• १४ मंसिर २०८१, शुक्रबार

सडक निर्माण योजना प्रभावित

blog

बजेट अभाव भएपछि काम रोकिएको रत्नेचौर–ज्यामरुककोट,भकिम्ली–बरंजा सडक योजना । तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,फागुन १४ गते । बजेटको स्रोत सुनिश्चित भई बहु वर्षीय ठेक्का लगाएको  जिल्लाको एक सडक योजनामा बजेट नआउँदा योजना कार्यान्वयन प्रभावित बनेको छ । अर्थ मन्त्रालयले बजेट नपठाउँदा  सडक डिभिजन कार्यालय बागलुङ मार्फत निर्माण भइरहेको  म्याग्दीको बेनी नगरपालिका १ रत्ने चौर देखि ज्यामरुककोट हुँदै भकुण्डे–भकिम्ली,बरंजा सडक निर्माण योजनामा बजेटको अभाव भएको हो । योजनामा काम गरे अनुसारको भुक्तानी नपाउँदा निर्माण व्यवसायीले काम छाड्ने तरखर गरेका छन् । 

‘एक निर्वाचन क्षेत्र,एक रणनैतिक सडक’ कार्यक्रम अन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले २०७९ भदौ ६ गते २०८१ फागुन ५ गतेभित्र योजना सम्पन्न गर्न निर्माण कम्पनी गजेन्द्र नयाँ बाटो जेभी स्याङ्जासँग करिब दश किलोमिटर सडक स्तरोन्नति सहित कालोपत्रे गर्न २६ करोड ४६ लाख ३९ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । 

ठेक्का सम्झौता लगत्तै मजदुर र उपकरण सहित कार्यस्थलमा परिचालन भएको निर्माण व्यवसायीले सडक निर्माणलाई तीव्रता दिएको थियो । समयभित्र नै योजना सम्पन्न गर्ने उद्देश्यले दैनिक रूपमा एक सय जना मजदुर र उपकरण परिचालन गरेर काम गर्यौं गजेन्द्र नयाँ बाटो जेभीका साइड इन्जिनियर अरुण सेढाईले भन्नुभयो, ‘‘अघिल्लो आर्थिक वर्ष काम गरेको नै करिब ४ करोड रुपियाँ भुक्तानी पाउनुपर्ने अझै पाएका छैनौँ । भुक्तानी नपाए पनि ऋण खोजेर चालु आर्थिक वर्षको अहिलेसम्म सडक निर्माणलाई निरन्तरता दियौँ । अब काम गर्न सक्ने स्थितिमा  छैनौँ ।’’ भुक्तानी नपाएपछि केही दिनभित्रमा मजदुर र उपकरण सहित कार्यस्थलबाट फर्किनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

‘‘अहिलेको आर्थिक सङ्कटमा पनि आफ्नो पैसा खर्चिएर अहिले सम्म काम ग¥यो अब धान्न सक्ने अवस्थामा छैंनौं, काम छाडेर हिँड्नुबाहेक हामीसँग अन्य विकल्प छैन’’ इन्जिनियर सेढाईंले भन्नुभयो ।  

 कार्यालयका अनुसार योजनामा सडक फराकिलो पार्ने, ग्रेड मिलाउने,ग्याबियन झाली लगाउने, पर्खाल लगाउने र नाली निर्माण गर्ने कामसहित अहिलेसम्म करिब ३० प्रतिशत भौतिक प्रगति भएको छ । 

बजेट अभाव भएपछि अहिले योजनाको काम प्रभावित भएको निर्माण व्यवसायीका प्रतिनिधि भूपेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । निर्माण व्यवसायीका प्रतिनिधि खड्काले भन्नुभयो, ‘‘ पैसा नपाए पनि अहिले सम्म ऋण खोजेर काम गर्यौं । अब मजदुरको पारिश्रमिक, उपकरणको भाँडा लगायत निर्माण सामग्रीको रकम दिन सक्ने अवस्था छैन । अब काम रोक्नुबाहेक हामीसँग विकल्प छैन । एक हप्ताभित्र रकम आउँछ भनेर हामी साइडमा बसेका छौँ, पैसा नआए हात उठाएर साइडबाट फर्किन्छौँ ।’’ 

अघिल्लो आर्थिक वर्षमा ४ करोड र चालु आर्थिक वर्षको फागुनसम्म काम गरेको थप ३ करोडसहित सात करोड रुपियाँ निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ  । 

योजनाको पहिलो वर्ष निर्माण व्यवसायीले करिब दश करोड रुपियाँ बराबरको काम गरेका थिए । असार मसान्तमा पाँच करोड रुपियाँ भुक्तानी पाएको सडक डिभिजन कार्यालय बागलुङको भनाइ छ । अघिल्लो आर्थिक वर्षको भुक्तानी गर्नुपर्ने दायित्व नै करिब चार करोड रुपियाँ छ कार्यालयका इन्जिनियर प्रभात तिवारीले भन्नुभयो, ‘‘यति ठुलो योजना कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा जम्मा एक करोड रुपियाँ विनियोजन भएको छ ।’’  रकम भुक्तानी माग्न योजनाको फाइल तयार पारेर अर्थ मन्त्रालयमा पठाए पनि बजेट नआइसकेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘‘निर्माण व्यवसायीले काम गरेको बिल अनुसारको भुक्तानीका लागि फाइल अर्थ मन्त्रालयमा पेस गरेका छौँ । अघिल्लो आर्थिक वर्षको असारमै बजेट आउँछ भनिएको थियो आएन । त्यसपछि पटक पटक आश्वासन दिइएको छ तर बजेट आएको छैन ।’’ स्रोत सुनिश्चित भएर ठेक्का लगाएको योजनामा बजेट जसरी पनि आउँछ काम नरोक्नु भनेर निर्माण व्यवसायीलाई कार्यालयका तर्फबाट अनुरोध गरिएको उहाँले बताउनुभयो ।