• ५ वैशाख २०८१, बुधबार

प्रेममा तिमी नै सही थियौ, परिमित (प्रेम कथा)

blog

 परिमितका तीन कुरा औधी राम्रा थिए । पहिलो उनको लेखाइ । दोस्रो उनको व्यवहार । र तेस्रो उनको शरीर । उसले उनलाई चिनेको नै उनको लेखाइले हो । उनीसँग नजिक भएको उनको व्यवहारले । उनकै शरीरले लोभ्याएर हो ऊ उनीसँग यति झ्याम्मिएको ।

परिमित काठमाडौँमा सङ्घर्ष गर्न होइन, पढ्न आएकी । पछि पढ्नभन्दा बढी सङ्घर्ष गर्न मन पराइन् । विदेशी लेखिकाका केही किताबहरू पढेपछि भावुकतावश उनलाई त्यस्तो लागेको हुनु पर्छ । उनका दाइ निजामती सेवाको प्रतिष्ठित पदमा कार्यरत थिए । आमाबा पनि सम्पन्न । तराईमा प्रशस्त जग्गा जमिन थियो । उनको भागमा मात्रै दुई बिघा जमिन छ भन्थिन् । दिदीलाई र उनलाई परिवारले छुट्याइदिएको रे । बाबु राजनीति गर्थे रहरले । बाबुमा कुनै लप्पनछप्पन थिएन । सबैलाई सहयोग गर्दागर्दै नेता बनिगए ।

बेलाबेलामा परिवारको कुरा गरे पनि उनी बाँच्ने त एक्लै हो भन्थिन् । नपुग केही थिएन । तर काठमाडौँमा दुःख देखिने गरी बसेकी थिइन् । 

सहरभन्दा अलि पर सामान्य घरमा एउटा सानो कोठा थियो उनको । चार हजारको सानो खाट, पातला सिरक डस्ना, सानो टेबुल, एउटा चुल्हो भएको ग्यास । ल्यापटप होइन पुरानो मोडेलको कम्प्युटर थियो उनीसँग । जमानामा आफैँले किनेकी । हल्का टाइप गर्न र गीत सुन्न मिल्थ्यो । भन्थिन्, “म आफैँ कमाउँछु र आफैँ बाँच्छु ।” महिनाको १५ दिन उनी यही रट्थिन् । घर बहाल तिर्ने बेला दाइले पठाएको पैसा लिन बैङ्क पुग्थिन् । १५ दिन केही शान्त हुन्थिन् र फेरि उही पुरानै हुटहुटी । भन्थिन्, “म आफैँ बाँच्न सक्छु । के सोच्छन् मान्छेहरू ? के म केही गर्न सक्दिनँ ? मेरो दाइ मलाई केटाकेटी सम्झिन्छ । हेर, एक दिन म मेरो परिवारलाई केही गरेर देखाउँछु ।” यसो भनिरहँदा उनी घरबाट ल्याएको चामल र दाल पकाएर उसलाई खुवाउँदै हुन्थिन् । 

“तिम्ले पक्कै पनि केही गरेर देखाउनु पर्छ परिवारलाई । अरू केही गर्न नसके पनि बिहे गरेर देखाउनु पर्छ, परी ।” ऊ जिस्किन्थ्यो र उनी उसलाई कुट्न लखेट्थिन् । एउटा सानो कोठामा कहाँ भाग्नु ? उनी भेट्टाइहाल्थिन् र उसलाई एक मुड्की कुट्न पनि भ्याउँथिन् । 

