• १३ मंसिर २०८१, बिहिबार

उपचार गर्न नसक्दा खोरमा

blog

राजकुमार भट्टराई 

खोटाङ, फागुन १३ गते । उपचार अभावमा खोटाङमा एक महिला खोरमा थुनिएर बस्न बाध्य भएकी छिन् । घरपरिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचारका लागि अस्पताल लैजान नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलाकी ३० वर्षीया फुर्दिकु शेर्पा खोरमा थुनिनुपरेको हो ।

डेढ महिनाअघिसम्म शेर्पाको दैनिकी सामान्य थियो तर अचानक बानी व्यवहारमा परिवर्तन आएपछि अहिले आँगनमा काठको खोर बनाएर उहाँलाई थुनेर राखिएको छ । परिवारका सदस्यसहित भेटिएका जोसुकैलाई ढुङ्गा र हतियारले आक्रमण गर्ने, सामान फुटाइदिने गरेपछि बाध्य भएर थुनेर राखिएको बुवा पेमा शेर्पा र आमा निम्ले शेर्पाले बताउनुभयो । परिवारका सदस्यले खोरभित्रै खाना खाजा दिने गरेका छन् । 

हाल खोरभित्रै गीत गाउने, नाच्ने कपडालाई आफ्नो बच्चा भन्दै खेलाउनेलगायतका क्रियाकलाप गरे पनि फुर्दिकुको अवस्था दर्दनाक छ । खोरभित्रै खाने, बस्ने र दिसापिसाब गर्दा समस्या छ । बेला बेला परिवारका सदस्यले दिसापिसाब सफा गर्दै आएका छन् । बाहिरबाट कोही मान्छे आउँदा भने केही समय राम्रो बोल्ने अनि बिस्तारै अपाच्य शब्द बोल्ने गरेको परिवारका सदस्य बताउँछन् । तत्काल उपचारका लागि लैजान खर्च आभव भएपछि खोरभित्र थुनेर राख्नुको विकल्प नभएको बुवा पेमाको भनाइ छ । “यसअघि पनि धेरै खर्च गरेर उपचार गराइयो, अहिले त केही छैन, घरजग्गाको धनीपुर्जा पनि बैङ्कमा राखिएको छ । खोइ ! कुन पैसाले उपचारमा लानु र ?” बुवा पेमाले दुःखेसो गर्नुभयो । मान्छेलाई आक्रमण गर्ने भएकाले एक्लै गाडीमा हालेर उपचार गर्न लैजान सकिने अवस्था पनि छैन । बुवा पेमाले भन्नुभयो, “कतैबाट कसैले केही सहयोग गरे त लान हुन्थ्यो, छोरीको बिजोग छ, खोरमा थुनेर राखेका छौँ । बाहिरबाट हेर्ने सुन्नेले त परिवारलाई नराम्रो सोच्दा होलान्, तर हामी निरीह छौँ ।”

हाल मानसिक रूपमा अस्वस्थ शेर्पा विवाहित हुनुहुन्छ । उहाँको छ वर्षको एउटा छोरा छन् । श्रीमान्को भने मृत्यु भइसकेको छ । श्रीमान्को मृत्यु भएपछि मानसिक रूपमा विचलित भएकी फुर्दिकुले करिब एक वर्षपछि पूरै होस गुमाउनुभयो । श्रीमान्को घरतिरकाले नहेरेपछि उहाँलाई बुवाले ल्याएर माइतीघर नुनथलामा नै राख्दै आउनुभएको हो । शेर्पामा यस्तो समस्या देखिएको यो पहिलो पटक होइन । कक्षा १० मा अध्ययन गर्दा नै समस्या देखिएर उपचारपछि ठिक भएर भोजपुरका दाजाङ शेर्पासँग प्रेम गरेर मागी विवाह भयो । शेर्पा दम्पतीबाट एक छोराको जन्म पनि भयो । अहिले छोरा कक्षा तीनमा अध्ययन गर्दै छन् ।

करिब तीन वर्षअघि पाटन अस्पताल लगेर औषधी उपचार गरेपछि ठिक भएकी शेर्पामा अहिले पुनः सोही समस्या देखिएको हो । तेस्रो पटक गत माघ ३ गतेदेखि शेर्पामा यस्तो समस्या देखिएको हो । अस्पतालले दिएको पहिलेको औषधीको बिल अनुसार अहिले औषधी ल्याएर खुवाइरहेको उहाँ बताउनुहुन्छ तर अस्पताल नै लान सक्ने अवस्था भने परिवारमा छैन । आमा, बुवामा पनि सोही प्रकारको समस्या आएर निको भएको थियो ।