• १५ वैशाख २०८१, शनिबार

निर्यातभन्दा इन्धन आयात दोब्बर

blog

काठमाडौँ, फागुन १५ गते । मुलुकको कुल निर्यातभन्दा दोब्बर मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सो अवधिमा भारतबाट एक खर्ब ८४ अर्ब ३७ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र ग्यास) आयात भएको छ । सो अवधिमा निर्यात सात प्रतिशत र आयात दुई प्रतिशतले घटेको छ । 

सात महिनामा आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपियाँ बराबरको कुल आयात हुँदा पेट्रोलियम पदार्थको आयात भने झन्डै दुई खर्बको हाराहारीमा रहेको छ । कुल आयातको २० प्रतिशत पेट्रोलियम पदार्थ रहेको तथ्याङ्कले देखाएको छ । इन्धनको आयात बढ्दा व्यापार घाटासमेत उच्च हुने गर्छ । 

विभागको तथ्याङ्क अनुसार माघसम्म सबैभन्दा धेरै ७७ अर्ब ४१ करोड ९८ लाख रुपियाँ बराबरको सात लाख २९ हजार किलोलिटर डिजेल आयात भएको छ । यस्तै ३८ अर्ब ८२ करोड रुपियाँ बराबरको तीन लाख ९१ हजार किलोलिटर पेट्रोल आयात भएको छ ।  सो अवधिमा ११ अर्ब ९८ करोड ४० लाख रुपियाँ बराबरको एक लाख १० हजार किलोलिटर हवाई इन्धन, छ अर्ब ५९ करोड ८५ लाख रुपियाँ बराबरको मटितेल आयात भएको छ । 

यस्तै ३० अर्ब ३१ करोड रुपियाँ बराबरको दुई लाख ९८ हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । चालु आवको सात महिनामा पेट्रोलको आयात सामान्य बढे पनि डिजेल र ग्यासको खपतमा भने कमी आएको छ । गत वर्ष सात महिनामा ३३ अर्ब रुपियाँ बराबरको ग्यास आयात भएको थियो । गत वर्ष सात महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख रुपियाँ बराबरको डिजेल आयात भएको थियो । 

आर्थिक गतिवधि सक्रिय रूपमा सञ्चालन नहुँदा डिजेल खपत हुँदा आयातमा कमी आएको छ । २५ देखि ३० प्रतिशत डिजेल औद्योगिक क्षेत्रमा खपत हुने गर्छ । पछिल्लो समय आर्थिक मन्दीका कारण पूर्वाधार निर्माणको काम तीव्र गतिमा हुन सकेको छैन । निगमका अनुसार सात महिनामा डिजेल आयातमा १३ प्रतिशतले कमी आएको छ । यस्तै बिजुलीको प्रयोग बढ्दा ग्यासको खपतमा दुई प्रतिशतले कमी आई आयातमा समेत कमी आएको छ । पेट्रोलको खपत भने दुई प्रतिशतले बढेको निगमले जनाएको छ । हाल बजारमा मासिक ५७ हजार ३३८ किलोलिटर पेट्रोल, ९९ हजार ४६९ किलोलिटर डिजेल, एक हजार किलोलिटर मटितेल,  १४ हजार ४४७ किलोलिटर हवाई इन्धन र ४२ हजार मेट्रिक टन ग्यासको खपत हुने गरेको छ । 

इन्धन आयातबाट साठी अर्ब राजस्व 

चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयात गरेर ६० अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमका अनुसार साउनदेखि माघ मसान्तसम्म ६० अर्ब ५९ करोड रुपियाँ राजस्व सङ्कलन भएको हो । सात महिनामा भन्सार शुल्कबापत २० अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै सडक मर्मत शुल्कबापत तीन अर्ब, वातावरण शुल्कबापत  एक अर्ब ६८ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) बापत २४ अर्ब १० करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै पूर्वाधार विकास करबापत ११ अर्ब १७ करोड रुपियाँ सङ्कलन भएको छ ।