तीस नपुगेकी उनी । ठुल्ठुला कुरा गर्थिन् । आफैँ केही गर्नु पर्छ भन्थिन् । आदर्श कुरामा उनलाई दिलचस्पी थियो । लेखेर अनावश्यक चर्चामा भन्दा पनि पाठकको मनमा बस्नु पर्छ भन्थिन् । एउटी कलिली लेखिकाका यस्ता कुरालाई ऊ चाख मानेर सुन्थ्यो । लेख्न राम्रै लेख्थिन् । दुई वटा उपन्यासमध्ये पछिल्लो उपन्यास त निकै राम्रो पनि रह्यो । उसले त्यो उपन्यासले राम्रै पुरस्कार पाउला भन्ने सोचेको थियो । तर पाएन । त्यसमा उनी होइन ऊ खिन्न भयो । उसलाई के लागेको थियो भने राम्रो रचनाको कतै न कतै सम्मान हुन्छ । तर उनले भने झँै उनी पाठकको मनमा नै सीमित भइन् । किताब पटक पटक छापियो र राम्रै पनि बिक्यो । सानो मसिनो उपन्यास एकै बसाइमा पढ्न सकिने । 

लेखाइबाट सुरु भएको उनीहरूको परिचय छिट्टै झ्याम्मियो । उनी दिमाग कम र मन ज्यादा भएकी केटी । ऊ दिमाग चलाएर मनको कुरा गर्न खप्पिस । के थियो ? उनी लपक्क भइहालिन् ।

उनी नयाँ किताबको तयारी गर्दै थिइन् । पाएसम्म नयाँ किताब पढ्ने उनी, पढ्दै र लेख्दै गर्न सक्थिन् । उनको यो क्षमता उसलाई असाध्यै मन पथ्र्यो । 

आफूले लेखेको केही पानाहरू उनले उसलाई पढेर सुनाइन् । प्रेमको आत्मिक सन्दर्भको चर्चा थियो लेखाइमा । उनले मनलाई महìव दिएर नायिकालाई बोल्न लगाएकी थिइन्, “तिमी जीवन र यौवनलाई प्रेम भन्ठान्छौ होला तर म मृत्यु र जीवनलाई प्रेम भन्छु । म प्रेम मनमा अनुभूत गर्छु र तिमी शरीरमा ।”

उसले प्रतिवाद ग-यो, “शरीर र मन छुट्याउने कुरा होइन । प्रेम गर्नेले मनलाई पनि प्रेम गर्छ शरीरलाई पनि । फेरि प्रेम भनेको अनुभूति मात्र होइन स्पर्श पनि हो ।” 

उनी मान्न तयार भइनन् । भनिन्, “प्रेम गरेको मानिस अनुभूतिमा नै सुन्दर देखिन्छ ।”

“प्रेम गरेको मानिस नाङ्गो पनि प्रिय लाग्छ ।” उसले भन्यो, “प्रेम नगरेको नाङ्गो शरीर सोच्न पनि सकिँदैन । मानिसलाई सुन्दर बनाउने प्रेमले हो । अझ नाङ्गो शरीरको शृङ्गार हो प्रेम ।”

उनी अझै मान्न तयार भइनन्, “तिमी यौनको कुरा गरिरहेका छौँ ।”

उसले भन्यो, “कसैको उपस्थितिबिना, मात्र अनुभूतिमा कसैलाई प्रेम गर्नु पूजा गर्नु हो । त्यो माया होइन । जुन हामी भगवानसँग मात्र गर्छौं । मानिस सुखी हुनलाई पूजा होइन प्रेम चाहिन्छ ।”

उसको कुरामा उनले सहमति जनाइनन् । तर पहिलो पल्ट प्रतिवाद पनि गरिनन् । यहीँनेर उसलाई आफ्नो कुराले उनलाई छोएको आभास भयो । त्यसपछि उनले प्रेम र यौनको भिन्नताका बारेमा सोधिन् । उसले भिन्नता होइन, समानताको कुरा ग¥यो । भन्यो, “प्रेम भनेको मन र शरीर छुट्याएर गर्ने कुरा होइन ।” 

सम्पन्न परिवारमा जन्मी, हुर्केकी एउटी केटी जसले आफ्नो विदेशमा रहेको प्रेमीको फोटोमा चुम्बनबाहेक अरू केही गरेकी छैनन् । उनलाई उसँग बसेर प्रेम र यौनको कुरा गरिरहँदा पक्कै केही भएको हुनु पर्छ । उनले लामो सास फेरिन् । 

