• १२ साउन २०८१, शनिबार

चार अस्पतालको फोहोर सङ्कलनमा रोक

blog

काठमाडौं, फागुन १३ गते । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले चार वटा अस्पतालको फोहोर सङ्कलनमा रोक लगाएको छ ।

विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आइतबार चार वटा अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइएको हो ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कलङ्कीको सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चाबहिलस्थित दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल गत शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालको आइतबार आज अनुगमन गरिएको थियो ।

यसरी फोहोर रोक लगाइएका अस्पतालहरूलाई सङ्क्रमित फोहोर निसङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिविद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहोर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन आग्रह गरिएको मानन्धरको भनाई छ ।  

महानगरपालिकाले यस अघि महाराजगन्जमा रहेको कान्ति बाल अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइसकेको छ ।