नवलपुर समाचारदाता
नवलपुर, फागुन १३ गते । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली युवालाई विदेशी सेनामा भर्ती नहुन आग्रह गर्नुभएको छ । नवलपुरको हात्तीखोलमा रहेको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८ औँ ब्याच सिनियर डिभिजन एनसिसी तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले यस्तो आग्रह गर्नुभएको हो ।
युक्रेनसँगको लडाइँका कारण रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था कस्तो छ भन्ने सबैले बुझेको भन्दै प्रधान सेनापति शर्माले कुनै पनि हालतमा विदेशी सेनामा भर्ती नहुन एनसिसी तालिमका सहभागीलाई आग्रह गर्नुभयो । “देशमा केही हुन्न र हुन सक्दैन भन्ने गलत भास्य निर्माण गर्दै विभिन्न देशमा जोखिमपूर्ण कार्य गर्न जाने अग्रसरता कम्तीमा पनि तपाईंहरूबाट प्रदर्शित हुने छैन भन्ने विश्वास लिएको छु,” प्रधान सेनापति शर्माले भन्नुभयो, “मैले इङ्गित गर्न खोजेको विदेशी सेनामा कुनै पनि हालतमा नजानु होला, मेरो विशेष आग्रह छ ।”
उहाँले हरेक कुरामा सकारात्मक सोचेर आफ्नो लक्ष्य प्राप्तिका लागि कर्म गर्न पनि आग्रह गर्नुभयो । उहाँले तालिममा देखाएको लगनशीलता, इच्छाशक्ति, अनुशासन र कडा परिश्रमलाई देश निर्माणका लागि प्रयोग गर्न अपिल गर्नुभयो । राष्ट्र र जनताप्रति वफादार, जिम्मेवार र समर्पित भई संस्कारयुक्त असल नागरिकका रूपमा आफूलाई रूपान्तरण गर्न पनि प्रधान सेनापति शर्माको आग्रह छ ।
एक सय दिनमा सिकेको सैनिक कलालाई विपत् व्यवस्थापन, जोखिम न्यूनीकरणका विभिन्न उपायमा प्रयोग गर्दै राष्ट्रियता, सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा आउन सक्ने जस्तोसुकै जटिलतालाई समाधान गर्न फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाली समाजलाई परेको बेलामा निस्वार्थ सेवाभावले लाग्न पनि युवालाई उहाँको आग्रह छ ।
दीक्षान्त सिसं १८ औँ ब्याच सिनियर डिभिजन अन्तर्गत सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न १६ जिल्लाका ५६६ जना क्याडेट छात्रछात्रा सहभागी थिए । जसमध्ये कर्णाली माध्यमिक विद्यालय कैलालीका ११ कक्षामा अध्ययनरत अस्मित पुन सर्वोत्कृष्ट छात्र र जगदम्बा माध्यमिक विद्यालय बर्दियाका कक्षा १२ मा अध्ययनरत शोभा सुनार सर्वोत्कृष्ट छात्रा घोषित हुनुभयो । उहाँहरूको विभिन्न २४ जिल्लामा जिम्मेवारी तोकिएको छ ।