उसले पनि लामो सास फे¥यो– कपडाभित्रको उनको सुन्दर शरीर सम्झेर । पातलो र गोरो उनको शरीरमा भिन्नै आकर्षण थियो । अझ बेला बेलामा मनले गर्ने उनको आत्मिक व्यवहार । ऊभित्रको लोभी पुरुष पटक पटक असन्तुलित हुँदै थियो । उसले आफ्नो बलबुताले भ्याएसम्म आफूलाई रोकिरहेथ्यो । उसलाई के थाहा थियो भने जसरी म बेकाबु भइरहेको छु । त्यसै गरी उनी पनि हुनेछिन् र झ्वाम्म अँगालो हाल्नेछिन् । 

नभन्दै त्यस्तै भयो । उनले उसलाई अँगालो हालिन् ।

“के गरेकी यो ?” ऊ बनावटी रूपमा बोलिदियो ।

“तिमी बढी बोल्छौँ ।” उनी लाडिइन् । ऊ चुप लाग्यो । उनी पनि केही बोलिनन् । 

उनको शरीर पहिलो पल्ट उसले त्यही दिन देखेको । 

शरीरसम्मको यो यात्राले यी दुईलाई अझ आत्मीय बनायो । 

“तिमीले मलाई एकदमै बिथोली दियौ । म कस्तो शान्त पोखरी जस्तो थिए । अहिले हरघडी तिमीलाई सम्झिन्छु । खहरेभन्दा चर्को भयो ।” एक साँझ उनले उसलाई फोन गरिन् । ऊ हाँस्यो मात्र । उसलाई केही बोल्नु पर्छ जस्तो पनि लागेन । के बोल्ने थाहा नै भएन । तैपनि “किन त्यस्तो भयो त,” भनेर सोध्यो । 

“लगातार ढुङ्गा हान्ने काम जो तिमीबाट भइरहेको छ ।”

“मैले पोखरीमा ढुङ्गा हानेको होइन, परी । पोखरीको पानी पिएको मात्र हुँ । तरङ त पोखरीमा पहिले नै थियो । पोखरीमा छचल्किएको त्यही तरङ्गले त हो नि मलाई तिमीसम्म तानेको ।” ऊ हाँस्यो । 

“अब केके हुने हो थाहा छैन ।” यसो भनेर उनले फोन राखिन् । अब के हुन्छ, उसलाई पनि थाहा थिएन । तर त्यो रात परिमितले उसलाई पनि खहरे नै बनाइदिइन् । 

पछिल्ला दिनमा एकअर्काको शरीर दर्शन उनीहरूलाई सहज भयो । 

यसबिचमा उनले कथाहरू पनि लेख्न थालेकी थिइन् । कथामा खुलेर यौनको कुरा गर्न थालेकी थिइन् । उनको प्रेमको परिभाषा नै बदलिएको थियो । मनमा अनुभूत गर्ने प्रेमभन्दा उनी माथि उठेकी थिइन् । भन्थिन्, “प्रेमका लागि तिमी मेरो शिक्षक हौ ।” ऊ हाँसिदिन्थ्यो । ऊ सोच्थ्यो, यो सामान्य कुरा । भावुक र एकाङ्की केटीहरू जेमा पनि भावुक बनिदिन्छन् । साँझमा उदास हुनु, दुई चार एसएमएस गर्नु या च्याटमा बस्नु, रात रातभर गीत सुन्नु या केही लेख्नु अनि बिहान अबेलासम्म सुत्नु उनको दिनचर्या थियो । दाइले पैसा पठाइहाल्थ्यो । दिनभरि साहित्यिक कार्यव्रmम, लाइब्रेरी या पुस्तक पसलमा बिताउँथिन् । तर पनि “म आफैँ बाँच्न सक्छु । केही गरेर देखाउँछु,” भन्न छोड्दिन थिइन् । 

