भने भारतमा थिएनन् । हिन्दु देवीहरूका नग्न चित्राकृति बनाएको ‘कसुरमा’ हुसेन दूर देश कतारमा निर्वासित जीवन बिताइरहेका थिए । सन् २०११ मा एक शरणार्थीको रूपमा उनले परदेशमै देह त्याग गरे ।

हिन्दु दक्षिणपन्थीहरूले ईश्वरनिन्दाको कसुरमा मुद्दामामिला गर्न थालेपछि हुसेनले सन् २००६ मा भारत छाडे । त्यसयता उनी अनागरिक झैँ कहिले लन्डन त कहिले दुबई अनि दोहा बस्दै आएका थिए । सन् २००६ मा एक कन्टेनर पार्सल हुसेनको दुबईस्थित निवास आइपुग्छ । पार्सलसँगै हुसेनका लागि एउटा सानो सन्देश हुन्छ, ‘तिमीले दिएका उपहार म फर्काउन चाहन्छु, किनकि त्यसको असली हकदार म होइन, भारत हो ।’

उपहार फर्काएर हुसेनलाई विस्मित पार्ने पात्र अरू कोही नभएर उनकी (पूर्व) प्रेमिका मारिया जुर्काेभा थिइन् । चेक नागरिक मारियासँग हुसेनको भेट सन् १९५३ मा तत्कालीन चेकोस्लाभियाको राजधानी प्रागमा भएको थियो, जुन बेला हुसेन एउटा ग्यालरीमा पेन्टिङको प्रदर्शन गर्दै थिए । मारिया भने दोभाषेको रूपमा हुसेनलाई सघाउन पुगेकी थिइन् । स्वाभावैले ‘फिदा’ मकबुल फिदा (एमएफ) हुसेन मारियाको सौन्दर्यको पासोमा नपर्ने कुरै रहेन । यतिसम्म कि विवाहित हुसेनले मारियालाई आफ्नी दोस्री पत्नी बन्ने प्रस्ताव पनि गरे । तर मारियाले त्यो प्रस्ताव अस्वीकार गरिदिइन् । यसबिच हुसेन भारत र चेकोस्लाभिया ओहरदोहर गरिरहे । भौतिक रूपमा टाढा रहँदा उनीहरू प्रेम पत्र लेख्थे ।

सन् १९५६ मा मारियाले विवाह गर्ने निधो गरेपछि हुसेनले उनलाई दाइजोका रूपमा ३४ पेन्टिङ दिएका थिए । विवाहपछि मारिया पतिकासाथ अस्ट्रेलिया गइन् र लामो समय त्यतै बिताइन् । यता हुसेन चाहिँ मारियाले लेखेका प्रेम पत्रहरू कुर्ताको देब्रे खल्तीमा राख्ने गर्दथे । कागजले भुक्क उठेको खल्तीबारे सोध्दा उनी भन्थे, “उनका हस्तलिखित पत्र हृदय नजिक राख्दा म प्रेमानुभूति गर्दछु ।”

हुसेनसँगको भेटको स्मरण गर्दै लेखक समीक्षक खालिद मोहमदले लेखेका छन्, “हुसेन मलाई सुनाउँथे, मारियाले मेरा पेन्टिङ मात्र फर्काएकी हुन्, मेरो प्रेम फर्काएकी चाहिँ होइनन् ।” 

हुसेनका ३४ पेन्टिङको मूल्य अर्बौं रुपियाँ हुन्छ । तर मारियाले ती पेन्टिङहरू भारतको नासोको रूपमा सुरक्षित राखिन् । हुसेनलाई हृदयमा राखिन् तर आफ्ना प्रेमलाई सार्वजनिक विषय बनाइनन् ।

यता हुसेनको जीवन खुला पुस्तक भए पनि उनी मारियाको निजी जीवनको सम्मान गर्थे । मारियाबारे कुनै पनि कुरा लेख्दा सचेतता अपनाउन हुसेनले सुझाएको लेखक मोहमदले हुसेन बारेको स्मरणमा उल्लेख गरेका छन् । हुसेनको क्यान्भासमा दोहरिरहने नारी आकृति मारिया नै रहेको समीक्षकहरूको जिकिर रहे पनि हुसेन स्वयंले यसबारे केही बोलेका छैनन् । त्यसैले धेरैका निम्ति मारिया अझै पनि एक रहस्यकै पात्र हुन् ।