• १२ साउन २०८१, शनिबार

जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले लिनुपर्छ : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन । तस्बिर : मन्त्री शर्माको सचिवालय

काठमाडौं, फागुन १४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ ।

बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्ता नयाँ उत्साह र योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

माओवादीले जनयुद्ध गरेपछि २०५२ साल फागुन १४ गते तत्कालीन सरकारद्वारा दिलबहादुर रम्तेल मारिएको स्मरणमा अखिल क्रान्तिकारीले हरेक वर्षको फागुन १४ गतेलाई बलिदान दिवसको रूपमा मनाउँदै आएको छ । फागुन १४ को रम्तेले हत्यादेखि फागुन २१ को सुखानी हत्याकाण्डसम्मलाई जोडेर माओवादी केन्द्रलगायतका दलहरूले सहिद सप्ताह मनाउँदै आएका छन् ।

सोही क्रममा अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माओवादी स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री शर्माले अघिल्लो पुस्ताको बलिदानका आजको पुस्ताले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको बताउनुभयो । ‘‘आजको तपाईँको पुस्ता यसकारण भाग्यमानी हो, जसले निरङ्कुशता भोग्नुपरेको छैन । जेल, नेल, यातना सहनुपरेको छैन,’’ उहाँले भन्नुभयो, ‘‘हिजोको पुस्ताले बगाएको आशु, रगत र पसिनाको योगफल नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो, यसकै परिणाम आजको पुस्ता स्वतन्त्रताको खुला आकाशमा रमाउन पाएको छ ।’’


त्यसैले स्वतन्त्रता सेनानीको रूपमा रहेका अग्रज पुस्ताको सम्मान गर्दै नयाँ पुस्ता अबको युगको नेतृत्व लिन तयार हुनुपर्ने उहाँले स्पष्ट गर्नुभयो । ‘‘पुरानो पुस्ताको बलिदानका कारण राजनीतिक व्यवस्था बदलियो,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘अब बदलिएको राजनीतिक व्यवस्थाको फराकिलो धरातलमा टेकेर नयाँ पुस्ताले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व लिनुपर्छ ।’’

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरिसकेको जानकारी दिँदै उहाँले यो अभियानलाई पूरा गर्ने मुख्य अभिभारा नयाँ पुस्ताको काँधमा रहेको बताउनुभयो । वर्तमान सरकार गठन भएपछि ठुलठुला अनियमितका फाइल खुलिरहेको चर्चा गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘ ‘कतिपयले अहिले किन धेरै काण्डहरू सार्वजनिक भइरहेका छन् भनेर पनि प्रश्न गर्ने गरेका छन् । यी काण्डका आजका होइन, वर्षौँदेखि थुप्रिएका अनियमितका फाइल खोज्ने सरकारको पहलकदमीको परिणाम नै यी काण्डहरू सार्वजनिक भइरहेका छन् ।’’

विगतका राजतन्त्रकालमा कानुन सानाका लागि मात्रै भएको र शासकहरूले जे गरे पनि छुट हुने अवस्था रहेको स्मरण गराउँदै उहाँले अब गणतन्त्रमा सबै बराबर हुने भएकाले पनि उच्च पदस्थहरूमाथि धमाधम कानुन आकर्षित भइरहेको बताउनुभयो । ‘‘गणतन्त्रले स्थापित गरेको महत्त्वपूर्ण भाष्य भनेको गणतन्त्रमा गल्ती गर्ने छुट हुँदैन भन्ने नै हो’’ उहाँले थप्नुभयो,  ‘‘गल्ती गरे जोकोही पनि सजायको भागिदार हुनुपर्छ, यही नै गणतन्त्रको सार हो ।’’