बन्द कोठाको चार दिवारीमा अनौपचारिक उनीहरूको सम्बन्ध बाहिर भने अत्यन्त भद्र हुनेगथ्र्यो । यसो गर्न उसले नै सिकाएको थियो उनलाई । उनले मानेको प्रेमको शिक्षक जो ठहरियो ।

एक दिन उनले दिलाशाको कुरा गरिन् । बोर्डिङकी एक शिक्षिकाको । त्यसो त दिलाशाको कुरा उनी पहिले पनि गर्थिन् । पुरुषलाई अत्यधिक घृणा गर्ने दिलाशा उनको मिल्ने साथी थिइन् । भन्थिन्, “दिलाशाले म तिमीसँग हिँडेका बोलेको पनि मन पराउँदिनँ । केटाहरू मतलबी हुन्छन् भन्छे । तर मलाई तिम्रो नजिक भइरहन मन लाग्छ ।” 

तर त्यो दिन दिलाशाको कुरा उनको मुखबाट सुनेपछि उसलाई लाग्यो, दिलाशा त नपत्याउँदी रहिछ । उनको शरीरको दर्शन उसले मात्र होइन दिलाशाले पनि गर्दिरहिछ । 

“के गरेकी त्यस्तो ?”

“दिलाशाले केके गर्थी । म नाइँ भन्नै सक्दिनथेँ । मन नपरे पनि सहन्थे म,” उनी मायालाग्दी देखिइन् । “उसको व्यवहारले मलाई लेख्ने विषय पनि मिलेको छ । महिला समलिङ्गीहरूका बारेमा अब म लेख्न सक्छु नि ।” ए भावुक लेखिका । उनको लेखनप्रतिको यो आकर्षण उसलाई बुझिनसक्नु लाग्यो । दिलाशासँगको सम्बन्धलाई उनले नै सामान्य रूपमा लिएपछि उसले मात्र किन असामान्य रूपमा लिनु ? भन्यो, “तिमी त कति भाग्यमानी । पुरुष महिला दुवैको अनुभव लिन पायौ । यस्तो अनुभव बिरलैले मात्र पाउँछन् ।”

“मलाई त केटा नै मन पर्छ । दिलाशा साथी हो नाइँ भन्न सक्दिनँ । मलाई पाइन भने मर्छु भन्छे ।” 

“तिमीलाई मन पर्दैन भने किन भन्न सक्दिनौँ त ? मर्न देऊ न उसलाई ।” ऊ सम्भवतः पहिलो पल्ट झर्कियो उनीसँग । 

एक दिन अकस्मात् उनी बिरामी भइन् । ऊ हतार हतार अस्पताल पुग्यो । उसले सधैँ एक्लो भेटेकी उनी परिवारले घेरिएकी थिइन् । कोही केही बोलिरहेका थिएनन् । उसले सोध्ने आँट पनि गरेन । “परिमित भित्र आइसियूमा छे ।” उनको दाइले भन्यो, “डाक्टरहरूले भगवानलाई प्रार्थना गर्नु भनेका छन् ।” उनको परिवारसँग उसको राम्रो चिनजान थिएन । आइसियू बाहिरपट्टिको लबीमा एक्लै बस्यो । भगवानलाई प्रार्थना गर्न थाल्यो । 

केही प्रहरीहरू आए र दाइसँग कुरा गरे । दाइको आवाज उसले सुनेन तर अनुहार आत्तिएको देख्यो । दाइ प्रहरीसँगै हिँडे र उसलाई पनि बोलाए । ऊ प्रहरी र दाइको पछि पछि लाग्यो ।

दिलाशाले यस्तो गर्छे भनेर उसले सोचेको समेत थिएन । समलिङ्गी आदत भएकी यी महिला उसलाई परिमितको मिल्ने साथीभन्दा बढ्ता अरू केही लाग्दैनथ्यो । तर प्रहरी चौकीमा दिलाशाको बयान सुनेपछि ऊ हैरान भयो । स्वास्नी मान्छेको यस्तो ह्रिंसक रूप उसले कल्पना पनि गरेको थिएन । 

उनीसँग बलजफ्ती अनैतिक सम्बन्ध राख्दै आएकी दिलाशाले उनलाई विवाहको प्रस्ताव गरिछ । उनले मानिनन् । मान्ने कुरा पनि भएन । उनको आफ्नै प्रेमी थियो । विदेशमा पढ्न गएको । शरीर दर्शनका व्रmममा उनी पटक पटक आफ्नो प्रेमी सम्झिँदै ऊसँग जिस्केकी थिइन्, “उसका लागि साँचेको शरीर तिमीलाई दिएँ ।” 

“मैले शरीर लिएको हैन परी, दर्शन मात्र गरेको ।” उसको कुरा सुनेर उनी हाँस्थिन् । ऊ अझ मायाले च्याप्थ्यो उनलाई । 

“तिमी मेरी हुँदिनौ भने कसैको पनि हुन दिन्नँ,” भनेर दिलाशाले उनको घाँटी अठ्याइछ र उनी बेहोस भएपछि आफैँले अस्पताल ल्याएर परिवार र प्रहरीलाई खबर गरिछ । 

साँझसम्ममा लेखिका परिमित नरहेको खबर रेडियो र टिभीहरूले फुक्न थाले । उसलाई असह्य भयो । एक घण्टा जस्तोमा नै पोस्टमार्टम गरिएको उनको शरीर लिएर परिवारसहित ऊ पनि पशुपति आर्यघाट पुग्यो ।

बहिनीको खुसी र रहरका लागि एक्लै बस्नसमेत दिने उनको दाइ भक्कानिएर रुँदै थिए । ऊ आफैँ पनि आफूलाई सम्हाल्न सकिरहेको थिएन । 

तीनचोटि घुमाएर उनको शरीरलाई चितामा राखियो । उनको बुबा, दाइ, ऊ र उनको काकाको छोराले उनको शरीरलाई चितामा राखेका थिए । 

उसले पटक पटक चुम्बन गरेको उनको कलिलो, पातलो ओठमा उनको बुबाले कपुरसहितको आगो राखे र भक्कानिए । उसलाई आफ्नै ओठ पोले जस्तो लाग्यो । 

एक एक गरेर जल्न थाल्यो– उसले पटक पटक समाएको उनको सुकुमार हात, दर्जनौँ पटक औँलाले मुसारेको उनको कपाल, सुमसुम्याएको, चिमोटेको उनको गाला, गाली गर्दै उसलाई मायालु शब्दहरू बोल्ने उनको मुख, उसलाई असाध्यै मन पर्ने उनको छाती । जलिरह्यो । ऊ रन्थनियो । आफ्नै शरीरमा आगो सल्किएको जस्तो भयो उसलाई । 

“उनको शरीर जलेर सकिएपछि, उनीप्रतिको मेरो प्रेम पनि मर्छ होला,” उसले सोच्यो । तर त्यस्तो भएन । जलेर सकिँदै गरेको उनको शरीरसँगै उनीप्रतिको उसको प्रेम उम्लेर आयो । प्रेम शरीरमा होइन मनमा हुन्छ भन्ने उसलाई अनुभूत भयो । दिव्यज्ञान आत्मबोध भए जस्तो उसलाई महसुस भयो, प्रेममा उनी नै सही थिइन् । उनले भन्ने गरे जस्तै प्रेम अनुभूतिमा हुँदो रहेछ । उसलाई लाग्यो, उसले उनको शरीरलाई होइन उनलाई प्रेम गरेको रहेछ । उसले आफूलाई रोक्नै सकेन । भक्कानियो उ र दुवै हात जोडेर अन्तिम पल्ट दर्शन ग¥यो परिमितको जल्दै गरेको नाङ्गो शरीरलाई ।